Kathmandu Press

कांग्रेसमा कस्तो नेतृत्व चाहन्छन् युवा प्रतिनिधि ?

सम्पूर्ण युवाहरूलाई समेट्ने मात्र नभई, युवालाई पर्याप्त अवसरहरू प्रदान गर्दै अब जनताको सुख दुखको साथी कांग्रेस बन्नुपर्ने वाग्मती प्रदेशको सिन्धुपाल्चोक–२ बाट सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा प्रतिनिधि चयन भएकी १९ वर्षीया करिना पुरीको भनाइ छ। 
कांग्रेसमा कस्तो नेतृत्व चाहन्छन् युवा प्रतिनिधि ?

काठमाडौं, मंसिर २६ यतिबेला सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक छ। वडा, पालिका, प्रदेश सभा क्षेत्रीय, संघ क्षेत्र अधिवेशन हुँदै जिल्ला र प्रदेश तहसम्मको अधिवेशन लगभग सम्पन्न भइसकेका छ।

केही जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी भए पनि केन्द्रमा नेतृत्व चयन गर्न महत्वपूर्ण महाधिवेशन प्रतिनिधि भने चुनिसकिएका छन्। जिल्लाजिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनिएसँगै केन्द्रमा पनि युवाहरू उम्मेदवार बनेका छन्। 

यसरी चुनिएका महाधिवेशन प्रतिनिधिहरूमा ठूलो संख्यामा युवाहरूको प्रतिनिधित्व देख्न सकिन्छ। वडा तहदेखि महाधिवेशन प्रतिनिधि चयन हुँदा केन्द्रमा पनि युवाको नेतृत्व हाबी हुने हो कि भन्ने आकलनसमेत गर्न थालिएको छ।

Hardik ivf

प्रतिनिधिमा युवाहरूको वर्चस्व रहे पनि यसपटकको नेतृत्वमा युवाहरूको सहभागिता उल्लेख्य हुनेमा भने शंका नै छ। जेहोस्, देशको सबैभन्दा पुरानो पार्टीमा युवा प्रतिनिधित्वको संख्या हेर्दा युवाको जमातले पनि राम्रै अर्थ राख्ने भने पक्का छ। 

वाग्मती प्रदेशको सिन्धुपाल्चोक–२ बाट सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा प्रतिनिधि चयन भएकी १९ वर्षीया करिना पुरीले पार्टीको महाधिवेशन समयमै गर्न सक्ने र समाजवादलाई पूर्णतया पालना गरेर पार्टीलाई चलायमान बनाउनुका साथै महामानव बिपी कोइरालाको नीतिलाई आत्मसात् गर्ने खालको नेतृत्व आवश्यक देखिएको बताइन्।

उनले थपिन्, ‘कांग्रेस अझै पनि पार्टीको विधानअनुसार चल्न नसकेको जस्तो देखिन्छ त्यसैले विद्यानअनुसार चलाउनु नै मुख्य कार्य हो।’ सम्पूर्ण युवाहरूलाई समेट्ने मात्र नभई, युवालाई पर्याप्त अवसरहरू प्रदान गर्दै अब जनताको सुख दुखको साथी कांग्रेस बन्नुपर्ने पुरीको भनाइ छ। 

अछाम जिल्ला निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि चयन भएका २५ वर्षीय टेकबहादुर विक आफू दलित समुदायबाट प्रतिनिधित्व गरेको र स्थापनाकाल देखिनै नै सबै जातजातिको सहभागिताबाट स्थापना भएको पाटी भएकाले अबको नेतृत्व पहिलो, दोस्रो र तेस्रो पुस्तालाई सँगै लिएर मिलाएर अगाडि बढ्न सक्ने खालको नेतृत्व चयन गर्न आवश्यक रहेको बताए। उनले काठमाडौं प्रेससँग भने, ‘मैले चाहेजस्तो तीन पुस्ता जोडेर अगाडि बढ्न सक्ने जो हुन्छ, उसैलाई मतदान गर्छु।’

