५४ वर्षअघि नेपाल आएर जर्मन नागरिकले कोरेका सम्पदाका नापनक्सा
उनको पहिलो नाप र स्केच ठमेलस्थित छुस्या बहालको पुजारी मठबाट सुरु भएको थियो। उनी सम्झन्छन्, ‘त्यतिबेलाका इन्जिनियरहरू फिल्डमा जान मनै गर्दैनथे। म बाहिरी मुलुकको भएर होला, फिल्डमै घुमफिर गर्न मन हुन्थ्यो।’ त्यतिबेला उनले साथमा एउटा डायरी लिएर दिनभर उपत्यकाका सम्पदा क्षेत्रमा घुमफिर गरे। उनका लागि काष्ठमण्डपको नापनक्सा लिनु दोस्रो प्रोेजेक्ट भयो।काठमाडाैं, पुस २२ : २०७२ को भूकम्पको खबर विश्वभर फैलँदै थियो। वैशाख १२ को भूकम्पपछि लगातारजस्तो पराकम्प आइरहे। कति क्षति भयो, अवस्था के छ भन्ने चासो र चिन्ताले नेपालभित्रै भूकम्पको असर नपरेका क्षेत्रका व्यक्ति र नेपालबाहिर रहेका नेपालीलाई सताइरहेको थियो। खबरले जर्मनीका वुल्फ ग्याङ कोर्न पनि विचलित थिए।
पेसाले आर्किटेक्ट इन्जिनियर कोर्नले नेपालमा निकै वर्ष सम्पदा क्षेत्रमा काम गरेका थिए। ७९ वर्षीय कोर्नलाई अहिले पनि कन्ट्र्याक्ट अनुसार बेलाबेला ‘काठमान्डु भ्याली प्रिजर्भेसन ट्रस्ट’ (केभिपिटी) ले बोलाउने गरेको छ।
नेपाली र नेपालका सम्पदासँग जोडिएका कोर्न नेपालमा भूकम्प जाँदा जर्मनीमै थिए। के कति मानिस भूकम्पमा परे, कति सम्पदामा क्षति पुग्यो भन्ने चिन्ता उनलाई परेको थियो, त्यसैले भूकम्पपछि लगत्तै उनी नेपाल आए।
उनको मानसपटलमा अझै पनि ताजा छन् ती दृश्य, विशेषतः पहेँला डोजरहरू। क्षतिग्रस्त सम्पदाअघि लस्करै पहेँला डोजर थिए, जसले ढलेका सम्पदामा खनीखोस्री गर्दै थिए। यो दृश्य आफूले हनुमान दरबार स्क्वायर क्षेत्रअघि बसेर नियालिरहेको उनी बताउँछन्। सबैभन्दा क्षति व्यहोरेको सम्पदा थियो, काष्ठमण्डप अनि माजु देगल। यी दुवै सम्पदा पूर्ण क्षतिग्रस्त अवस्थामा थिए। यता भक्तपुर दरबार स्क्वायर क्षेत्रको नृत्य वत्सला मन्दिर र पाटन दरबार स्क्वायर क्षेत्रको चारनारायण मन्दिरको पनि अवस्था राम्रो थिएन।
‘द्याट वाज द मस्ट हरिबल सिन,’ उनले भने। अर्थात्, त्यो निकै भयानक दृश्य थियो। उनी भूकम्पपछिको ती दिन सम्झन्छन्, ‘आफूले देख्दै आएको दृश्य, कुनै समय नापेका मन्दिरका ती टुँडाल, खम्बा– सबै छरप्रस्ट थिए।’
नेपाली सम्पदा क्षेत्रमा काम गरी ख्याति कमाएका अर्का आर्किटेक्ट हुन्, जर्मनीकै निल्स गुत्सो। कोर्नसँगै भग्नावशेष नियालिरहेका निल्स गुत्सोले उनलाई भने, ‘तिमीसँग पुराना स्केच होला नि ! ती खोजेर ल्याउ, यहाँ काम लाग्छ।’ भूकम्पपछि नेपाल आएका कोर्न पुनः जर्मनी हानिए, नेपाली सम्पदाका स्केचको खोजीमा। उनले भेटे– वसन्तपुर दरबार स्क्वायर क्षेत्रको माजु देगल, काष्ठमण्डप, पाटन दरबार स्क्वायर क्षेत्रको चारनारायण र भक्तपुर दरबार स्क्वायर क्षेत्रको वत्सला मन्दिरका नापसहितको स्केच। ती कागजात लिएर उनी तुरुन्तै नेपाल फर्के र काठमाडौं, ललितपुर र भक्तपुरका मेयरलाई सम्बन्धित मन्दिरका नक्सा हस्तान्तरण गरे। सोही वर्षको नोभेम्बरमा उनले पुरातत्व विभागलाई पनि केही स्केच उपलब्ध गराए।
५४ वर्षअघि सम्पदाका नापनक्सा लिँदा...
