Kathmandu Press

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा १६ वर्षीया सुप्रियाका चित्र 

१६ वर्षीया सुप्रिया पाण्डेको चित्रकला हो यो । जसले मदिरा खाने पुरुषबाट महिलामाथि हुने हिंसाको विम्ब बोलेको छ । सुप्रियाले ‘फ्रम वुम्ब टु टम्ब’ अर्थात् ‘महिला हिंसा : भ्रूणदेखि घाटसम्म’ शीर्षकमा सोलो चित्रकला प्रदर्शन गरिन्, १६ मंसिरदेखि १८ मंसिरसम्म । जहाँ महिला हिंसा थिमका ३० वटा चित्रकला राखिएका थिए ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा १६ वर्षीया सुप्रियाका चित्र 

काठमाडौं, मंसिर १९ : एउटा वाइन ग्लासभित्र महिला छिन् । महिला ग्लासदेखि बाहिर निस्कन खोजिरहेको भान हुन्छ । तर, उनको शरीर ग्लासको साँघुरो भागमा अड्किएको छ । किनकि ग्लास कालो हातजस्तो देखिने आकृतिको कब्जामा छ । 

१६ वर्षीया सुप्रिया पाण्डेको चित्रकला हो यो । जसले मदिरा खाने पुरुषबाट महिलामाथि हुने हिंसाको विम्ब बोलेको छ । सुप्रियाले ‘फ्रम वुम्ब टु टम्ब’ अर्थात् ‘महिला हिंसा : भ्रूणदेखि घाटसम्म’ शीर्षकमा सोलो चित्रकला प्रदर्शन गरिन्, १६ मंसिरदेखि १८ मंसिरसम्म । जहाँ महिला हिंसा थिमका ३० वटा चित्रकला राखिएका थिए ।

अर्को चित्र थियो, एक गर्भवती महिलाको । जसमा गर्भभित्र भ्रूणको आकारमा रहेकी बालिका देख्न सकिन्छ । हाम्रो समाजमा छोरीको पहिचान गरी भ्रूणहत्या गर्नु नौलो होइन । समाजमा छोरा चाहनेले यसो गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । समाजमा छोरीलाई छोरा समान नमान्ने, अंश र वंश धान्न छोरा नै चाहिने मान्यता व्यापक छ । 

Hardik ivf

सुप्रियाले भ्रूणहत्या जस्तो गम्भीर मुद्दालाई चित्रमा ल्याएकी छन् । उनका कला कतिपय स्पष्ट बुझिने अर्थात् मूर्त खालका छन्, कतिपय अस्पष्ट अर्थात् अमूर्त खालका । अर्को चित्र छ, पाठेघरभित्र दुई काला हातसहितको । जसले भ्रूण हत्या गर्न खोजेको देखाउँछ । त्यस्तै, अर्को क्यानभासमा एउटी किशोरी घुँडा समाएर निहुरिएर बसेकी छन् । एक घुँडादेखि अर्को घुँडासम्म रातो रंगको छड्के मोटो धर्का तानिएको छ ।

यसले यस्तो आभास गराउँछ, यहाँ यी महिला महिनावारीसम्बन्धी तनाव वा पीडामा छन् । हामीकहाँ महिनावारीको नाममा अनेक रुढीवादी परम्परा अभ्यासमा छ । सहरमा महिनावारी बार्ने गर्छन्– भान्सा नछोएर वा देउता नछोएर । गाउँतिर छाउपडी प्रथा छ, गोठमा बस्नुपर्ने ।

यसरी सुप्रियाले आफ्ना चित्रमा एउटा महिलाले गर्भमा भ्रूणको स्वरूप लिएदेखि मृत्यु (घाट) अघिसम्म भोग्नुपर्ने हिंसालाई प्रस्तुत गरेकी छन् । महिलाले भोगिरहेका हिंसा र विभेद उनका क्यानभासमा उत्रिएका छन् ।  

