गम्भीर प्रकृतिका महिला हिंसामा अपराधी किन भेटिँदैनन्?
छोरीमैयाँ महर्जन, निर्मला कुर्मी, निर्मला पन्त आदि घटनामा नागरिक समाज, अभियन्ता लगायत न्यायप्रेमीले आवाज उठाए, उठाइरहेकै छन्। तर, गम्भीर प्रकृतिकै घटनाका अपराधी समातिएका छैनन्।काठमाडाैं, पुस ७ : काठमाडौंका नमिता भण्डारी, सुनिता भण्डारी र नीरा पराजुली ०३८ जेठ १८ गते पोखरा घुम्न गएका थिए। जेठ २४ गतेदेखि हराएका उनीहरूको शव पछि सेती नदीको खोँचमा भेटिएको थियो। नीराको मानिएको शव त पाँच महिनापछि भेटिएको थियो। त्यतिबेला डिएनए प्रविधि नभएकाले त्यो शव नीराको हो, होइन भन्ने खुल्न सकेन। यस मुद्दामा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेन।
काठमाडौं जैसीदेवलकी ५१ वर्षीया छोरीमैयाँ महर्जन १६ फागुन ०६८ को बिहान साथीलाई भेट्न बानेश्वर जान्छु भनी घरबाट निस्केकी थिइन्। आज १० वर्ष बितिसक्यो उनको अवस्था के छ कसैलाई जानकारी छैन।
बाँके परस्पुरकी निर्मला कुर्मी २०७५ माघदेखि बेपत्ता छन्। उनका श्रीमान् महलु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। उना दुई छोरा रामसागर र सुरेशको पनि २०६६ मंसिरमा १० दिनको अन्तरमा रहस्यमय मृत्यु भयो। लोग्ने र छोराको मृत्युपछि एक्ली हुन पुगिन्। उनीसँग लोग्ने र छोराको नाममा रहेको ५ बिघा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र थिए, छिमेकी समेत रहेका संविधानसभा सदस्य बादशाह कुर्मीले निर्मलाबाट ती कागजात कब्जामा लिए।
बादशाह कुर्मीलगायत आठ जनाले सम्पत्तिका लागि निर्मलामाथि कुटपिट गर्ने, यातना दिनेदेखि विभिन्न अमानवीय क्रियाकलाप गरेको स्थानीय बताउँछन्। निर्मलालाई राजनीतिक शक्तिले गायब पारेको भन्दै उनको न्यायका खातिर अभियन्ताहरू आन्दोलनमा छन्। तर, घटना उपर सम्बन्धित निकाय मौन छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त ०७५ साउन १० मा घरबाट साथीलाई भेट्न निस्केकी थिइन्। उनलाई बलात्कारपछि हत्या गरियो। यस घटनाका अपराधीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।
यी त केही उदाहरण हुन्। बिनाकसुर महिला भएकै आधारमा बेपत्ता पारिएको, बलात्कार र हत्या गरिएको शृंखला लामो छ। यस्ता घटनामा प्रहरी प्रशासनले अपराधी पत्ता नलगाएको शृंखला पनि लामो छ। आर्थिक वर्ष २०७७÷०७८ को पहिलो १० महिनामा देशभर जबर्जस्ती करणीका दुई हजार ३ सय २१ वटा घटना भएकोे तथ्यांक प्रहरीको छ।
अब सोझो प्रश्न उठ्छ– अपराधी पत्ता नलाग्ने लामो शृंखला हेर्दा अपराधीलाई कठघरा उभ्याउन प्रहरी प्रशासनलाई केले रोकिरहेको छ ?