१९६८ जनवरी ५ मा आर्किटेक्ट इन्जिनियर वुल्फ ग्याङ कोर्न पहिलोपटक नेपाल आएका थिए, जति बेला उनी २५औँ वसन्तमा हिँड्दै थिए। नेपाल आएर उनी ‘डिपार्टमेन्ट अफ हाउजिङ एन्ड फिजिकल प्लानिङ’ अन्र्तगत फिजिकल प्लानिङ सेक्सनमा खटिए। उक्त सेक्सनमा रही उनले विद्युत् विभागका अफिस र मन्त्रीका क्वाटरजस्ता केही सरकारी भवनको निर्माण गरेका थिए।
त्यसको केही महिनापछि उनी ‘टाउन प्लानिङ सेक्सन’ अन्तर्गत उपत्यकाका तीनवटै दरबार स्क्वायर क्षेत्र तथा बस्तीको अध्ययनमा खटिए। ‘दुई वर्षको अवधिका लागि मात्र म नेपाल आएको थिएँ,’ उनी भन्छन्, ‘मेरो काम उपत्यकाका सम्पदालाई नाप्ने र स्केच गर्ने थियो।’
उनको पहिलो नाप र स्केच ठमेलस्थित छुस्या बहालको पुजारी मठबाट सुरु भएको थियो। उनी सम्झन्छन्, ‘त्यतिबेलाका इन्जिनियरहरू फिल्डमा जान मनै गर्दैनथे। म बाहिरी मुलुकको भएर होला, फिल्डमै घुमफिर गर्न मन हुन्थ्यो।’
त्यतिबेला उनले साथमा एउटा डायरी लिएर दिनभर उपत्यकाका सम्पदा क्षेत्रमा घुमफिर गरे। उनका लागि काष्ठमण्डपको नापनक्सा लिनु दोस्रो प्रोेजेक्ट भयो। अन्य सम्पदाको निर्माण शैलीको तुलनामा काष्ठमण्डपको संरचना फराकिलो भएको उनी बताउँछन्। जसकारण उनलाई माथिल्लो तलासम्म हिँड्डुल गर्न खासै समस्या भएन।
‘मलाई लाग्छ, यो सबैभन्दा पुरानो मन्दिर हो, जहाँ मण्डप केन्द्रमा छ र भित्र सजिलै हिँडडुल गर्न सकिन्छ,’ उनी भन्छन्, ‘काष्ठमण्डप मैले मन्दिर भन्ठानेको थिएँ, त्यो त सतल पो रहेछ। सायद यो उतिबेला मानिसहरू भेला हुने स्थान थियो।’
उनी अझ जिज्ञासापूर्ण शैलीमा भन्छन्, ‘मण्डप भनेको खुला स्थान पो रहेछ है !’ पुर्नर्निमाणको कार्य सम्पन्न भएसँगै काष्ठमण्डपले आफ्नो वास्वतिक स्वरुप पाएको छ। यसमा उनी निकै खुशी छन्।
शिखर शैलीका मन्दिरहरू माथितिर साँघुरो हुन्छ। मन्दिरका माथिल्ला तला साँघुरो हुने हुँदा नाप तथा स्केचका लागि सहज हुँदैनथ्यो। कोर्न भन्छन्, ‘बाहिरबाट देख्दा हामीलाई जति सुन्दर लाग्छ, त्यति नै मन्दिरको भित्री संरचना जटिल र अप्ठेरा हुन्छन्।’
काष्ठमण्डपसँगै रहेको माजु देगल मन्दिरको नाप–नक्सा लिँदा उनले फरक अनुभव गरे। माजु देगल तीनतले मन्दिर हो। यो मन्दिर पनि तलबाट माथितिर साँघुरो हुँदै गएको छ। हिन्दूहरु मन्दिरका मूर्ति टेकेर माथि जाँदैनन्। ‘माजु देगलमा त्यस समयसम्म कोही गएका थिएनन्, हामी माथि चढ्ने क्रममा चार सय वर्ष पुरानो धुलो र परेवाका सुक्खा बिस्टा मात्र थिए,’ उनले हाँस्दै भने।
उतिबेला उनले कोरेका विभिन्न सम्पदाका स्केच हाल दस्तावेज बनेको छ, पुनर्निर्माणका लागि।
