महिलाको मर्यादा नराख्ने सामग्री मिडियामा किन आउँछन् ?
प्रेस काउन्सिल नेपालको तथ्यांकका अनुसार, चालू आर्थिक वर्षमा मात्रै (२०७८ साउन ०१ देखि मंसिर मसान्तसम्म) करिब एक सयवटा उजुरी आएका छन् । जसमध्ये संस्थागत ३५ र व्यक्तिगत ६५ वटा छन् । व्यक्तिगतमै पनि पुरुषको हकमा ५२ र महिलातर्फ १३ जनाले उजुरी दिएका छन् ।काठमाडाैं, पुस १८ : गत मंसिर २० मा प्रेस काउन्सिल नेपालले मिडिया आचार संहिता जागरण कार्यक्रम गरेको थियो । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले मिडियाले कस्तो सूचना सम्प्रेषण गर्नुपर्ने हो तर कस्तो समाचारलाई प्राथमिकता दिइरहेको छ भन्ने विषयमा आचारसंहिताबारे मिडिया प्रतिनिधिलाई जानकारी गराएका थिए।
‘महिला उत्तरदायी सञ्चार निर्देशिका’ बमोजिम ‘सञ्चार माध्यमले महिलाको मर्यादापूर्ण जीवनको सुनिश्चितता, लिंगका आधारमा गरिने कुनै पनि प्रकारका विभेदको अन्त्य’लाई ध्यानमा राखी समाचार सम्प्रेषण हुन नसकिरहेको उनको भनाइ थियो।
उनले आफ्नो कार्यपत्रमा केही समाचारका हेडलाइन प्रस्तुत गरेका थिए, जसमा ‘महिला उत्तरदायी सञ्चार निर्देशिका’को उल्लंघन भएको स्पष्ट देखिन्थ्यो।
उनले प्रस्तुत गरेका केही समाचार शीर्षक :
१) यस्ता हेन्डसम इन्डियन लाहुरेलाई छाडेर यो बजियासँग काठमाडौंको होटलमा फेला परिन् हेर्न्स् : युएस अनलाइन खबर
२) राम्री भएर मात्र के गर्नु ? विप्लव समूहमा लागेपछि पक्राउ : नेपालआज
३) यी युवतीसँग भुलेर पनि विवाह नगर्नुस्, पर्न सक्छ जीवनभर भारी ।
४) म दुईवटा श्रीमान राख्छु, दुई श्रीमान्को बीचमा सुत्न मन छ कोही छ मर्द : जागृति खबर
५) मेरो बूढा विदेश बसेको ७ वर्ष भयो हामीसँग सबै छ तर यौन सन्तुष्ट छैन कोही हुनुहुन्छ मसँग सम्पर्क गर्ने : समृद्ध नेपाल
६) युवती चाहिएमा सम्पर्क गर्नुहोस् (फोन नम्बरसहित) तपाईंको आफ्नो रोजाइमा : डेली एटिन खबर
७) महिलाको स्तन हेर्दा पाँच वर्ष आयु बढ्ने, एक अध्ययनको दाबी, अब झन् पुरुषले पाए नयाँ बहाना : चेतना अनलाइन
यी उदाहरण पेस गर्दै काउन्सिलका सूचना अधिकारी बोहरा भन्छन्, ‘यस प्रकारका सामग्री सस्तो लोकप्रियताका लागि मिडिया हाउसले सम्प्रेषण गर्दै आएका छन् । नामै नसुनेका तथा दर्ता नभएका अनलाइन मिडियामा यस्ता प्रवृत्ति अझै बढिरहेको छ । हुन पनि यस्ता समाचारमा अझ बढी भ्युज तथा सेयर भएको देखिन्छ ।’
यौनिकता र महिलाको निजी जीवनसँग सम्बन्धित समाचार बढी पढिएको, हेरिएको पाइन्छ, विशेषतः अनलाइन वा युट्युबमा । दर्शक वा पाठक बढाई अर्थोपार्जनका लागि सस्ता यौनजन्य र असंवेदनशील सामग्रीलाई कतिपयले प्राथमिकता दिइरहेको सूचना अधिकारी बोहरा बताउँछन् ।
पितृसत्तात्मक सोचको उपज
अधिकारकर्मी वन्दना राणा सञ्चारमाध्यममा महिलासम्बन्धी सम्प्रेषण हुने यस्ता सामग्रीले दमित पितृसत्तात्मक सोेचलाई दर्शाउने बताउँछिन् । ‘चिप सेक्सुयालिटी (सस्तो कामुकता)लाई लिएर आजकल सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा देखिने यस्ता गतिविधि रोक्न कानुनी उपचार मात्र पर्याप्त छैन,’ उनी भन्छिन्, ‘समाजमा नयाँ पिँढीलाई लैंगिक सामाजिकीकरण गराउनु पनि उत्तिकै आवश्यक छ ।’ मानिसले आफ्नो स्वतन्त्रतालाई नबुझ्दा अरुलाई हानि हुने काम गरिरहेको उनी बताउँछिन् ।