झट्ट हेर्दा उनका चित्रकला सरल लाग्छन्, एक १६ वर्षीया किशोरीले महिला हिंसाको शृंखलालाई जसरी बुझिन्, त्यो गम्भीर छ । केही अघिदेखि आफूले बनाएका चित्रलाई ‘१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान’का सन्दर्भमा प्रदर्शनीमा ल्याएको सुप्रिया बताउँछिन् । उनी भन्छिन्, ‘महिला हिंसाको विकराल स्वरूप मैले भोग्नुपरेको छैन । तर समाजमा देखेको, सुन्दै आएको महिला हिंसाका घटनामाथि घोत्लिएँ । त्यसले मलाई एक खालको पीडा महसुस गराउँथ्यो । त्यही भावलाई आफ्ना चित्रमा अभिव्यक्त गरेकी हुँ ।’

गत शुक्रबार काठमाडौं प्रेसमै प्रकाशित अन्तर्वार्तामा अभियन्ता पल्लवी पायलले भनेकी थिइन्, ‘विषाक्त पुरुषत्व (टक्सिक मस्कुलिनिटी) ले महिलाको स्वतन्त्रतालाई रोक्छ, सुरक्षाको नाममा ।’ 

सुप्रियाका केही चित्रकलाले सोही विषाक्त पुरुषत्वको झल्को दिइरहेको थियो । उनले आफ्ना चित्रलाई विभिन्न शीर्षक दिएकी छन् । एउटा चित्रको शीर्षक अलि लामो छ– ‘विवाहको लाइसेन्स लिएपछि उनका रहर, इच्छा र स्वतन्त्रता, निर्णय अधिकार, शरीर अधिकारजस्ता हिंसा हिंसा हुँदैनन्, ती परम्परा हुन्छन् ।’  विवाहपश्चात् महिला अझ घरेलु हुन पुग्छिन् । उनका रहर, इच्छा, सपना घरपरिवारमै सीमित गरिन्छ ।

कस्तो पहिरन लगाउने, कसरी बोल्ने, कहाँ जान हुने वा नहुने जस्ता उनका निजी रोजाइमा अंकुश लगाइन्छ । सुप्रियाका चित्र ती अंकुश फुकाउने आधार हुन्, जसले महिलालाई  आफू हिंसाको चंगुलमा बाँचेको आभास दिन्छन् र बाहिर आउनका लागि सोच्न बाध्य बनाउँछन् ।  

उनले चित्रमा ‘मुस्कान खातुनमाथिको एसिड प्रहार’सँगै घुम्टो प्रथालाई पनि उठाएकी छन् । घुम्टोले ओठभन्दा माथिको भाग छोपिएको एक चित्रकलालाई उनले यसरी परिभाषित गरेकी छन्, ‘उनको मुहारमा मात्र होइन, उनको बोली, आँखा, कान, मस्तिष्क अनि मनका वृत्तिमा नै घुम्टो लगाइएको छ ।’ घुम्टोभित्र महिलाका चाहना, स्वतन्त्रता छोपिएको उनको यस चित्रले आभास दिन्छ । 

हिंसाको एक प्रकार हो, ‘बडी सेमिङ’ । उनले एक चित्रमा यसलाई गम्भीर रुपमा प्रस्तुत गरेकी छन् । एउटी महिला कुनै सामानको विज्ञापनमा उभिएको वा आफ्ना अंग–आकृति देखाउँदै तस्बिर खिचाएजस्तौ भान दिने एउटा तस्बिरमुनि उनी परिभाषा लेख्छिन्– समर्पण आकारसँग छ, आकार ढल्यो भने अर्को आकारको हतार हुन्छ, समर्पण मनभित्रको जीवन र जीवनभित्रको मनमा हुनुपर्ने हैन र ? 

महिला हिंसाका सन्दर्भमा उनले यति गम्भीर शब्द र चित्र कसरी व्यक्त गरिन् ? उनी भन्छिन्, ‘बाल्यकालमा हजुरआमाका पुस्ताबाट सुन्दै र किशोरावस्थासम्म समाजका घटित घटनालाई नियाल्दै, इन्टरनेट तथा शैक्षिक पाठ्यक्रममा पढ्दै बुझ्दै गर्दा मलाई चित्रकला सबैभन्दा सशक्त माध्यम लाग्यो । त्यसैले यी चित्र कोरेँ । अहिले चलिरहेको महिला हिंसाविरुद्धको १६ दिने अभियानमा मेरो ऐक्यबद्धता छ ।’

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, मंसिर १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्