Kathmandu Press

‘अब कांग्रेसले समाजवादी लोकतान्त्रिक गणतन्त्रको आभास जनतालाई दिन सक्नुपर्छ’

देशको परिवर्तनमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस यतिखेर १४औँ महाधिवेशनको मैदानमा छ।
‘अब कांग्रेसले समाजवादी लोकतान्त्रिक गणतन्त्रको आभास जनतालाई दिन सक्नुपर्छ’

देशको परिवर्तनमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस यतिखेर १४औँ महाधिवेशनको मैदानमा छ। अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले टेलिफोनमार्फत नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार र पार्वता डिसी चौधरीलाई केही प्रश्न सोधेकी थिइन्। प्रस्तुत छ, यस सम्बन्धमा उनीहरूको धारणा :

जनताको हित हुने नीतिमा गृहकार्य गर्नुपर्छ

–लक्ष्मी परियार

Hardik ivf

नेपाली कांग्रेस संघीय लोकतन्त्रको पक्षपाती हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्दै आम नेपाली जनताको मनोभावना र आवश्यकतालाई बुझेर जनताका लागि काम गर्ने नेतृत्व आवश्यक छ। अबको कांग्रेसले बिपी कोइरालाको परिकल्पना अनुरुपको समाजवादलाई कार्यान्वयन गर्नुपर्छ। समाजवादको नारा रटेर मात्र हुँदैन। नेतृत्वले समाजवादलाई कार्यान्वयनमा ल्याउनुपर्नेछ। खासगरी समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने नेतृत्वको खाँचो छ।

कांग्रेसले हरेक विषयमा सहमतिलाई नै पहिलो प्राथमिकता दिएको हुन्छ। तर, जब सहमतिको बिन्दुमा पुग्न सकिँदैन, तब लोकतान्त्रिक पार्टीको सबैभन्दा उत्तम विकल्प हो, चुनाव। चुनावमा विभिन्न आकांक्षी हुन्छन्। जसमा जित्नु र हार्नु स्वाभाविक हुन्छ।

हार्ने उम्मेदवारले हारलाई चुनावी प्रक्रियामा मात्र सीमित भएको मान्नुपर्छ। पार्टीभित्र आफू अझै क्रियाशील हुनुपर्ने रहेछ भन्ने उहाँहरूले बुझ्नुपर्छ। निराश भएर मैले केही गर्न सक्दिनँ भनेर हरेस खानु हुँदैन। जित्ने पदाधिकारी पनि उन्माद नभई आफ्नो जिम्मेवारीलाई गहनताका साथ बोध गर्नुपर्छ। हारेका र जितेका दुवैको समन्वयमा अघि बढ्न सके त्यो सबैभन्दा उत्तम हुन्छ। लोकतन्त्रलाई स्थापित गर्न पक्ष र विपक्ष दुवै एकै ठाउँमा आएर काम गर्नुपर्छ भन्ने मेरो विचार हो। 

अब कांग्रेसले जनताको हितमा हुने नीतिमा गृहकार्य गर्नुपर्छ। आम चुनावमा नेपाली कांग्रेसको हार व्यहोर्दा नेपाली जनताले दुःख पाए। यसपालि नेपाली जनतामा अहिले बहुमतको सरकारप्रति तिरस्कार अनि वितृष्णा जाग्यो। कम्युनिस्ट सरकारले आम जनताको हितभन्दा आफ्ना कार्यकर्तालाई प्राथमिकता दिएर अघि बढ्यो। संविधानमाथि झन्डै कुठाराघात हुन लागेको पनि सबैलाई थाहै छ। यस कारण देशमा लोकतन्त्र बचाउन खोज्ने र सक्ने भनेको कांग्रेसले नै हो। त्यसैले कांग्रेसले यो देशको रक्षा गर्न, आउने संकटको ठोस समाधान गर्न, देशलाई समृद्ध बनाउनका लागि अघि बढ्नुपर्छ। 

युवाको ठूलो संख्या वैदेशिक रोजगारीमा छ। यो शक्तिलाई देशमै गर्ने नीति तथा कार्यक्रम कांग्रेससँग हुनुपर्छ। 

