‘महिलाको एकतिहाइ प्रतिनिधित्वले सभापति जितिँदैन, हामीले क्षमता देखाउन पाएनौँ’
महिला पदमै छैनन्, संगठनको मूल मियोभित्रै छैनन् । सदस्य, कोषाध्यक्षमा मात्र सीमित छन् । जसकारण महिला नेतृले आफ्नो योग्यता र क्षमतालाई सेयर गर्न पाएका छैनन् ।काठमाडाैं, मंसिर २५ : नेपालको इतिहासमा नेपाली कांग्रेस पार्टी स्थापना भएको नै २००३ सालमा हो । स्थापनाको ७५ वर्षमा टेकिरहँदा १४औं महाधिवेशनको संघारमा उभिएका छौं । यी सबैलाई नियाल्दा हामीले सम्झनैपर्ने महिला नेतृत्वमा पर्नुहुन्छ, मंगलादेवी सिंह । उहाँले २००४ सालमा महिला संघको स्थापना गरेर महिला नेतृत्वमा आउनुपर्छ भनेर महिलाको राजनीतिक अधिकारका लागि लड्नुभएको थियो।
अर्को हुनुहुन्छ, द्वावारिकादेवी ठकुरानी, उहाँले कांग्रेसबाट २०१५ सालको आम निर्वाचनमा चुनाव जित्नुभएको थियो । उहाँ पहिलो महिला स्वास्थ्य सहायक राज्यमन्त्री हुनुभयो । त्यस्तै, उपसभापति बन्नुभएकी सुजाता आचार्यले पार्टी तथा सरकारभित्रका विकृति, विसंगतिभित्रको विरुद्धमा पनि लड्नुभएको थियो।
त्यस्तै, चित्रलेखा यादव पार्टीको उपसभामुख, कोषाध्यक्ष हुनुभयो। अहिलेसम्मको सेरोफेरोमा नेपाली कांग्रेसमा महिला नेतृको सहभागिताको घटना यही हो । कोषाध्यक्षसम्म सीमित भएका हामीलाई अब सहमहामन्त्रीको पदभित्र पनि प्रतिस्पर्धा देखिने भएको छ । विधान फेरिएको छ, प्रतिनिधित्व बढेको छ, तर नेतृत्व सीमित मात्रामा छ । खासै परिवर्तन भएको छैन।
मेरो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भयो । २०३६ सालको जनमत संग्रहमा विद्यार्थीका रूपमा नेपाल विद्यार्थी संघमा आबद्ध थिएँ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका विचारबाट प्रभावित भएँ । विद्यार्थी संघ हुँदै महिला संघ, तरुण विभागमा पनि काम गरेँ । नेपाली कांग्रेसमा काम गर्दै आज नेपाली कांग्रेसको केन्द्रीय सदस्य, महिला संघको पूर्वअध्यक्ष पनि भएँ । धेरै अप्ठेरा आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेकी छु । नीति निर्णायक तहमा पुग्नका लागि भने गाह्रो छ।
यसपालिको महाधिवेशनमा मैले व्यक्त गरेको आकांक्षा सह–महामन्त्री हो । अरु आकांक्षी पनि हुनुहुन्छ । तर, यो यात्रालाई कसरी अघि लैजाने भन्ने विषयको विमर्श बाँकी नै छ । एउटै पदका लागि मारामारी गर्ने कि अन्य विकल्प अपनाउने, त्यसबारे निर्णय हुन बाँकी छ । मेरो आकांक्षा देशभरिका महिला दिदीबहिनी, जसको म अभिभावक बनेँ, अध्यक्ष बनेँ, उनीहरुका लागि हो । जहाँ मंगलादेवीले महिला जागरण छेड्नुभयो, त्यही संस्थाको अध्यक्ष भएँ, मैले आफ्नो पदको दायित्व पनि पूर्ण रूपमा निर्वाह गरेँ । यी विविध कारण पनि अबको मेरो आकांक्षा सह–महामन्त्री पदको छ।
महिला नेतृको अवस्था राम्रै छ । प्रतिनिधित्वको सवालमा एक तिहाइको व्यवस्था संविधान तथा विधानमै छ । तर, ‘फस्ट म्यान’ भन्छौँ नि ‘सभापति’ जोबिना पार्टी अघि बढ्न सक्दैन, त्यसमा भने महिलाले स्थान पाउन सकेका छैनन् । कहीँ पनि हामीले महिला सभापति पाएनौं । न जिल्ला सभापति, न त नगर वा क्षेत्रीय सभापति नै।
महाधिवेशनमा महिला सभापतिका लागि प्रतिस्पर्धा पहिलेदेखि राखिएको छैन । महिला समक्ष छन्, योग्यता छ, लगानी छ, सिनियर पनि छन् तर अझै उक्त पदतर्फ हाम्रो पाइला बढ्न सक्ने अवस्था देखिएको छैन।
महिला युवा नेतृहरू थुप्रै हुनुहुन्छ । तर, पद पाए न योग्यता र क्षमता देखाउन सकिन्छ, पदबेगर कहाँ योग्यता, क्षमता देखाउने ? महिला पदमै छैनन्, संगठनको मूल मियोभित्रै छैनन् । सदस्य, कोषाध्यक्षमा मात्र सीमित छन् । जसकारण महिला नेतृले आफ्नो योग्यता र क्षमतालाई सेयर गर्न पाएका छैनन्।
हाम्रो संविधानमै महिलालाई एकतिहाइको स्थान दिइएको छ । महिला प्रतिनिधित्वमा मात्रै सुनिश्चित भएका छन् । पदाधिकारीमा प्रतिस्पर्धा गरेर आउनुपर्छ । प्रतिस्पर्धाका लागि एक तिहाइको भोटले मात्र पुग्दैन । सोही कारण महिलालाई प्रतिस्पर्धा गरेर आउन गाह्रो छ।
आरक्षण कोटामा एउटै अनुहार दोहोरियो भन्ने विषयमा मेरो केही कमेन्ट छैन । कारण, प्रतिस्पर्धामा सबैलाई खुला राखेपछि को आरक्षणमा आए, को कुन तरिकाले आए भन्नुभन्दा पनि प्रतिस्पर्धाको कसौटीमा उभिनुपर्छ । हामी संघारमा आइसक्यौं, अब यस्ता कुराले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । जसले आफूलाई अगाडि ल्याउन सक्नुहुन्छ, उहाँ आउनुहुन्छ । यस्ता कुरालाई मुद्दाका विषय बनायौं भने हामी अघि बढ्न सक्दैनौं।
(कांग्रेस नेतृ संग्रौलासँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले गरेको टेलिफोन वार्तामा आधारित ।)