Kathmandu Press

जुद्धशमशेरको निजी तबेलाबाट सुरु भएको सदर चिडियाखाना 

वीरेन्द्रले हस्तान्तरण गरेयता सदर चिडियाखाना एनटिएनसी अन्तर्गत सञ्चालित छ । यही अनुसार हरेक वर्ष पुस १४ लाई चिडियाखानाले आफ्नो स्थापना दिवसका रूपमा मनाउने गरेको प्रवक्ता चालिसे बताउँछिन्।
जुद्धशमशेरको निजी तबेलाबाट सुरु भएको सदर चिडियाखाना 

काठमाडाैं, पुस १४ : ललितपुरको जावलाखेलस्थित राष्ट्रिय सदर चिडियाखानाले आज (१४ पुसमा) २६औँ वार्षिकोत्सव मनायो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा मनाइएको वार्षिकोत्सवमा चिडियाखानामा २० वर्षदेखि सेवारत कर्मचारीलाई सम्मान गरिएको थियो ।

जुद्धशमशेरको त्यो तबेला

Hardik ivf

१९८९ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले आफ्नो सोखका लागि निजी तबेलालाई चिडियाखानाका रूपमा विस्तार गरेका थिए । जनावरका सोखिन उनले आफ्नो निजी तबेलामा केही जनावर पाल्न सुरु गरेको र सोही पछि सदर चिडियाखाना हुन पुगेको आफूहरुसँग भएका केही कागजातले पुष्टि गर्ने चिडियाखानाकी प्रवक्ता लीना चालिसे बताउँछिन्। 

उनका अनुसार, राणाशासनको अन्त्य भएसँगै सन् १९५० मा जुद्धशमशेरले खोलेको चिडियाखानालाई नेपाल सरकारको संरक्षणमा ल्याइएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०५२ पुस १४ गते आफ्नो ५०  औँ जन्मोत्सवका अवसरमा यस चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई हस्तान्तरण गरेका थिए । त्यसअघि सदर चिडियाखाना विभिन्न मन्त्रालय तथा विभागबाट सञ्चालित थियो।

वीरेन्द्रले हस्तान्तरण गरेयता सदर चिडियाखाना एनटिएनसी अन्तर्गत सञ्चालित छ । यही अनुसार हरेक वर्ष पुस १४ लाई चिडियाखानाले आफ्नो स्थापना दिवसका रूपमा मनाउने गरेको प्रवक्ता चालिसे बताउँछिन्।

हाल चिडियाखानामा ५६ कर्मचारी कार्यरत छन् । कोभिड– १९ संक्रमणअघि कर्मचारी संख्या ७५ रहेको प्रवक्ता चालिसे बताउँछिन् । 
करिब ६ हेक्टरको क्षेत्रफलमा फैलिएको यस चिडियाखानामा मल्लकालीन पोखरी (जावला पोखरी) पनि छ । कुनै समय चिडियाखानाभित्र रहेको पोखरीकै पानी राजकुलो हुँदै पाटनका विभिन्न हिटीमा पुग्ने गरेको जानकार बताउँछन्। 

यसबाहेक चिडियाखाना परिसरमा राणाकालीन स्मारक, मूर्ति तथा पुराना मन्दिर पनि छन्। २६औँ वार्षिकोत्सवका अवसरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संरक्षणका लागि ललितपुर महानगरपालिकाले सहयोग गर्ने मेयर महर्जनले बताएका छन्।

कोरोनाका कारण केही समय बन्द रहेको चिडियाघर साउनबाट खुला गरिएको छ । प्रवक्ता चालिसेका अनुसार, चिडियाखानामा एक सय १३ प्रजातिका नौ सय ९७ जनावर रहेका छन्।
 

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्