अर्थतन्त्र मजबुत बनाउने बहसमा लाग्नुपर्छ

-चिनकाजी श्रेष्ठ

अब कांग्रेसले आर्थिक नीतिलाई अँगाल्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्यो। हाम्रो राजनीतिक क्रान्ति करिब–करिब पूर्ण भइसक्यो। अब भने देशको उत्पादन वृद्धि गर्ने क्षेत्रमा नयाँ कार्यक्रम ल्याउनुपर्छ। विशेषतः कृषि तथा औद्योगिक उत्पादनलाई बढावा दिनु उचित हुन्छ। यस प्रकारका क्षेत्रमा बढावा दिने नीति आए, प्रोत्साहित गरेमा मात्र अर्थतन्त्र मजबुत हुन्छ।

अर्थतन्त्र मजबुत भए मात्र हामीले राजस्वको वृद्धि गर्न सक्छौँ। राजस्वको वृद्धि भयो भने हामीले संगठित रूपमा गाउँघरका विपन्न समुदाय तथा क्षेत्रमा विकास निर्माणका योजना लैजान सक्छौँ। लोकतान्त्रिक समाजवादको परिकल्पना गर्दा ग्रामीण तथा पिछडिएको क्षेत्रको सामाजिक तथा आर्थिक सुधारलाई नजरअन्दाज गर्न मिल्दैन।

सामाजिक सुधार नभएसम्म आर्थिक सुधार हुन सक्दैन। यसकारण सामाजिक सुधारमा पनि नेपाली कांग्रेसको ध्यान उत्तिकै आवश्यक छ।

यसमा समावेशिताको विषय महत्वपूर्ण कुरा हो। हाम्रो संविधानमा पनि यसको व्यवस्था गरिएको छ। तर, पदाधिकारीमा समावेशिता हुन्न कि भन्ने डर हामीलाई लागेको छ। जनसंख्याको आधारमा, जाति, सम्प्रदाय, भेग र लैंगिकताका आधारमा सबैलाई समुचित सहभागी गरियोस् भन्ने हाम्रो चाहना थियो। त्यो अनुसार संविधान पनि बन्यो, विधान हामीले करिब–करिब बनाएका छौं।

क्लस्टर बमोजिम आठ सहमहामन्त्रीको व्यवस्था गरिएको छ। तर, यसले मात्र समावेशिताको सिद्धान्तलाई परिपूर्ण गर्लाजस्तो भने लागेको छैन। सभापति, उपसभापति, महामन्त्रीजस्ता पदमा समावेशिताको व्यवस्था छैन। यसकारण हारजितभन्दा पनि समावेशिताकै लागि पनि राम्रो व्यवस्थापन गरिदिनुपर्‍यो। अब यस १४औं महाधिवेशनबाट यिनै मुद्दालाई बोकेर हिँड्न सक्ने क्रियाशील नेतृत्व चाहन्छौं। 

चुनावपछि गुटबन्दीलाई त्यागेर कांग्रेसलाई बलियो बनाउनुपर्छ

-पार्वता डिसी चौधरी

हाम्रो नीतिको आधार त बिपीको विचार नै हो। बिपीले प्रतिपादन गरेको लोकतान्त्रिक पद्धति जो छ, त्यही हो। कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण लोकतन्त्रलाई अझ बढी मजबुत बनाउनुपर्छ। 

मैले अहिलेको आवश्यकता अनुसार शेरबहादुर देउवाकै नेतृत्व देख्न चाहन्छु। कारण, उहाँकै नेतृत्वमा चुनाव गरेर संविधानको कार्यान्वयनमा लाग्यौँ। आगामी दिनका चुनावमा कांग्रेसलाई बहुमत दिलाउन पनि उहाँको नेतृत्व आवश्यक पर्छ। 

अहिले गुटबन्दी देखिएको छ। कुन नेताको पछि लागे सिट पाउँछु भनेर गुटबन्दी हुने गर्छ। तर, यो गुटबन्दी चुनावसम्म मात्र भए राम्रो। चुनावपछि गुटबन्दीलाई त्यागेर जो जो पदाधिकारी आउनु भए पनि सबैले साथ–सहयोग गरेर कांग्रेसलाई बलियो बनाउनुपर्छ।

भोलिका दिनमा अहिलेजस्तो गुट बनाउने पक्ष भयो भने कांग्रेसले आफ्नो सुधार गर्न सक्दैन। त्यसैले गुटबन्दीको भावनालाई त्याग्नुपर्छ। कांग्रेस ठूलो पार्टी हो। यस कारण धेरै आकांक्षीले पद नपाउन सक्नुहुन्छ। हार्ने उम्मेदवारलाई कहीँ न कहीँ ‘एडजस्ट’ गरिहाल्नुहुन्छ। जितपछि नेतृत्वमा आउनेले पनि उहाँसँग समन्वय गरी अघि बढ्नुपर्छ। 
 

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्