पुनर्निर्माणका क्रममा माजु देगल
हाल माजु देगल पुनर्निर्माणको क्रममा छ। काठमाडौं महानगरपालिका अन्तर्गत हनुमानढोका दरबार संरक्षण क्षेत्र कार्यालयले हनुमानढोका परिसरका सम्पदाको पुनर्निर्माणको जिम्मा लिएको छ। माजु देगल २०३०/०३५ यता ६ पटकसम्म पुनर्निर्माण भएको हुन सक्ने कोर्न बताउँछन्।
माजु देगलको नयाँ नक्सा तथा नाप कोर्नकै पुराना स्केचका आधारमा बनाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन्।
हनुमानढोका दरबार संरक्षण क्षेत्रका आर्किटेक्ट इन्जिनियर अमृत बज्राचार्यका अनुसार, कोर्नका स्केचमा माजु देगल मन्दिरको पर्खालका मोटाइदेखि भुइँतलाको मास्टर प्लान, टुँडाल तथा खम्बाका काष्ठकला निकै विस्तृत रूपमा आएको छ। बज्राचार्य भन्छन्, ‘अब बन्ने काठमण्डपको नाप तथा नक्सा पनि कोर्नकै स्केचसँग मिल्नुपर्छ। किनभने, उनीअघि यसरी विस्तृत रूपमा नाप तथा स्केच बनाएको पाइँदैन।’
वत्सला र चारनारायण
चारनारायण मन्दिर सन् १५६६ मा बनेको हो, जुन पाटन दरबार स्क्वायर क्षेत्र अन्तर्गत कृष्ण मन्दिरको दाहिनेतिर रहेको छ। यो मन्दिर पनि भूकम्पले ध्वस्त भएको थियो। भूकम्पपछि कोर्नले यस मन्दिरको स्केच केभिपिटीलाई हस्तान्तरण गरेका थिए।
केभिपिटीका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारका अनुसार, कोर्नले सन् १९७० मा कोरेको चारनारायणको स्केचका आधारमा चारनारायण मन्दिरको पुनर्निर्माण गरिएको छ।
रञ्जिकार पेसाले कन्जर्भेसन आर्किटेक्ट हुन्। आफ्ना पिता र कोर्नले सम्पदा संरक्षण क्षेत्रमा सँगै काम गरेको रञ्जितकार बताउँछन्।
यता, भक्तपुर दरबार स्क्वायर क्षेत्रको नृत्य वत्सला मन्दिरको पुनर्निर्माणका लागि पनि कोर्नको स्केच तथा चित्र निकै सहयोगी भएको छ। भक्तपुर नगरपालिकाको तत्कालीन सम्पदा शाखा प्रमुख राम गोविन्द श्रेष्ठका अनुसार, नृत्य वत्सलाको पुनर्निर्माणमा कोर्न र अर्का आर्किटेक्ट निल्स गुत्सोका सामग्रीको प्रयोग भएको छ। योसँगै यस मन्दिर पुनर्निर्माणमा नगरपालिकाको आफ्नै ‘अर्काइभ’को पनि प्रयोग गरिएको भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी बताउँछिन्।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार, पुनर्निर्माण कार्यमा कोर्न जस्ता विदेशीका पुराना स्केच, चित्रलाई रेफरेन्सको रूपमा प्रयोग गरिएको छ। यद्यपि, विभागसँगका पुराना अर्काइभलाई नजरअन्दाज गर्न मिल्दैन। पछिल्ला पुनर्निर्माणका लागि नयाँ स्केच तथा चित्र भने विभाग आफैँ बनाएको उनले जनाए।