Kathmandu Press

विभेदविरुद्ध आवाज उठाउँदै दलित समुदाय

पहिले दलित समुदाय बोल्न पनि डराउँथ्यो । अहिले राज्य व्यवस्था र कानुनमा आएको परिवर्तनले दलित समुदायले आफ्नो आवाजलाई मुखरित गर्न थालेको छ । यद्यपि, विभिन्न मुद्दा दर्ता नहुने, मेलमिलापमा टुंग्याइने आदि कारण दलितले न्याय पाउन सकिरहेका छैनन् । 
विभेदविरुद्ध आवाज उठाउँदै दलित समुदाय

काठमाडौंं, पुस १६ : जात व्यवस्थाको एक प्रमुख मान्यता हो– गोत्र छलेर आफ्नै जातमा विवाह गर्नु । यद्यपि, नेपाली समाजमा अन्तर्जातीय विवाहको अभ्यास नौलो होइन । गैरदलितबीच अन्तर्जातीय प्रेमविवाह हुन पुग्नुलाई सामान्य मानिन्छ, जब दलित र गैरदलितबीचको प्रेम विवाहको परिस्थिति बन्छ, तब समाजलाई स्वीकार्य हुँदैन । यतिसम्म कि कुटपिटदेखि हत्यासम्मकै अपराध गर्न समाज पछि पर्दैन ।

०६८, साउन २८ गते राति दैलेखका सेते दमाईको हत्या गरियो । उनका छोरा सन्तबहादुर दमाईले ठकुरीकी छोरीसँग प्रेमविवाह गरेका थिए । सुरुमा समाजले उनीहरुलाई छुटाएर दिदीभाइ बनायो । त्यसपछि पनि यो जोडीले पुनः भागेर विवाह गर्‍यो । अब भने केटी पक्षका करिब नौ जनाको समूहले रातमा सेते दमाईको घरमा आक्रमण गर्‍यो । छातीमा खुकुरी रोपिएका सेते दमाईको सोही रात मृत्यु हुन पुग्यो । यसरी छोराले अन्तर्जातीय विवाह गरेकै कारण उनले ज्यान गुमाउनुपरेको थियो । यो घटनाले राष्ट्रिय चर्चा पाएको थियो । अहिले यो जोडी (सन्तबहादुर र राजकुमारी शाही) सँगै छ, मुद्दा पनि सेते दमाईकै पक्षमा फैसला भयो ।

०७७ जेठ ११ गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भयो । यो घटना नवराजले कथित उच्च जातकी आफ्नी प्रेमिकालाई लिन जाँदा भएको थियो । यस घटनाको विरोधमा दलितले देशभर नै आवाज उठाए । मिडिया, न्यायप्रेमी गैरदलितहरुले पनि यस घटनाको खुलेर विरोध गरे । यद्यपि यस मुद्दाले अदालतबाट अझै निकास पाउन सकेको छैन । 

Hardik ivf

केही दिनअघि हुम्ला सर्केगार्डका १९ वर्षीय चन्दे्र कामी अन्र्तजातीय प्रेमविवाह गरेकै कारण केही दिन जंगलमा लुक्नुप¥यो । उनले मुगु सोरुकी मल्ल थरकी १९ वर्षीया युवतीसँग गत मंसिर ५ मा भागी विवाह गरेका थिए । केही दिन घरबाहिर बसेर घरमा आएका उनीहरुलाई केटी पक्षका मान्छेले रातको समयमा लिएर हिँडेका थिए । चन्द्रेलाई हातपात गरी घरदेखि करिब १०० मिटर पर लगेर छाडिएको थियो । चन्द्रे घरमा फर्कन डराएर केही दिन जंगलमा लुकेर बसे । यो घटनाले राष्ट्रिय रूपमा चर्चा पायो । यस घटनामा केटा र केटीले चाहे भने कानुन बमोजिम उमेर पुगेपछि विवाह गर्न सक्ने गरी सहमति भएको छ । केटामाथि हातपात गरेकामा केटी पक्षकाले प्रहरी सामु माफी पनि मागेका छन् । 

चन्द्रेको घटनासम्म आउँदा जातीय विभेदविरुद्ध दलित समुदायले आ–आफ्नो ठाउँबाट आवाज उठाए । पछिल्लो समय जातीय विभेद तथा छुवाछुतका अधिकांश घटनामा दलित समुदायले संगठित रूपमै आवाज उठाएका पनि छन् । 

जातका आधारमा गरिने विभेदलाई कानुनले अपराध माने पनि समाजमा केही परम्परागत मान्यतामा परिवर्तन आउन सकेको छैन । यो अवस्थामा मिडिया, न्यायप्रेमी गैरदलित समुदायले समतामूलक समाजका लागि आवाज उठाएका छन् ।  

चन्द्रे कामीको घटनासम्म आइपुग्दा केटी पक्षले माफी माग्नु, पछि विवाह गर्न सक्ने गरी सहमति हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । समाज र राज्यमा आएको यतिसम्मकोे सचेतनाको कारणमा दलित समुदायको आवाज नै प्रमुख रहेको अधिकारकर्मी बताउँछन् ।

पहिले दलित समुदाय बोल्न पनि डराउँथ्यो । अहिले राज्य व्यवस्था र कानुनमा आएको परिवर्तनले दलित समुदायले आफ्नो आवाजलाई मुखरित गर्न थालेको छ । यद्यपि, विभिन्न मुद्दा दर्ता नहुने, मेलमिलापमा टुंग्याइने आदि कारण दलितले न्याय पाउन सकिरहेका छैनन् । 

