मसान : एक नयाँ जोडी नदीमा दुःख बगाएर नयाँ यात्रा खोज्दैछ
एक जोडी विगतका दुःखदायी सम्झनालाई नदीमा बगाएर नयाँ यात्राको डुंगा चढ्छन्। पर क्षितिजमा घाम छ। यो जोडी सारा विभेद, असमानता र रुढीवादको शृंखला बगाएर अगाडि बढ्न चाहन्छ।काठमाडाैं, पुस १० : एक जोडी नदी किनारमा भेटिन्छ र विगतका दुःखदायी सम्झनालाई बगाएर नयाँ यात्राको डुंगा चढ्छ। पर क्षितिजमा घाम छ। यो दृश्य यस्तो लाग्छ– एक जोडी सारा विभेद, असमानता र रुढीवादको शृंखला बगाएर अगाडि बढ्न चाहन्छ।
यो बलिउड फिल्म मसानको अन्त्य हो, सुरुवात होइन नि। फिल्मको सुरुवात कसरी हुन्छ त ?
प्रमुख पात्र देवी पाठक (रिचा चड्डा) पोर्न भिडियो हेरिरहेकी हुन्छिन्। त्यसपछि उनी र उनको प्रेमी (पियुस अग्रवाल) विवाहित जोडीका रूपमा एक होटलमा जान्छन्। दुर्भाग्यवश उनीहरूलाई प्रहरीले रंगेहात पक्राउ गर्छ। केरकार गर्ने क्रममा एक प्रहरीले देवीको भिडियो खिच्छन्। प्रेमीले सोही होटलको बाथरुममा आत्महत्या गर्छन्। पुलिसको हिरासतमा पर्छिन् लक्ष्मी। कोचिङ सेन्टरमा पढाइरहेकी देवीले आफैँले पढाउने विद्यार्थी (पियुस)लाई प्रेम गरेकी हुन्छिन्।
देवीका पिता विद्याधर पाठक (सञ्जय मिश्रा)बनारसकै घाटमा कर्मकाण्ड गर्ने गर्छन्। पण्डित्याइँको काम गरिरहेका उनका पितालाई पुलिस इन्पेन्टर मिश्रा (भरत तिवारी) ले ब्ल्याकमेल गर्छन्, छोरीको भिडियो देखाएर। तीन महिनाभित्र तीन लाख बुझाउनुपर्ने हुन्छ उनीहरूले।
यसरी एकातर्फ देवीको कथा वियोगान्त बन्दै गएको छ। अर्कोतर्फ अर्को उपकथामा कलेज लाइफ रोमान्स आएको छ। विक्की कौशल (दीपक चौधरी), जो सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्, उनको सालु गुप्ता (श्वेता त्रिपाठी) सँग प्रेम सम्बन्धमा चलिरहेको छ। सालु नजिकैको अर्को कलेजकी छात्रा हुन्। यद्यपि, यो प्रेमकथाको वियोगान्त पनि छिटै आउँछ। तीर्थ यात्रामा परिवारसँग गएकी सालुको बस दुर्घटना मृत्यु हुन्छ। विक्की विचलित हुन्छन्। यसरी बलिउड चलचित्र ‘मसान’को कथा अघि बढ्छ, अनेक उतारचढावसहित।
एक सर्भेको अनुसार, सन् २०१५ मा बनेको चलचित्र ‘मसान’ टप ५० अन्डररेटेड चलचित्रको तेस्रो स्थानमा पर्छ। नीरज घेवानको निर्देशन र वरुण ग्रोभरको लेखन रहेको यस फिल्ममा दुई फरक कथा समानान्तर रुपमा अघि बढेका छन्। कथा अन्ततिर सुखद रुपमा अघि बढ्छ। प्रेमी र प्रेमिका गुमाएका दुई पात्र आफूलाई सम्हाल्दै अघि बढ्छ।
लैंगिक र जातीय संघर्ष
