Kathmandu Press

ट्याक्सीको विकल्पः टुटल होइन, साइकल

प्रधानमन्त्री केपी ओली टोली डाभोस जानु केही समयअघि ‘टुटल’ र ‘पठाओ’ को वैधानिकता, सान्दर्भिकता र सुरक्षा मापदण्डबारे नेपाली मिडियामा तीव्र वहस भ....

ट्याक्सीको विकल्पः टुटल होइन, साइकल

प्रधानमन्त्री केपी ओली टोली डाभोस जानु केही समयअघि ‘टुटल’ र ‘पठाओ’ को वैधानिकता, सान्दर्भिकता र सुरक्षा मापदण्डबारे नेपाली मिडियामा तीव्र वहस भयो । यातायात विभागको अनुमति नलिई चलेका टुटल र पठाओ अवैधानिक भएको भन्दै यातायात मन्त्रीले तिनलाई कारबाही गर्ने कदम चालेपछि यो बहस सुरु भएको थियो । तर, सामाजिक सञ्जालमा यातायात मन्त्रीको आलोचना भयो । अधिकांशले कानून छैन भने कानून बनाएर टुटल र पठाओजस्ता एप्समा आधारित यातायात कम्पनीलाई वैधानिकता दिनुपर्ने, सुरक्षा मापदण्ड पालना गरेका छन् कि छैनन् भनी नियमन गर्नुपर्ने तर कम्पनी नै बन्द गर्न नहुने तर्क गरे । अन्ततः प्रधानमन्त्री ओली आफैले हस्तक्षेप गरी टुटल र पठाओलाई बचाउनु पर्‍याे । यो प्रकरणबाट टुटल र पठाओ लाभान्वित भए । पहिले कहिल्यै टुटल र पठाओबारे नसुनेका र सुने पनि प्रयोग गर्न हिच्किचाइरहेकाहरूले पनि धमाधम एप्स डाउनलोड गरेर तिनको सेवा उपभोग गर्न थाले । 

यो विवाद र वहसकै क्रममा हामीले थाहा पायौँ – उपत्यकामा टुटल र पठाओ एप्सको माध्यमद्वारा करीब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित रहेछन् । करीब १० हजार ग्राहकले एप्स डाउनलोड गरिसकेका छन् र धेरैले यसबाट प्रत्यक्ष रोजगारी पाइरहेका  रहेछन् । अर्थात्, प्रधानमन्त्री र मन्त्रीबीच भएको विवादले टुटल र पठाओको राम्रै विज्ञापन भयो । षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरूले त यी कम्पनीकै योजना बमोजिम सरकारले कारबाही गर्न खोजेको तर अन्ततः नगरेको प्रतिक्रिया पनि दिए । यी दुबै सेवाका लागि सरल रुपमा भुक्तानी दिने र लिने कार्यमा संलग्न इ सेवा नामको कम्पनीका मालिक प्रधानमन्त्री ओली निकटस्थ रहेकाले पनि त्यो षडयन्त्रको सिद्धान्तले एउटा आधार पाएको थियो । यो प्रकरणको पर्दापछाडि जो भए पनि समृद्धिको नाउँमा पानीजहाज र रेलवेतर्फ मात्रै अर्जुन दृष्टि लगाइरहेका प्रधानमन्त्री ओलीले सर्वसाधारणले उपयोग गर्दै आएको सेवाको बारेमा सोच्नुभयो । यो बहसलाई काठमाडौंको सार्वजनिक यातायात सुधार्ने र यसबारे सोच्ने अवसरमा बदल्न सकिन्छ कि भन्ने उद्देश्यले यो आलेख तयार गरिएको छ । 

Hardik ivf

सर्वप्रथम त टुटल र पठाओको पक्षमा सर्वसाधारण किन लागे भन्ने सोच्नु आवश्यक छ । काठमाडौंमा ट्याक्सीहरू नियममा बस्दैनन्, ग्राहकलाई ठग्छन् र असुविधा दिन्छन् भन्ने तीव जनअसन्तुष्टि छ । उनीहरूका लागि टुटल र पठाओ ट्याक्सीका विकल्प हुन् । यी एप्स–यातायातको पक्षमा जनलहर उर्लिएको देखेर प्रधानमन्त्री आफै पनि विभागीय मन्त्रीविरुद्ध उभिन पुगे । यहाँ प्रश्न आउँछ – भाडाका ट्याक्सीलाई अनुगमन गर्न र ग्राहकमुखी, सेवामुखी बनाउन नसक्ने सरकारले के भविष्यमा टुटल र पठाओजस्ता सेवा प्रदायकलाई नियमन गर्न सक्ला ? हरेक बस्तु तथा सेवा शुरु गर्दा आकर्षक प्याकेज दिने र पछि विस्तारै ठग्न थाल्ने प्रवृत्तिबाट हामी अपरिचित छैनौँ । केही समयअघि ननस्टप भनेर चक्रपथमा सुरु भएको महानगर बस सेवा नै यसको ज्वलन्त उदाहरण हो । त्यो सेवा आज  चक्रपथका अन्य सेवाभन्दा खासै भिन्न देखिन्न । ननस्टप भनेको होइन र भनेर कसैले सोधे ड्राइभरहरू झर्कन्छन् – ग्राहक त कुर्नु परिहाल्यो नि !  त्यसैले आज थोरैमात्र सेवाग्राही र सेवादायक हुँदा सबैको मन जितेका टुटल र पठाओ पछि चाहिँ बद्लिँदैनन् भन्ने कुनै ग्यारेण्टी छैन । 