पछिल्ला दिनमा पार्टीमा समावेशीकरण हुन सकेन कि भन्ने बुझाइ भएकाले यो १४आंै महाधिवेशनले सबै वर्ग, जातजाति, वेशभूषा, हिमाल, पहाड र तराई सबै ठाउँका मानिसहरूको सहभागिता हुनुपर्ने विकको भनाइ छ। अब कांग्रेसका युवाहरूलाई पार्टी भित्र संगठित गरेर सामाजिक, राजनीतिक व्यावसायिक रूपमा रोजगारी सिर्जना गरी युवाहरूको क्षमता वृद्वि गर्नुपर्ने खालको नेतृत्व आवश्यक रहेको उनले बताए। 

प्रदेश १ को इलामबाट प्रतिनिधि बनेका २६ वर्षीय दुर्गा सुवेदीको विचारमा नेतृत्वमा युवालाई प्राथमिकता भन्दै गर्दा अग्रजहरूलाई पनि बिर्सन नहुने बताउँछन्। उनले काठमाडौं प्रेससँग भने, ‘युवा ल्याउने नाममा अग्रजलाई बहिष्कार गर्ने भन्ने होइन, अग्रजहरूलाई पनि उचित स्थानमा राख्नुपर्ने हुन्छ नभए युवाहरूले मात्रै पनि केही गर्न सकिन्न, सबैको साथ सहयोग अपरिहार्य छ।’ 

सुवेदीका अनुसार अबको नेतृत्व अग्रजको अनुभव युवाहरूको जोसजाँगरबाट परिमार्जित, परिष्कृत, रूपान्तरित र उत्तरदायी हुनु जरुरी छ। कांग्रेसले पुराना नेताहरूले यस्तो भनेका थिए भनेर मात्र राजनीति गर्नुपर्ने अवस्था रहेको गुनासो गर्दै अब नयाँ पुस्ताले नयाँ एजेन्डा लिएर व्यक्तिमुखीभन्दा पनि सबै नेपालीले कांग्रेसको महसुस गर्ने खालको कांग्रेस बनाउनुपर्ने उनी बताउँछन्। 

यसैगरी सिन्धुली क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित २८ वर्र्षीय मुकेश घिमिरे जनताका प्रत्येक समस्या समाधान गर्न सक्ने र पार्टीलाई रूपान्तरण गर्दै नवीन कांग्रेस बनाउने खालको नेतृत्व चुन्ने तयारीमा छन्। कम्युनिस्टको भन्दा कांग्रेसको एजेन्डा राम्रो भए पनि जनतालाई बुझाउन नसकेको घिमिरेको बुझाइ छ।

घिमिरेका अनुसार भावी कांग्रेसको नेतृत्वले जनतासँग टाढिएर नभई जोडिएर आफ्ना एजेन्डा बोकेर गाउँगाउँ पुग्नुपर्छ । मूलतः देशभित्रै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा युवाहरु रोक्नु नै युवाहरूका लागि महत्वपूर्ण कार्य हुने र त्यो कांग्रेसले गर्नुपर्ने घिमिरेको भनाइ छ।

स्याङ्जा क्षेत्र नं. १ बाट दलित महिला प्रतिनिधिमा निर्विरोध चयन भएकी अनिता रुचालको भनाइ पनि सुवेदीको विचारसँग मिल्दोजुल्दो छ। उनलाई पनि युवा नेतृत्व भनेर भनिरहँदा भावी दिनमा सिनियर नेताहरूले साथ, सहयोग नगर्दा झनै कांग्रेस बिग्रने हो कि भन्ने डर लाग्न थालेको छ। 

उनी भन्छिन्, ‘युवा युवा भनेर मात्र भन्दा ज्येष्ठ नेताहरूको साथ नहुँदा युवाहरूलाई झनै गाह्रो हुन पनि सक्छ, त्यसैले सबैलाई साथमा लिएर युवापुस्ता अग्रजबाट सिकेर अगाडि बढ्नुपर्ने देखिन्छ। उनको विचारमा भावी कांग्रेसलाई अझ सशक्त बनाउन सबैको साथ, सहयोग र साझेदारी अपरिहार्य छ। 

यस्तै सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुराबाट प्रतिनिधिमा निर्वाचित भएकी २५ वर्षीय रिता शाहीले पनि सकेसम्म युवालाई नेतृत्वमा ल्याउने सोच बनाएकी छन्। यद्यपि आफू एकजना युवाले मात्र केही गर्न नसक्ने भएकाले सम्पूर्ण युवाहरू एकै ठाउँमा उभिनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सङ्घीय संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद् अधिवेशन आजदेखि
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै