सिद्धार्थ आर्ट ग्यालरीमा पोखिएका छन्, मिथिला चित्रकलाका सौन्दर्य
मिथिला कलाको एक महत्वपूर्ण पाटो हो– कोबा घर । कोबा घर विशेषतः नवविवाहित जोडीको कोठामा बनाइने विशेष प्रकारको चित्रकला हो । यौन शिक्षा नै यस कलाको मूल सार हो ।काठमाडौं, पुस १३ : ‘बौद्धिक व्यक्तिले सरल कुरालाई जटिल तरिकाले भन्छ, तर त्यही कुरालाई कलाकारले सरल तरिकाले भन्छ,’ अमेरिकी कवि तथा साहित्यकार चाल्र्स बुकोस्कीको भनाइ हो यो । यही भनाइको उदाहरण लाग्छ– अहिले सिद्धार्थ आर्ट ग्यालरीमा भइरहेको ‘मिथिला कसमस : द साइकल अफ टाइम’ शीर्षकको प्रदर्शनी । लोक कलाकार एससी सुमन (सुबोध चन्द्र दास) को यस प्रदर्शनीमा मानव जीवनचक्र, चार युगको चित्रण, भगवान् विष्णुको दश अवतार, काली माताको उग्र स्वरूपदेखि मिथिला क्षेत्रका चाडपर्व र कोराना कालका परिस्थिति समेटिएको छ।
‘यो नै मिथिला चित्रकलाको सौन्दर्य हो,’ कलाकार समुन भन्छन्, ‘प्रकृतिमै रहेका विषयवस्तु बिनातोडमोड मिथिला चित्रकलामा आउँछन् ।’
चित्रकलाको सुरुवात हुन्छ, ‘मेल फिमेल युनियन एन्ड क्रिएसन’ शीर्षकको चित्रकलाबाट । यसले महिला र पुरुषको अस्तित्व, ऊर्जालाई महत्त्व दिएको आभास हुन्छ । चित्रमा प्रकृतिसँग जोडिएर महिला आएकी छन् । यस चित्रबारे उनले क्याटलगमा लेखेका छन्– शक्ति (महिला ऊर्जा) अनि शिव (पुरुष ऊर्जा) बाट मानव जीवनको सुरुवात हुन्छ । यसरी महिला र पुरुषको संगमबाट नयाँ जीवको सृष्टि हुन्छ।
दोस्रो कला छ, ‘क्रियसन एन्ड डिस्ट्रक्सन’ शीर्षकको । जहाँ देवी काली मातालाई प्रस्तुत गरिएको छ । जसले सृष्टि गर्न सक्छिन्, उनैले संहार पनि गर्न सक्छिन् भन्ने अर्थ यस चित्रकलाले व्यक्त गर्छ । यसलाई पछ्याउने क्रममा सत्य, त्रेता, द्वापर, कलि युगको पनि कलाकृति आउँछन् ।
त्यस्तै, भगवान् विष्णु र लक्ष्मी अनि उनको दश अवतारलाई पनि चित्रमा ल्याइएको छ । अन्य चित्रमा प्रकृति र पर्यावरणलाई समेटिएको छ । जसमा प्रकृतिमा पाइने जीवजन्तुलाई प्रस्तुत गरिएको छ । ‘इको–लजिकल ब्यालेन्स’ शीर्षकको उक्त चित्रमा सर्प तथा अन्य चराचुरुंगीलाई राखिएको छ । सर्प र चराचुरुंगीले शाब्दिक रूपमा स्थायित्वको र सन्तुलनको माग गरेको सुमन बताउँछन्।
इकोलोजी सन्दर्भमा ‘वाइल्ड लाइफ एन्ड नेचुरल ब्यालेन्स’ शीर्षकमा सर्प, सिंह, माछा, चरा, वृक्षजस्ता चराचर जगत् देखाइएको छ, जसले पर्यावरणमा जनावरहरूको ‘खाद्य शृंखला’लाई प्रस्तुत गरेको छ।
खाद्य शृंखलाले प्राणी जगत् मात्र नभई प्रकृतिलाई सन्तुलनमा राख्ने कलाकार सुमन बताउँछन् । बिस्तारै जीवन जगत्को चर्चा पनि अन्य कलाकृतिमार्फत गरिएको छ । विवाह, चाडपर्व हुँदै हालको कोभिडसम्मको परिस्थितिलाई उनले आफ्नै मौलिक शैलीमा चित्रमा उतारेका छन्।
‘प्रदर्शनीमा मैले क्रमिक रूपमा पस्केका चित्रकलाको मूलसार नै जीवनचक्रको क्रमिक शृंखला हो,’ उनी भन्छन्, ‘मानव जीवनको भ्रूणदेखि विभिन्न युग, चराचर जगत्को सिर्जना हुँदै विभिन्न चाडपर्व, मेला अनि कोरोना महामारीको चित्रण समेत यस प्रदर्शनीमा पाइन्छ ।’ मानिस आफू मात्र सर्वश्रेष्ठ नभई प्रकृति सबैको साझा मान्नुपर्ने उनी बताउँछन् । ‘यी चित्र मानव र प्रकृतिबाट बाहिर गएका छैनन्,’ उनी भन्छन्, ‘आफ्नै वरिपरि अस्तित्वमा रहेका विषयवस्तुलाई मौलिक रूपमा प्रस्तुत गरिएको छ, यी सरल छन् र धेरैले मन पराएका छन्।’
यौन शिक्षा दर्शाउने : कोबा घर
मिथिला कलाको एक महत्वपूर्ण पाटो हो– कोबा घर । हाम्रो उत्सुकतामा कलाकार सुमनले भने, ‘कोबा घर विशेषतः नवविवाहित जोडीको कोठामा बनाइने विशेष प्रकारको चित्रकला हो। ‘यौन शिक्षा नै यस कलाको मूल सार हो,’ उनी भन्छन्, ‘पहिले पहिले सानो उमेरमै विवाह हुने कारण कलात्मक शैलीमार्फत उक्त शिक्षा प्रदान गरिन्थ्यो।’
सुमनको ‘कोबा घर’ शीर्षकको चित्रले पनि यही विषय बोल्छ । विशेषतः चित्रले प्रेम वा यौन जोडीलाई केन्द्रमा राखेको छ।
कोभिड अनि लकडाउन ब्लुज
प्रदर्शनीमा कोरोना कहरलाई झल्काउने केही चित्र राखिएका छन् । ‘लकडाउन ब्लुज : वान एन्ड टु’, ‘स्केपगोटिङ ब्याट फर द प्यान्डेमिक’, ‘कोभिड लेसन’ आदि चित्रले कोरोना महामारीको चित्रण गर्छन्। मानिसले कोरोना भाइरसको कारणमा चमेरालाई दोष दिए पनि पर्यावरणमा चमेराको विशेष महत्त्व रहेको उनका चित्रले झल्काएका छन्। त्यस्तै, लकडाउनमा घरभित्रै कैदी जसरी थुनिनुपर्दा पीडालाई पनि उनले चित्रमा ल्याएका छन्।
‘कोभिड लेसन’ नामक शीर्षकको चित्रकलाले कल्प वृक्षलाई केन्द्रमा राखेको छ । वृक्षमाथि सानो आकृतिमा छाता कोरिएका छन् । क्यानभासको अन्य भागमा कतै प्लेन तथा कतै अक्सिजनका सिलिन्डर देखिन्छन्।
कलाकार तथा कला समीक्षक मुकेश मल्ल लोक चित्रकलामा कलाकारका निजी भावनाभन्दा बढी परम्परागत मूल्य–मान्यता मुखर हुने बताउँछन् । ‘समकालीन कलामा कलाकारले आफ्ना विचार र भावलाई मिसाएके हुन्छ,’ उनी भन्छन्, ‘कलाकार सुमनले लकडाउन ब्लुज अन्तर्गत बनाएको चित्रमा लोक चित्रकलाका पात्र अनि शैलीमा समकालीन विषय र भावलाई पोख्न खोजेजस्तो मलाई लाग्यो।’
परम्परागत भित्ते मिथिला चित्रकला
मौलिक लोक चित्रकला अन्तर्गत पर्छ, मिथिला चित्रकला । परम्परागत भित्ते मिथिला चित्रलाई नै उनले क्यानभासमा उतारेका छन्। विशेषतः मिथिला चित्रकला महिलाको स्वरूप अनि प्राकृतिक रङमा बन्ने गर्थे । सुमनको प्रदर्शनीले भने यस परिधिलाई चिरेको छ।
मिथिला चित्रकलाको ख्याति र मागले यस्ता परिधिलाई चिरेको कलाकार सुमन बताउँछन् । दशकौंदेखि मिथिला चित्रकलामा अभ्यस्त छन् उनी । परम्परागत रूपमा घरका भित्तामा बनाइने मिथिला चित्रकलालाई ग्यालरीसम्म ल्याउने कोसिस उनको छ।
कोबा घर जस्ता चित्रकला साइत हेरी, शुद्ध भई, भोको पेट गरी बनाउनुपर्ने नीतिनियमबारे पनि उनले अवगत गराए । यद्यपि, कलाकारका लागि केही परिधि खुकुलो भएको उनी बताउँछन् । कलाकारका लागि भने त्यस प्रकारको बाध्यता हुँदैन।
‘यस्ता चित्रकलामा पौराणिक मर्मलाई कति राखिन्छ भन्ने हो । त्यसको स्पन्दन भने मर्नु हुँदैन,’ उनी भन्छन्, ‘यस कारण पनि मिथिला चित्रकला जति हे¥यो, त्यति सुन्दर लाग्छ।’
यही १० डिसेम्बरदेखि सुरु भएको प्रदर्शनी १५ जनवरीसम्म रहनेछ।