Kathmandu Press

क्यानभास र रङभन्दा बाहिरको कला

इन्स्टलेसन थिममा आधारित यस प्रदर्शनीमा नेपाली कलालाई रङ र क्यानभासको सीमाभन्दा पर प्रस्तुत गर्न खोजिएको देखिन्छ।
क्यानभास र रङभन्दा बाहिरको कला

काठमाडाैं, पुस १ : मानिसको मुहारका आकृति जनाउने केही मुखौटाका थुप्रा छन्। कुनै मुखौटामा उन्मुक्त हाँसो देखिन्छ, कुनै रिसले चुर भएको, कुनै पीडाले विक्षिप्त छ त कुनै भावशून्य। छेउछाउमा ढुंगा अनि माटा पनि छन्। बगरजस्तै भान दिने उक्त थुप्रोको परिधिलाई वरपर रहेका ‘साभेल’ले तोकिदिएको छ। अनि साभेल कसिएको छ हत्केलाभित्र।

टुक्रिएका मुखौटा देख्दा लाग्छ, बनाउँदाबनाउँदै बिग्रिएपछि कलाकारले त्यसै फालेर हिँडेका हुन्। ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने निम्न वर्गका क्षणिक खुसी, दुःख, सन्ताप तथा अन्य भिन्न भाव पो व्यक्त गरिएका हुन् कि जस्तो पनि लाग्छ।

यद्यपि, यो ल्यान्डस्केप कुनै बगर वा फोहोरका डंगुरमा नभई बौद्ध टुसालस्थित तारागाउँ म्युजियमको एउटा कोठामा प्रस्तुत गरिएको हो। उक्त कलाको नाम ‘छरिएका टुक्राहरू’ दिएको छ। यसका कलाकार हुन्– जुपिटर प्रधान।

Hardik ivf

कलाकार प्रधान भने संस्कृतिको पहिचान मेटिएकोतिर आफूले संकेत गर्न खोजेको बताउँछन्। ‘बाहिरी सभ्यता, संस्कृति र राजनीतिले हाम्रा संस्कृति, राजनीति र मूल्य–मान्यतालाई पनि प्रभावित गरिरहेको छ,’ उनी भन्छन्, ‘यसको प्रमुख दोषी हामी स्वयं हौँ। हामीले आफ्नो सभ्यतामा बाहिरी प्रभावलाई खेल्ने स्थान दिँदा आफैँले आफ्ना पहिचानलाई खाल्डोमा हालिरहेका छौँ।’

जसलाई उनले म्यानुक्विन (पुतला) सभ्यताको नाम दिएका छन्। यसको नाम दिइएको छ, ‘ब्रेक थ्रु।’

०००

नीलो रङको एउटा पुरानो खिइएको फलामे ड्रम। ड्रम भित्रबाट मानिसका केही पन्जा बाहिर निस्कन खोज्दैछन्, ड्रमलाई च्यातेर। कलाकार कपिलमणि दीक्षितको काम हो यो।

यो कामले दर्शकलाई एक खालको उकुसमुकुसमा पार्छ। मानौँ, ड्रम रूपको कुनै संकटबाट मानिस बाहिर निस्कने वा भाग्ने कोसिस गरिरहेको छ।'

‘यसको भाव यस्तै हो,’ कलाकार दीक्षित भन्छन्, ‘हरेक मानिस जीवनमा आइलाग्ने अनेक दुःखपीडाबाट भाग्न खोजिरहेको हुन्छ। तर, कहाँ जाने उसैलाई थाहा हुँदैन। यसपालि लकडाउनमा कामधन्दा ठप्प हुँदा हामी धेरै तनावमा पर्‍यौँ। मेरा वरपरका आफन्त र साथीभाइ नै विभिन्न तनाव र चिन्तामा देखिन्थे।’

उनले यसका कलाबाट मानिस कोरोना कहरबाट निस्कन कोसिस आभास दिन खोजेका रहेछन्। यसमा नीलो रङ लैंगिक हिंसाको विरोधमा प्रयोग गरिएको उनको भनाइ थियो।

०००

नयाँ चिटिक्क परेको एकपांग्रे गाडा उल्टो पारेर झुन्ड्याएको छ। धुलोमैलो वा माटो–बालुवा नलागेकाले यसलाई बेच्न राखिएको हो कि भन्ने पनि लाग्छ। तर, यसमा खिया लागेको छ, त्यसैले यसलाई कामदारले थन्काएको हुन सक्ने भान हुन्छ। जेहोस्, यो कलाकार मनिषलाल श्रेष्ठको कला हो।

आम दर्शकलाई झट्ट हेर्दा यस्तो पनि कला हुन्छ र भन्ने लाग्न सक्छ। मनिषलले क्याटलगमा उल्लेख गरे अनुसार, नेपाली युवा वैदेशिक रोजगारीमा गएसँगै देशको विकास निर्माण रोकिएको छ। यो कला त्यसैको संकेत हो।