पितृसत्ताका कारण महिलामाथि हुने हिंसा, बलात्कार र बलात्कारपछि हत्याका अधिकांश मुद्दालाई राजनीतीकरण गर्ने, शक्तिले दबाउने प्रवृत्ति रहेको अभियन्ता तथा युवा नेता मानुुषी यमी भट्टराई बताउँछिन्। उनी भन्छिन्, ‘हामीकहाँ कानुन बलियो भए पनि कार्यान्वयनको पाटो फितलो रहेकाले महिलाले न्याय पाउन सकिरहेका छैनन्। कानुन कार्यान्वयन गर्ने सम्बन्धित निकायलाई बलियो र विश्वासिलो बनाउन आवश्यक छ।’
उनका अनुसार, सामाजिक स्तरबाटै महिलामाथि भएको हिंसा, बलात्कारलाई बेइज्जत र लाजको विषयका रूपमा लिइन्छ। सकेसम्म बलात्कारका मुद्दा ढाकछोप गर्न खोजिन्छ। सामाजिक दबाबका कारण मिलेमतोमा टुंग्याउन खोजिन्छ। ‘कोही आँट गरेर प्रहरीसामु रिपोर्ट गर्न गए प्रहरी प्रशासनले दर्ता गर्दैन। समाजले नै उजुरी गर्न वा मुद्दा लड्न निरुत्साहित गर्छ,’ उनी भन्छिन्, ‘यो सब हुने भनेको पितृसत्ताको वर्चस्वकै कारण हो।’
महिला हिंसा, अझ बलात्कारजन्य अपराधका दोषी पत्ता लगाउन समाज र राज्यकैसहयोगी भूमिका नहुने भएकाले यसका लागि दीर्घकालीन लडाइँ आवश्यक भएको उनको भनाइ छ। ‘यसमा राजनीतिक, गैर–राजनीतिक सबै न्यायप्रेमी मिलेर काम गर्नुपर्छ,’ उनले भनिन्।
पछिल्लो समय महिला हिंसाका घटनाका दोषी पत्ता लगाउनका लागि दबाब दिन नागरिक समाज, अभियन्तालगायत न्यायप्रेमी लागिरहेका छन्।
छोरीमैयाँ महर्जन, निर्मला कुर्मी, निर्मला पन्त आदि घटनामा नागरिक समाज, अभियन्ता लगायत न्यायप्रेमीले आवाज उठाए, उठाइरहेकै छन्। मिडियामा समाचार आइरहेकै छन्। तर, गम्भीर प्रकृतिकै घटनाका अपराधी समातिएका छैनन्।
पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेत महिला हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता नै ढिलो गरी हुने भएकाले अपराधी उम्कन सघाउन पुग्ने बताउँछिन्। ‘बलात्कार के हो ? अथवा बलात्कार हो या होइन भन्ने जस्तो लागेर आफन्तहरू ढिलो गरी दर्ता प्रक्रियामा जान्छन्। कतिले पारिवारिक इज्जतका कारण घटनालाई प्रहरीसम्म पुर्याउन हिम्मत गर्दैनन्,’ उनी भन्छिन्, ‘जसले हिम्मत गर्छन्, ती घटनालाई प्रहरीले सामान्य कुटपिट या अन्य हिंसाका घटनाझैं लिने गरेको देखिएको छ। केही समययता नेपाल प्रहरी अलिकति संवेदनशील भएको छ तर तत्परता कम छ।’
बलात्कार जघन्य अपराधमध्येको एक हो भनेर स्वीकार नगरिएको अवस्था रहेको उनी बताउँछिन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी महिलाहिंसा र बलात्कारजन्य अपराधका घटना जुन संख्यामा भइरहेको छ, सोही अनुुरूप उजुरी हुन नसकेको बताउँछन्। ‘आफूमाथि भएको हिंसाको विषयमा खुलेर जान सक्ने वातावरण महिलालाई छैन। त्यसैले मुद्दा दर्ता गर्न उनीहरू हिचकिचाउँछन्,’ उनी भन्छन्, ‘सामाजिक संरचना महिलामैत्री नभएका कारण हिंसामा परेका महिलालाई उजुुरीका लागि निरुत्साहित गरिन्छ। निकै भयानक घटनामा संलग्न भएका पुरुषले पितृसत्ताको आडमा कानुुनलाई प्रभावित गर्न सक्छन्। पैसा, राजनीतिक प्रभाव र दबाबमा पार्न सक्छन् तर महिलाले आफूमाथि भएको हिंसा र अपराधको कानुुनी उपचार खोज्दा पनि न्याय पाउन नसक्ने वातावरण छ।’
कानुन विषयकी उपप्राध्यापक रुकमणी महर्जन प्रभावकारी अनुसन्धान अभावका कारण बलात्कारका अपराधी पत्ता लगाउन नसकिएको बताउँछिन। ‘अनुसन्धानलाई धेरै कुराले प्रभाव पार्छ,’ उनी भन्छिन्, ‘अनुसन्धान गर्ने तरिका परम्परागत हुनु, विभिन्न आधुनिक तरिकाबाट अनुसन्धान नहुनु, जस्तै ः डिएन, सिमन स्यापल, अपराधी पेसेवर भएका कारण प्रमाण मेटाउन सफल हुनु आदि कारण अपधारी उम्कन सक्छन्।’
घटनाका बारेमा मिडियामा धेरै प्रचारप्रसार हुँदा पनि अनुसन्धानमा बाधा व्यवधान हुने उनी बताउँछिन्। त्यस्तै, केही मुद्दाहरूमा पीडितको पृष्ठभूमि (जाति, भूगोल, लिंग आदि) तथा अन्य कारणले पनि गम्भीर अनुसन्धान नहुने र अपराधी उम्कने अवस्था रहेको उनी बताउँछिन्।