Kathmandu Press

मिथकीय पात्र लालसी हस्तरलाई पछ्याउँदै जाँदा

आजको मानिस पैसाको पछाडि कुद्न विवश छ– जागिर, पेसा वा व्यवसायका नाममा । अहिले कामदार पैसाका लागि एउटा मालिकसम्म पुग्छ, उता मालिक स्वयं हस्तरझैँ लालसमा फसेको छ । हस्तरसँग सुनका सिक्का छन् तर अन्न छैन, जीवन त अन्नले चल्छ । कथामा शिक्षा लुकेको छ– सुनचाँदी खान मिल्दैन, अन्न फलाउनुपर्छ, त्यसका लागि श्रम गर्नुपर्छ ।
मिथकीय पात्र लालसी हस्तरलाई पछ्याउँदै जाँदा

काठमाडौं, मंसिर १८ : रक्ताम्य देखिने गर्भगृह (मन्दिर), छेउछाउ पनि रगत लतपतिएको भान हुन्छ । विनायक राव (सिनेमाको प्रमुख पात्र) सोही गर्भगृहभित्र छ, जहाँ पूर्तिकी देवी (अन्नपूर्णा)का पुत्र हस्तर खजानासहित आमाको काखमा सुरक्षित बसेको छ । हस्तर एक श्रापित देवता हो । ऊसँग सुनका सिक्का छन्, तर अन्न छैन । त्यसैले ऊ अन्नको भोको छ । उसलाई एक डल्लो अन्नले भुलाएर उसको साथको सिक्का लिन सकिन्छ । यही मिथकीय कथाका आधारमा बलिउड फिल्म ‘तुम्बाड’को कथानक रुमलिएको छ । 

विनायक र उसको छोरो पान्डुरंग गर्भगृहमा पुग्छन् । विनायकले खुट्टादेखि हात–पाखुरासम्मै पिठोका डल्ला बाँधेको छ । उसको चाहना छ, यसपालि लामै समय हस्तरलाई भुलाएर पूरै खजाना लैजाने । यसअघि उनीहरूले एउटा अन्नको डल्लाले हस्तरलाई केहीबेर भुलाएर थोरै सिक्का लैजान्थे । तर, यसपालि अन्नका डल्ला जति नै हस्तरहरू प्रकट भए । 

थुप्रै हस्तरहरू देखेपछि थुप्रै सिक्का पाउने लोभमा हराएको विनायकको होस उड्छ । केही समयअघि लोभको कान्ति फैलिएको उसको मुहारमा एकाएक त्रसित भाव तरंगित हुन्छन् । 

Hardik ivf

एकातिर विनायक र पान्डुरंगको पृष्ठभूमि, अर्कोतिर हस्तरको खजानाको मिथकीय कथा, एकातिर ब्रिटिस उपनिवेशको दुःख, अर्कोतिर आफ्नै भूमिको खजाना निकाल्ने संघर्ष– फिल्मको कथानकले थुप्रै विम्ब बोकेको छ, तर सन्त्रासपूर्ण र रहस्यमयी ढंगले अगाडि बढ्छ ।  

कथाअनुसार, अन्नपूर्णा देवीका ३३ कोटि देवतामध्ये हस्तर पहिलो सन्तान हुन् । हस्तरले देवीको धनमा कब्जा जमाइसकेका हुन्छन् । त्यसपछि उनी अन्नतर्फ बढ्छन् । सोही क्रममा अन्य देवताले उनलाई आक्रमण गर्छन् । हस्तरलाई बचाउँदै देवी अन्नपूर्णाले आफूसँगै राख्छिन् । हस्तरलाई देवीले एक सर्तमा राखेकी हुन्छिन् कि अन्य देवतासरह हस्तरको पूजा हुनेछैन ।

लालसको कथा

अंगे्रजीमा एउटा प्रचलित भनाइ, ‘होप स्प्रिंग्स इटरनल’, अर्थात् मानिसका आशा–आकांक्षा असीमित छन् । खासमा यो भनाइ अलेक्जेन्डर पोपको ‘एन एस्से अन म्यान ः अपिसल’ कविताको एक वाक्यांश हो ।

