के सम्पदा क्षेत्रमा सुरक्षा निकायको लापरबाही बढेकै हो ?
लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार शिलापत्र यसरी तोडफोड हुनु आफैंमा निन्दनीय कार्य हो। यस्ता गतिविधि गर्नेलाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार कारबाही हुनुपर्ने उनी बताउँछन्।काठमाडौं, पुस २१ : गत शुक्रबार हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा रहेको एक शिलालेख तोडफोड भएको समाचार सर्वत्र फैलियो। उक्त समाचारले स्थानीय बासिन्दा, सम्पदा अभियान्तादेखि कलाकारसम्मको ध्यान तान्यो। गायक योगेश्वर अमात्य आफैं पनि सम्बन्धित निकायमा गए र सो विषयमा जानकारी लिए। उनी सम्पदाप्रेमीका रूपमा पनि परिचित छन्।
हनुमानढोका परिसरको च्यासिंह देगस्थित कृष्ण मन्दिरको मुख्य प्रवेश (दक्षिणतर्फ) को द्वारमा रहेको उक्त शिलालेख राजा प्रताप मल्लकै पालाको रहेको हुनमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले काठमाडौं प्रेसलाई जानकारी दिए।
उक्त शिलालेखकाे करिब पाँच फिट उचाइ र डेढ सय किलो वजन छ। उक्त शिलालेख त्यहीको पर्खालको भित्तामा टाँसिएको थियो। यसकारण पनि शिलालेख तोडफोड भूलवश वा अन्य कारणभन्दा पनि नियोजित रूपमा भएको हुन सक्ने खनालको अनुमान छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको कृष्ण मन्दिर पुनर्निर्माण भएसँगै शिलालेख पनि राखिएको थियो।
प्रताप मल्लले आफ्ना दुई रानी रूपमती र राजमतीको देवहासान भएपछि उनीहरूको सम्झनामा च्यासिंह देगमा कृष्ण मन्दिर बनाउन लगाएका थिए। सोही मन्दिर अनि रानी रूपमती र राजमतीबारे जानकारी उक्त शिलालेखमा उल्लेख गरिएको खनालले बताए। दुवै रानी भारतका थिए । उनीहरूमध्ये एक कर्नाटक र एक विहारका थिए । शिलालेखमा ती दुई रानीसहित उनीहरूको वंशावलीबारे ३६ पंक्तिमा उल्लेख छ।
शिलालेख तोडफोडको घटना दुर्भाग्यपूर्ण भएको समितिका कार्यकारी निर्देशक खनालले बताए। यद्यपि, तोडफोडपछि छरिएका सबै टुक्रा भेटिएका छन्। ‘टुक्रा सबै भेटिनु नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘हाम्रो टोली आवश्यक अध्ययन गरी शिलालेख मर्मतमा लागेको छ।’
लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार शिलापत्र यसरी तोडफोड हुनु आफैंमा निन्दनीय कार्य हो। यस्ता गतिविधि गर्नेलाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार कारबाही हुनुपर्ने उनी बताउँछन्। उक्त शिलालेख राजा प्रताप मल्लले राख्न लगाएकाे र कलाकौशलका हिसाबले पनि अब्बल भएको उनले बताए।
कुम्भेश्वर मन्दिरको मूर्ति चोरी
गत मंसिर २७ गते ललितपुरकाे कुम्भेश्वर (बंगलामुखी) मन्दिरबाट नारायणको मूर्ति चोरी भयो। उक्त क्षेत्र सिसिटिभीको निगरानीमा रहेको छ। मूर्ति चोरिएपछिको सिसिटिभी क्लिप हेर्दा उक्त क्षेत्रमा सेतो-कालो ज्याकेट, निलो प्यान्ट अनि हेल्मेट लगाएका एक व्यक्ति वरपर माहोल हेरेर नारायणको मूर्ति चोरेर भागेको देखिन्छ। मन्दिर परिसरमा सुरक्षाका लागि तीनजना प्रहरीसमेत खटिएका थिए।
यी हालसालै घटेका दुई ताजा घटना हुन्। यसअघि पनि हलचोकस्थित आकाश भैरवको मूर्ति चोरी भयो। सम्पदामा आँच आउने यस्ता घटना पछिल्लो समय अधिक बढ्न थालेका छन्।
सुरक्षा घेराभित्रै कुनै व्यक्तिले यति सहजै मूर्ति चोरेर लैजानु अनि त्यहाँ खटिएका प्रहरीलाई त्यसबारे अत्ताेपत्तो नहुनुले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ। लिपिविज्ञ राजवंशी सुरक्षा संयन्त्रबाट सामाजिक क्षेत्रमा जसरी सम्पदा क्षेत्रकाे सुरक्षाका लागि ध्यान पुग्न नसकेको बताउँछन्।
सबै निकाय एकत्रित भएर सम्पदा संरक्षणमा जुट्नुपर्छ : कुँवर
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार सम्पदाअन्तर्गत निश्चित क्षेत्र मात्र जिम्मेवारीमा छ। पाटन क्षेत्रमा भएको मूर्ति चोरीका विषयमा भने सुरक्षा निकाय चुकेको उनी स्विकार्छन्।
यता पर्खालमा जडित शिलालेख फोड्दा समेत ध्यान नहुनुमा भने सुरक्षा संयन्त्र मात्र नभई स्थानीय बासिन्दा तथा सम्बन्धित समितिको पनि ध्यान पुग्न नसक्नु कमजोरी भएको कुँवर बताउँछन्। सो घटना हुनुमा सम्बन्धित व्यक्तिहरूको लापरबाही नै रहेको उनको भनाइ छ। उनका अनुसार सम्पदा क्षेत्रको रक्षामा सुरक्षा निकाय मात्र नभई सम्बन्धित व्यवस्थापन समितिको जिम्मेवारी हुने गर्छ।
‘प्रहरीले सुरक्षा दिनुपर्ने संवेदनशील क्षेत्र धेरै छन्। सबै क्षेत्रको जिम्मा प्रहरीलाई मात्र दिनुभन्दा प्राथमिकताका आधारमा जिम्मेवारी वहन गर्दा उपयुक्त हुन्छ। हाम्रो बढी ध्यान व्यक्तिको तत्काल जिउज्यानको सुरक्षामा केन्द्रित हुने गर्छ,’ उनी भन्छन्।
उनका अनुसार सम्पदा क्षेत्र प्रायः एकान्त ठाउँमा हुने भएकाले सुरक्षाका लागि अलि भरपर्दो स्रोत तथा साधन आवश्यक पर्छ। ‘व्यक्तिगत (म्यानुअल) जनशक्ति खटिन पनि गाह्रो छ,’ उनी भन्छन्, ‘प्रविधिमैत्री स्रोतसाधनको पर्याप्तता भने आवश्यक छ।’ साथै, सबै निकाय एकत्रित भएर सम्पदा संरक्षणमा जुट्नुपर्नेमा उनले जोड दिए।