द टाइम्स अफ इन्डियामा प्रकाशित यस चलचित्रको समीक्षामा मिना लायर लेख्छिन्, ‘समाजका यी दुई भिन्न पात्र समाजमा आफ्नो लैंगिक तथा जातीय दर्जाकै कारण पनि उत्पीडित भएका छन्।’
विवाह अघिको शारीरिक सम्बन्धलाई ‘ट्याबु’ मान्ने समाजमा देवी एक आधुनिक महिलाका रूपमा स्थापित छन्। तापनि रुढीवादले ग्रस्त समाज र भ्रष्ट प्रहरी प्रशासनका कारण उनी समस्यामा छन्। पण्डितकी छोरी हुनुको सीमाभित्र पनि उनी छन्। भ्रष्ट इस्पेक्टरसँग मुकाबिला गर्ने चेतना उनका पितामा देखिँदैन।
प्रहरीलाई दिने तीन लाख जुटाउनैका लािग उनले केही समय सरकारी जागिर गर्छिन्, जहाँ उनको रुचि हुन्न्।
अर्कोतिर, विक्की जातीय विभेदको चंगुलमा छन्। डोम समुदाय (कथित तल्लो)का उनी र उनको परिवारको पुख्र्यौली काम नै लास जलाउने हुन्छ। उनी समाजको उक्त दर्जाबाट माथि उठ्न चाहन्छन्। सोही कारण उनले इन्जिनियररिङ रोजेका हुन्छन्। समाजमा विद्यमान जातीय संघर्षका निम्ति उनको छुट्टै संघर्ष देखिएको छ। अर्कोतर्फ कथित माथिल्लोे जातकी प्रेमिकासँगको प्रेम सफल पार्न उनलाई समाजमा सम्मानित काम गर्नुपरेको छ, सोही अनुसार हैसियत बनाउनुपरेको छ।
एक दृश्यमा केही समयअघि प्रेमिल भावमा रहेका विक्की र सालुबीच मनमुटाव हुन्छ। सालुले उनको बसाइ घरपरिवारका बारे बेलाबखत सोध्दा विक्की चिढिन्छन्। सबै कुण्ठा सालुलाई पोख्छन्।
चलचित्रमा विक्कीको संवाद छ, ‘साला ये दुःख काहे खतम नहीं होता है बे !’ (साला, यो दुःख किन सकिँदैन यार।)
प्रेमिकासँगको वियोगले उनी विक्षिप्त छन्। परिवारका लागि पूरा गर्नुपर्ने जिम्मेवारी अर्कोतिर छ।
यता देवीले गंगामा पुगेर प्रेमीको अन्तिम चिनो बगाइ दिन्छिन्। जहाँ विक्की पनि केही समयअघि आइबसेको हुन्छ। फरक परिस्थिति तर समान भोगाइबाट गुज्रिएका यी दुई पात्रको परिचय चलचित्रको उतराद्र्धमा हुन्छ, जहाँबाट एउटा नयाँ अध्यायको सम्भावना कल्पना गर्न सकिन्छ।
चलचित्रकर्मी मनोज पण्डितका अनुसार, मसान यस्तो चलचित्र हो, जहाँ एकजनाको मात्र नभई एकभन्दा बढी पात्रको कथा फ्रेम गरिएको छ। पुरातन शैलीको चलचित्रमा एक पात्रलाई कथालाई प्रमुख रुपमा फ्रेमिङ गरिएको हुन्छ। उनीहरूका भोगाइलाई नै देवत्वकरण गरिएको हुन्छ।
चलचित्रकर्मी मनोज पण्डित भन्छन्, ‘मसान चलचित्रले हिन्दू सिद्धान्तलाई चित्रण गरेको छ। हिन्दु सिद्धान्तका अनुसार जीवनको सबैभन्दा अन्तिम गन्तव्य मसानघाट हो। जीवनका उत्साह, उमंग, दुःख, सन्ताप सबै मसानघाटमै पुगेर अन्त्य हुने गर्छ।’
मसान चलचित्र भने मसानघाटमा सम्भावनाको ढोका खोलेर सकिन्छ।