पछिल्लो समय महिलामा आफ्नो अधिकारका लागि सचेतना बढेको पनि उनी बताउँछिन् । ‘केही समय अघिसम्म महिलाहिंसाका विषयमा हामी बोल्न सक्दैनथ्यौँ,’ उनले भनिन्, ‘अहिले यौन हिंसासम्ममा आवाज उठ्न थालेको छ । यो आफैँमा सकारात्मक विषय हो ।’
महिलाको यौनिकतामाथि असंवेदनशील किसिमले बन्ने सामग्री पितृसत्तात्मक सोचको उपज रहेको महिला अधिकारकर्मी रीता साह बताउँछिन् । ‘महिलाको शरीरमा पुरुषको वर्चस्व हुने र उनीहरूले जे पनि भन्न, गर्न मिल्ने विचारधारा समाजमा अझै विद्यमान छ,’ उनी भन्छिन्, ‘सामाजिक संरचनाले पुरुषलाई नजानिँदो तरिकाले छुट दिएको छ ।’
हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण जस्तो छ, सञ्चारमाध्यममा महिलासम्बन्धी सामग्री सम्प्रेषण हुन त्यसले भूमिका खेल्ने उनी बताउँछिन् । रक्सी, चुरोट, बियरको प्रचारमा पनि महिलालाई कठपुतली बनाइएको उनको तर्क छ ।
लैंगिक सामाजिकीकरणका विषयमा भावी पिँढीलाई सजक बनाउनुपर्ने साह बताउँछन् । घरमा छोरी मात्र नभई छोरालाई पनि सेन्सेटिभ बन्न सिकाउनुपर्ने उनको धारणा छ ।
समाजशास्त्री मधुसुदन सुवेदीका अनुसार, यस प्रकारको गतिविधि मिडियाका साथीहरूको पेसागत अनुशासनको समस्या हो । महिलाका बारेमा असंवेदनशील भई लेख्नु अस्वाभाविक र अव्यावसायिक भएको उनी बताउँछन् । ‘अनलाइन मिडिया र युट्युबरमा बढी भ्युजका लागि हेडलाइन बिगार्ने ट्रेन्ड चल्न थालेको छ । यसले समाजमा पारिरहेको प्रभावबारे मिडिया तथा युट्युबर सचेत छैनन्,’ उनी भन्छन्, ‘यसले पारिवारिक कलह, अविश्वास पैदा गराउन सक्छ ।’
मनोविद् गोपाल ढकालका अनुसार, मानव स्वभाव नै यस्तो हो, जो अरुको निजी जीवनमा चासो राख्ने रुचि देखाउँछ । ‘त्यसैले अनलाइन विशेषतः युट्युबमा यस्ता कन्टेन्ट हिट भइरहेका छन् । दाजुभाइबीचको घर झगडादेखि श्रीमान् श्रीमतीको नितान्त व्यक्तिगत विषय युट्युबमार्फत बाहिर आउन थालेका छन्,’ उनी भन्छन्, ‘अझ युट्युबर आफैँ न्यायाधीश जसरी मेलमिलाप र समन्वय गरिरहेको समेत देखिन्छ । अनि यस्ता कन्टेन्ट नै ट्रेन्डिङमा आइरहेका हुन्छन् ।’
कारबाही
लैंगिक असमानता, आरोप, यौनहिंसा झल्कने गरी सामग्री सम्प्रेषण भएमा सुरुवातमा क्षमा याचनादेखि उक्त सञ्चार माध्यम नै बन्द गर्नेसम्मको कारबाही गरिएको सूचना अधिकारी बोहरा बताउँछन् । यसबाहेक मिडियाले पाउने विज्ञापनदेखि अन्य सुविधा समेत कटौती गर्ने प्रावधान पनि छन् । ‘काउन्सिलले हदैसम्मको कारबाही गरे सम्बन्धित मिडियालाई निलम्बित गर्न सक्छ,’ बोहरा भन्छन्, ‘युट्युब कन्टेन्टका विषयमा भने सञ्चारमाध्यम अन्तर्गतको युट्युब च्यानल भएमा कारबाही हुन सक्छ । तर, स्वतन्त्र युट्युब च्यानलको हकमा भने विद्युतीय ऐनअन्तर्गत सरकारकै जिम्मा पर्न जान्छ ।’
नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर अनलाइनमार्फत अरुको मानहानि, असम्मान हुने खालका समाचार प्रसारण गर्नेलाई साइबर अपराध अनुसार कारबाही हुने बताउँछन् । यद्यपि, सञ्चार माध्यमको हकमा भने प्रेस काउन्सिल नेपालले नै सम्पूर्ण जिम्मेवारी लिने उनको भनाइ छ ।
१०० उजुरी
प्रेस काउन्सिल नेपालको तथ्यांकका अनुसार, चालू आर्थिक वर्षमा मात्रै (२०७८ साउन ०१ देखि मंसिर मसान्तसम्म) करिब एक सयवटा उजुरी आएका छन् । जसमध्ये संस्थागत ३५ र व्यक्तिगत ६५ वटा छन् । व्यक्तिगतमै पनि पुरुषको हकमा ५२ र महिलातर्फ १३ जनाले उजुरी दिएका छन् ।
पिडिएफमा हेर्नुस् :