जिल्ला अस्पतालमा आउँदैनन् बिरामी
जलेश्वर, पुुुस १९ : अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी...जलेश्वर, पुुुस १९ : अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ ।
स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ ।
‘जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्ने?’ भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाए।
पच्चिस शैय्या क्षमताको उक्त अस्पतालको आकस्मिक कक्ष र ओपिडी कक्षसमेत सुनसान देखिन्छ । यहाँ आउने बिरामीलाई सरकारी शुल्कमा ल्याब परीक्षणदेखि औषधि वितरण गर्नेसम्मको व्यवस्था रहेपनि चिकित्सकहरूले बाहिर ल्याब परीक्षण गर्न पठाउने र बाहिरै महँगो मूल्यमा औषधि खरिदका लागि पठाउने गरेका कारण पनि बिरामी यहाँ आउन छाडेका एक चिकित्सकले नै नाम नछाप्ने सर्तमा बताए।
उक्त अस्पतालमा अहिले १६ चिकित्सक र दुई दर्जन बढी स्वास्थ्यकर्मी कार्यरत छन् तर जलेश्वरस्थित एक दर्जन निजी अस्पताल तथा क्लिनिक भने बिरामीले खचाखच छ । कोरोना विशेष अस्पताल बनाइएको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र अन्य आवश्यक सबै सुविधा भए पनि यहाँ कार्यरत चिकित्सकको लापरबाही र बेवास्ताका कारण बिरामी त्यहाँ जानुको सट्टा निजी अस्पताल र क्लिनिकहरुमा उपचार गराउन बाध्य छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले आफन्त तथा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बनाएर जिल्ला अस्पतालको स्वास्थ्य सेवा र कार्यक्रमलाई कमोजर बनाएका कारण पनि यहाँ बिरामी उपचार गराउन आउन छाडेको जलेश्वर नगरपालिका– २ वडाध्यक्ष बरुणकुमार दाहालले बताए ।उनले यस अस्पताल आफ्नै वडामा रहेपनि यहाँ गरिने कुनै पनि कार्यक्रमबारे आफूसँग कुनै समन्वय र सहकार्य नै नगर्ने गरेकोे गुनासो पनि गरे।