अर्को, मोटरसाइकलहरु सुरक्षित छैनन् । मोटरसाइकल र स्कुटरहरू तीव्र गतिमा बत्तिन्छन् । सानो चेपमा पनि छिरिहाल्छन् । प्रधानमन्त्रीले नै टुटल र पठाओको बचाउ गरेपछि र जनस्तरबाट नै वाहवाह पाएपछि अब यी सेवाको तीव्र विस्तार हुने निश्चित छ । अरु हजारौं मोटरसाइकल र  स्कुटर चालकहरू यी एप्समा जोडिन्छन् । आज आफ्नो काम वा रुचिले मोटरसाइकल चढ्नेहरूमा एक मिनेट कुर्ने र नियम पालना गर्ने धैर्य छैन । भोलि मोटरसाइकलको संख्या दोब्बर भयो र ‘टुटुल’ र ‘पठाओ’ जस्ता कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भयो भने के होला ?

तेश्रो, मोटरसाइकल वा स्कुटर अहिलेको काठमाडौंमा स्वास्थ्यका दृष्टिले पनि उपयुक्त साधन मानिँदैनन् । किनभने, यो धूलो, धुँवा र चिसोमा मोटरसाइकल चढ्ने सबैजसा रुखाखोकीले ग्रस्त छन् । साइनस र ढाड दुख्नेजस्ता दीर्घ रोगको शिकार भइरहेका छन् । 

टुटल र पठाओको आलोचना गर्नुको अर्थ ट्याक्सीको पक्षमा वकालत गर्नु होइन । ट्याक्सीको विकल्प खोज्दा त्यस्तै वा त्यो भन्दा खराब विकल्प नरोजौँ भन्न खोजिएको हो । र, प्रधानमन्त्रीको चासोलाई सकारात्मक दिशामा लगाऔँ भन्ने हो । के होला त आजको काठमाडांैका लागि त्यस्तो सकारात्मक विकल्प ? काडमाडौंको मौसम राम्रो छ । क्षेत्रफल ठूलो छैन । गल्लीगल्लीमा मठ मन्दिर छन् । हरेक गल्ली आफैमा जीवित सम्पदा हो । यस्तो सहरलाई ग्रिन सिटीमा परिणत गर्नुपर्छ । यस्तो सहरका लागि सबैभन्दा उपयुक्त विकल्प हो, साइकल । प्रायः ३२ डिग्रीभन्दा बढी गर्मी नहुने काठमाडौंमा बाह्रैमास साइकल चलाउन मिल्छ । काठमाडौंको एक छेउबाट अर्को छेउ पुग्न साइकलमा बढीमा २५ मिनेट लाग्छ । तर, त्यसका लागि साइकल सरर कुद्ने लेन चाहिन्छ । मानिसहरूलाई साइकल चढ्ने बानी भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन हुन्छ । धूलोमाण्डुको रुपमा बदनाम सहर हरियालीपूर्ण हुन्छ । काठमाडौंवासीहरू पनि स्वस्थ हुन्छन् । तेल र सवारी साधन किन्ने पैसा बच्छ । व्यापारघाटा घट्छ । र, अन्य देशमाथिको परनिर्भरता कम हुन्छ । 

टुटल र पठाओका कारण काठमाडौंमा सार्वजनिक यातायात बारे बहस सुरु भएको छ । यो बहस सेलाउनु हुँदैन । तर, ट्याक्सीको विकल्प खोज्ने नाउँमा टुटल र पठाओलाई अर्को ट्याक्सी सेवा बन्न दिनु हुँदैन । टुटल र पठाओको पक्षमा उभिएका प्रधानमन्त्री ओलीलाई काठमाडौंमा करीब ४० स्थानमा स्मार्ट साइकल स्ट्याण्ड बनाउन अनुरोध गरौँ । सरकारले सुरुमा ती स्ट्याण्डका लागि एक हजार स्मार्ट साइकल उपलब्ध गराओस् र ती साइकल चलाउन केही रकम डिपोजिट राखेर पाइने स्मार्ट कार्ड जारी गरोस् । एक स्थानबाट चलाएर अर्को स्थानमा पुगेपश्चात स्मार्ट कार्ड कै सहयोगमा त्यो साइकल पार्किङ गर्न र छाड्न मिल्ने व्यवस्था गरोस् । अहिले भएका सडकमा एक कुनामा साइकललाई प्राथमिकताको व्यवस्था गरिदिने र विस्तारै साइकल लेनहरु वनाउँदै जाने व्यवस्था होस् । अहिलेको नेपालले यतिका काम गर्न रकम कहाँवाट ल्याउने भनेर सोच्न पनि आवश्यक छैन । किनभने यहाँका जनता आफ्नै पैसाले दिनमा झण्डै एक हजारको संख्यामा मोटरसाइकल भित्राइरहेका छन् भने त्यसलाई चलाउन सरदरमा दिनको २०० का दरले पेटोल पनि किनीरहेका छन् । 

सरकारका लागि पनि अब सानोतिनो रकमको समस्या नभएको कुराको संकेत अहिले नेपालले राष्ट्राध्यक्ष र सरकारमा भएकाहरुका लागि हेलिकप्टर र कारहरुका नाममा भइरहेका अरब र करोडको खर्चले दिइरहेको छ । यी सवै काममा हाललाई जनताले चुनेर पठाएका एकाध व्यक्तिका नाममा भइरहेको खर्चको आधा नै पनि परिचालन गराउन सके काठमाण्डौले नयाँ मुहार पाउने देखिन्छ । 
 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?