कांग्रेस महाधिवेशन मैदानका दृश्यहरू
यसअघि मिस नेपाल, नेपाल आइडल, टाटा मोर्टस्का जस्ता कार्यक्रममा आर्ट डिजाइनको अनुभव बटुलिसकेका गुप्ता कुरा कम र काम छिटो गर्दै थिए। उनीसहित करिब ३५ जना मिलेर महाधिवेशनलाई सुन्दर बनाउन खटिएका छन्।काठमाडाैं मंसिर २३ : भृकुटीमण्डप क्षेत्र यतिखेर झिलिमिली छ– चारतारे झन्डा, रूख र नेताको तस्बिरसहितका फ्लेक्स ब्यानरले।
यहाँ पे कौन्सा हे ? (यहाँ कुन राख्ने ?)
बुधबार बिहान ब्यानरै–ब्यानरले सजिएको भृकुटीमण्डपको मुख्य गेटमा रुस्तम अलि अलमलमा देखिन्थे। मुस्लिम कोटाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हसन अन्सारीकोे चुनावी प्रचारमा खटिएका थिए उनी।रुस्तमसहित अन्य २४ जना स्वयंसेवक हसन अन्सारीको प्रचारमा छन्। एक उम्मेदवारले २५ जना स्वयंसेवक खटाउन पाउने प्रावधान रहेछ। रुस्तम अली भन्दै थिए,‘ब्यानर टाँगिसकेपछि अन्य प्रचारप्रसारमा लाग्छौँ।’
नजिकै अर्को स्वयंसेवक टोली थियो, टोलीमध्येका एक सुमन लामा मुख्य गेट नजिकैको रुख चढेर ब्यानर झुन्ड्याउँदै थिए, नरेशकुमार केरुङको। पाँचथरका केरुङले कांग्रेसकेन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन्।
रोशन आर्टस् सर्भिसका सञ्जय गुप्ता स्टेजको रङरोगन गर्न खटिएका छन्। आफ्ना साथीहरूलाई रङरोगनका लागि आवश्यक सामग्री व्यवस्था गरी भन्दै थिए, ‘छिटो है छिटो साथीहरू, ढिला नहोस् है।’ काम छिटै नसकिएला भन्ने चिन्तामा उनी देखिन्थे।
गुप्ताले एकछिन वरपर नियाल्दै फेरि भने, ‘काम आजै सक्नुपर्छ। सामान के कति चाहिन्छ भन्दै गर्नु। मास्किङ बोर्ड के हुँदै छ ?’
‘मास्किङ बोर्ड भन्नाले ?’ हाम्रो प्रश्नमा उनले भने,‘मास्किङ बोर्ड भन्नाले खाली रहेका स्थानमा सजावटका लागि राखिने रंगीचंगी बोर्ड हो,’ गुप्ता भन्छन्,‘स्टेज तथा साउन्ड सिस्टममा १२–१२ वटा मास्किङ बोर्ड लाग्छ।’
यसअघि मिस नेपाल, नेपाल आइडल, टाटा मोर्टस्का जस्ता कार्यक्रममा आर्ट डिजाइनको अनुभव बटुलिसकेका गुप्ता कुरा कम र काम छिटो गर्दै थिए। उनीसहित करिब ३५ जना मिलेरमहाधिवेशनलाई सुन्दर बनाउन खटिएका छन्।
यता साजसज्जाको टेन्डरसगरमाथा टेन्ट एन्ड स्टेशन कम्पनीले पाएको छ। कम्पनीबाट खटिएका हेमन्त श्रेष्ठले काम कन्ट्र्याक्टमा हुने बताए। उनीहरूले मुख्य स्टेजलाई सजाउँदै थिए।
शनिबारदेखि कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ।भृकृटी मण्डपको खुला भागमा स्टेज बन्दै छ। विभिन्न प्रदर्शनी, सभाभेलाका लागि यो ठाउँमा प्रयोग हुने गर्छ। अरु बेला यो ठाउँ चिया–खाजा खानेहरूले ओगटेका हुन्छन्।
एकतर्फ ब्यानर, प्रचारका टोलीको दौडधुप चलिरहँदा अर्कोतर्फ प्राविधिक तथा साजसज्जा सम्बन्धित व्यक्तिहरू जुटेका थिए। महाधिवेशनलाई आवश्यक पर्ने साउन्ड सिम्टम तथा डिस्प्लेको जिम्मा इन्टरनेसनल साउन्ड सर्भिसले पाएको छ। यसबाट खटिएका गंगा बस्नेतभन्छन्, ‘हामी पार्टी सम्बन्धित नभई सेवामुखी कम्पनीबाट आएका हौं। हाम्रो जिम्मामा साउन्ड र एलइडी हुन्छ।’भीड अनुसारको आवश्यक हुने साउन्ड सिम्टम तथा एलइडी जडान गरिने उनले बताए। महाधिवेशनकै लागि उनको कम्पनीबाट मात्रै ४० जना खटिएका छन्।