जातीय मुद्दालाई नजिकबाट नियालेका अधिवक्ता मोहन साशंकर भन्छन्, ‘दलित समुदायले अन्याय र विभेदलाई सहजै स्वीकार गर्ने रहेनछन्, विभेदविरुद्ध प्रतिरोध गर्दा रहेछन् भन्ने राज्य र समाज दुवैलाई परेको देखिन्छ । तर यतिमै समाजमा जातीय विभेद कम भयो, समाजबाट हट्यो भन्ने होइन ।’

नवराज विकसहित ६ जनाको हत्यापछि दलित समुुदायले उठाएको आवाजको आम रूपमा सूचना प्रवाह भएको उनी बताउँछन् । ‘जातका आधारमा कुनै पनि किसिमको विभेद हुनु हुँदैन । अन्तर्जातीय विवाहमा दलितलाई समाजले जस्तो व्यवहार गर्छ, त्यो मानवीय व्यवहार होइन, कानुनका आँखामा अपराध हो । दलित र गैरदलितबीचको विवाहलाई समाजले सहजै स्विकार्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘धारा छोएको वा मन्दिर प्रवेश गरेको आधारमा कुटपिट गर्ने, घरको आँगनमा टेकेका कारण कुटपिट गर्ने, किरिया घरमा काजकिरिया गर्न नदिने जस्ता अपमानजनक व्यवहार समाजमा विद्यमान छन् । यसको अन्त्य नभएसम्म जातीय विभेद तथा छुवाछुतको अन्त्य भएको मान्न सकिन्न ।’

अधिकारकर्मी कमला हेम्चुरी पछिल्लो समय जातीय विभेदविरुद्धको चेतना समाज केही हदसम्म बढेको र यो सकारात्मक पक्ष रहेको बताउँछिन् । ‘समग्र जात व्यवस्थाको मुख्य समस्या के हो ? कारण पहिचान गर्न नसक्दा पनि जनमानसमा पर्याप्त रूपमा जनचेतना आउन सक्दैन,’ उनी भन्छिन्, ‘यही वैचारिक धरातलमा टेकेर दलितले संगठित रूपमा आन्दोलन गर्नुपर्छ ।’

लेखक राजेन्द्र महर्जन भने पछिल्लो समय दलित समुदायमा विभेदविरुद्धको चेतना बढेको र सोही बमोजिम आवाज बुलन्द पारिरहेको बताउँछन् । ‘अहिले विभेदका घटना सार्वजनिक हुने, प्रहरीकोमा जाने र मिडियामा आउने क्रममा विस्तार भएको छ,’ उनी भन्छन्, ‘यसले गैरदलितमा पनि जात व्यवस्थाले सिर्जना गरेको विभेदविरुद्धको चेत बढाएकै देखिन्छ ।’

लेखक तथा अभियन्ता जेबी विश्वकर्मा पछिल्लो समय दलित समुदायले आफ्नो अधिकार दाबी गर्न सुरु गरेको बताउँछन् । ‘पछिल्ला घटना क्रमले देखाउँछ कि आफूमाथि भइरहेको अत्याचारलाई दलित समुदायले सहने पक्षमा छैन र प्रतिरोधका लागि तयार हुँदैछ,’ उनी भन्छन्, ‘अर्काेतिर, दलित समुदायले सामाजिक सत्तालाई चुनौती दिँदै अधिकार दाबी गर्न थालेको विभेदकारी मनोवृत्ति भएको जमातलाई चित्त बुझेको छैन, त्यसैले गैरदलित समुुदाय दलितमाथि विभिन्न बहानामा अत्याचार गरिरहेका छन् ।’ 

दलित समुदायले अधिकारको दाबी र अभ्यास गर्न चाहने, गैरदलित समुुदायले सधैँभरि दमनमा राख्न चाहने कारण विभेद र हिंसाका घटना हुने गरेको उनी बताउँछन् । ‘अधिकांश आपराधिक घटनालाई मिलेमतोमा टुंग्याइने गरिन्छ । समाजमै बस्नुपर्छ भन्ने बहानामा घटनालाई बाहिर ल्याउन दिइँदैन,’ उनी भन्छन्, ‘पीडितले बाध्यतावश मिलेमतोलाई स्वीकार गर्नुपर्ने अवस्था निर्माण भइरहेको छ । दलित समुदायमा पनि अहिलेको न्यायिक प्रक्रियाबाट सहजै न्याय पाइन्छ भन्ने विश्वास छैन । अपराधीलाई कारबाही हुन्छ र वास्तवमै न्याय पाइन्छ भन्ने भयो भने मात्रै दलित समुदाय न्यायिक प्रक्रियामा जाने हिम्मत गर्छ ।’

समाजशास्त्री मधुसूदन सुवेदी २१औँ शताब्दीमा जातका आधारमा भेदभावपूर्ण व्यवहार हुनु मानव समाजका लागि लज्जास्पद विषय भएको बताउँछन् । ‘समाजमा जातीय भेदभाव र त्यसका कारणले हुने हिंसा र प्रतिरोधात्मक कार्यमा केही सकारात्मक सन्देश पाउन सके पनि हिंसालाई अन्य विषयमा जोड्ने, अपव्याख्या गर्ने परम्परा अहिले पनि कायमै छ,’ उनी भन्छन्, ‘सहमति कार्यान्वयन नगर्दा दलितले न्याय पाउन सकेका छैनन् । दलितमाथि हुने विभेद भत्काउनु अपरिहार्य छ । दलितको आर्थिक सामाजिक रूपान्तरणका लागि दलित मात्र होइन, गैरदलित, सम्पूर्ण राज्य संयन्त्रको महत्वपूर्ण  भूमिका हुनुपर्छ ।’ 
 

प्रकाशित मिति: १०:३५ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्