०००

यी कला बौद्ध टुसालस्थित तारागाउँ संग्रहालय डिसेम्बर ९ देखि प्रदर्शनी गरिएको छ, ‘नेपाली आर्टः बियोन्ड द बोर्डर’ शीर्षकमा। १७ डिसेम्बरसम्म चल्ने यस प्रदर्शनीमा १० कलाकारका कला प्रदर्शनीमा राखिएको छ। कलाकार, सम्पदा अभियन्ता तथा तारागाउँ संग्रहालयका प्रमुख रोशन मिश्रका अनुसार, कलालाई नयाँ ढंगले प्रस्तुत गर्न यो प्रदर्शनी गरिएको हो।

इन्स्टलेसन थिममा आधारित यस प्रदर्शनीमा नेपाली कलालाई रङ र क्यानभासको सीमाभन्दा पर प्रस्तुत गर्न खोजिएको देखिन्छ। यद्यपि यस्ता खालका कलाको प्रदर्शनी नेपालमा नयाँ भने होइन। मिश्र भन्छन्, ‘यसमा हामीले रङ र क्यानभासबाट बाहिर पनि कला छन् भन्न खोजेका हौँ, जुन वस्तुगत, स्थलगत र अवधारणागत पनि हुन्छन्।’

कलाको कुनै निश्चित परिभाषा छैन, विश्वले कलालाई विभिन्न विधामा राखेर विश्लेषण गरिरहेको छ। तारागाउँमा चलिरहेको कला प्रदर्शनीमा वर्तमान विश्व परिस्थिति व्यक्त भएका छन्।

संग्रहालय प्रमुख मिश्रले ‘डिस्इन्टिग्रेसन अफ स्पेस एन्ड इनर्जी’ शीर्षकको कला प्रदर्शनी गरेका छन्। उनको कलामा फुटेका विभिन्न माटाका भाँडालाई बगरमाथि देखाइएको छ, लामो आकृतिमा। उनी भन्छन्, ‘मानव शरीर ऊर्जा र स्थानको अनुपस्थितिमा माटोसरह हुन्छ।’ अर्थात् विघटन (डिस्इन्टिग्रेसन) हुन्छ।  

अन्वेष राई थुलुङ सोमबार मिश्रको यो चित्र नियालिरहेका थिए। उनले भने, ‘यो कला नेवार समुदायको संस्कृतिमा आएको परिवर्तन हो जस्तो पनि लाग्ने।’ अर्को कोणबाट हेर्दा संस्कृतिको पनि जीवन छ र जीवन संस्कृतिसँग सम्बद्ध छ।

प्रदर्शनीमा नबेन्द्र लिम्बुले ‘प्रेम फ्रेम’, विविधा केसीको ‘पेपर रोल’, रवीन्द्र श्रेष्ठको ‘प्रे फर म्यानमार’ लगायत शीर्षकका कला राखिएका छन्।

कलाकार प्रतिमा थकालीको ‘प्यारालाल इन्टिमेसी’ शीर्षकको कलामा बालुवाबाट बनेका साना घरको  बस्ती देखिन्छ। एकै आकारका घरबाट उनले एकै किसिमको आत्मीयता प्रकट गर्न खोजेको बुझिन्छ।

के हो इन्स्टलेसन आर्ट ?

कलाकार जुपिटर प्रधानका अनुसार, इन्स्टलेसन आर्ट भन्नाले ‘थर्ड डाइमेनसनल’ कला हो, जसमा कलाको प्रदर्शनी स्थान र वस्तुगत अवस्थिति विशेष हुन्छ। अर्थात् क्यानभास, ब्रस र रङभन्दा पनि मूर्त रूपमा इन्स्टलेसन कला व्यक्त हुन्छ। ‘सन् १९६० को दशकपछि पोस्ट मोडर्न कलाको नयाँ विधाका रुपमा यो आएको हो,’ प्रधान भन्छन्, ‘दोस्रो विश्वयुद्धपछि परम्परागत शैलीको कलाकारिताबाट परिष्कृत हुँदै कलाकारिताको माध्यम ब्रस, क्यानभास, रङ मात्र रहेन। कला वस्तुगत अवधारणाबाट पनि व्यक्त हुन थाल्यो।’

उनका अनुसार, १९१७ मा, फ्रान्सेली कलाकार मार्सेल डुच्याम्पले निर्माण गरेको युरिनल फाउन्टेनलाई इन्स्टलेसन आर्टको पहिलो सुरुवातका रूपमा मानिँदै आएको छ। सन् १९७० ताका इन्सटलेसन आर्टले विश्व कलाकारितामा प्रमुखता हासिल गरिसकेको थियो। यो नेपालमा १९८० को दशकमा नेपाल भित्रिएको मिश्र बताउँछन्।

नेपालमा सन् २००० पछि, ‘सूत्र’ नामक संस्थाको संस्थागत अभियानपछि मात्र प्रभावकारी इन्स्टलेसन आर्ट जमेको कलाकार प्रधान बताउँछन्। नेपालमा पञ्चायतकालमा जीवन आचार्यले यस प्रकारको कला तथा प्रयोगलाई राजनीतिक तथा विसंगति विरुद्धको आवाजका रूपमा प्रस्तुत गरेको प्रधानको भनाइ छ। ‘२०४४ सालमा तत्कालीन पञ्चायत शासनविरुद्ध उनले यस प्रकारको कला प्रदर्शनी गरेको अनुसन्धानमार्फत जानकारी मिल्छ,’ प्रधानले भने।

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्