शेयर बजारमा आज विक्रेता हाबी
काठमाडौं, भदौ ११ : नेप्से परिसूचक १० दशमलव २६ ले घटेर बुधबार ११९७ दशमलव ७५ को विन्दुमा पुगेको छ।
१२०८ दशमलव ०१ को विन्दुमा ....
काठमाडौं, भदौ ११ : नेप्से परिसूचक १० दशमलव २६ ले घटेर बुधबार ११९७ दशमलव ७५ को विन्दुमा पुगेको छ।
१२०८ दशमलव ०१ को विन्दुमा खुलेको बजारको उच्च विन्दु १२१३ दशमलव ४७ सम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा ० दशमलव ८५ प्रतिशतकोे गिरावट देखिँदा बजारको न्यून विन्दु ११९६ दशमलव ९४ थियो।
बुधाबार ३७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै आरएमडीसी लघुवित्तको संस्थापक शेयर किनबेच भएको छ। आरएमडीसी लघुवित्तको १० करोड ५४ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सबैको लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८६ प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४ दशमलव ९१ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
एन.आई.सी. एशिया बैंकले १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
सामुदायिक लघुवित्तले ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कुमारी बैंकले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरे पश्चात वितरण गरिने छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। यदि बजार १२१३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य प्रतिरोध १२२१ मा रहेको देखिन्छ।
त्यस्तै, बजारको तत्कालीन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ भनिएको थियो। आज कारोबारको पहिलो समयमा बजार सकारात्मक देखिएको थियो भने १२१३ को प्रतिरोधलाई भने तोड्न असफल रह्यो र बजार पुनः टेवा क्षेत्रमा रहेको छ। नेप्से परिसूचक ११९७ दशमलव ७५ को विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले कारोबारको पहिलो समयमा बजार बढे पनि त्यसपछि बजार घट्दो प्रवृत्तिमा रहेकोे र विक्रेता हाबी रहेको देखिएको छ। यसलाई बजारको लागि सकारात्मक मानिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत तीन दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। तीन दिनदेखि बजार प्रवृत्तिहीन रहेको देखिन्छ।
आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले डेडक्रस बनाएबापत बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) १५ दशमलव ६८ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। छोटो समयावधिको नेप्से प्रवृत्ति घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
समग्रमा हेर्दा बजार टेवा क्षेत्रमा रहे पनि बजारमा विक्रेता हाबी रहेकाले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउन उपयुक्त देखिन्छ। बजारको तत्कालीन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।