फिल्म तुम्बाडको कथासार लालस हो । फिल्मको सेटिङ सन् १९१८ को समयमा महाराष्ट्रस्थित तुम्बाड गाउँबाट सुरु भएको छ । जहाँ विनायक राव, उसकी विधवा आमा, भाइ सदाशिव र उसकी एक वृद्ध हजुरआमा बस्छन् । हजुरआमाले मृत्यु (मोक्ष) कुरिरहेकी छन् । एकपटक विनायकको भाइ सदाशिवलाई उपचारका लागि गाउँ बाहिर जानुपर्ने हुन्छ । हजुरआमालाई खाना खुवाउने जिम्मा विनायकको काँधमा आउँछ । उसले आफ्ना पुर्खाले कुनै समय हस्तरलाई पूजा गरेको र खजाना पनि भएको थाहा पाउँछ । 

विनायककी आमा गाउँकै सरकार (मुखिया) कहाँ काम गर्छिन् । उनलाई मुखियासँग भएको सुनका सिक्काको लालस हुन्छ । दोस्रो सन्तानको मृत्युपछि सरकारको घरबाट हस्तरको मूर्तिमा रहेको सुनको सिक्का लिएर छोरा विनायकसहित ‘पुने’ सर्छिन् ।
करिब १४ वर्षपछि विनायक तुम्बाड फर्कन्छ । कारण उसलाई पैसाको आवश्यकता पर्छ । पुख्र्यौली खजानाको जानकारी उसले मोक्ष पाउन नसकेकी हजुरआमाले लिन्छ । सर्तबमोजिम हजुरआमालाई जलाइदिन्छ । कुनै समय लालसाकै कारण हस्तरको आक्रमणबाट उनको अवस्था त्यस्तो भएको हुन्छ । अब विनायक खजानाको खोजीमा हिँड्छ । यसरी उसले परिवारमा रहेको ऋण तिरिसक्छ ।

बिस्तारै विनायक आफैँ साहु महाजन बन्छ । उमेर ढल्दै जान थालेका कारण उसले उक्त सीप आफ्नो छोरालाई सिकाउँछ । बाबुछोरा मिलेर सिक्का ल्याउने गर्छन् । एकपटक उसको छोरोले थैली नै हासिल गर्न उपाय दिन्छ । यसरी उनीहरूको लोभको पराकाष्ठाले निम्त्याएको दुर्घटनालाई चलचित्रले देखाएको छ । 

चलचित्रमा राघव नाम गरेका अर्का महाजन छन् । अंग्रेजको शासन चलिरहेका बेला उनले अंग्रेज सरकारसँग मिलेर अफिमको व्यापार गरिरहेका हुन्छन् । अफिम खरिद गरेबापतको उनले अंग्रेज सरकारलाई भारी रकम तिर्नुपर्ने हुन्छ । उनलाई पनि पैसाको आवश्यकता पर्छ । कुनै समय उनको ऋणमा चुर्लुम्म डुबेको विनायकले एकाएक आफूभन्दा धनी हुँदा उत्सुक हुन्छ । सोही उत्सुकताले उनलाई खजानाको रहस्यसम्म पु¥याउँछ । अनेक प्रपञ्च रचेर उसले हस्तरको खजाना गृहको बाटो भेटाउँछ । यद्यपि, ऊ सफल हुँदैन । हस्तरको आक्रमणका कारण ऊ पनि श्रापित हुन्छ । यसबारे जानकारी पाएका विनायकले उसलाई मोक्षका लागि जलाइदिन्छ । यसरी लोभकै कारण राघवको पनि अन्त्य हुन्छ ।

हस्तरबाट थोरै थोरै सिक्का पाए पनि चलिरहेकै थियो तर पान्डुरंगलाई एकैचोटि धेरै सिक्का लिने लालस पलाउँछ । जबकि हस्तर आफैँ पनि लोभका कारण श्रापित हुन पुगेको थियो । 

सामन्त र पुँजीवादको विम्ब

लोभलालसासँगै चलचित्रलाई पँुजीवादको आँखाबाट पनि हेर्न सकिन्छ । चलचित्रले तीन काल देखाएको छ– भारतमा ब्रिटिस कम्पनी आउनुअघिको सामन्तवादी युग, ब्रिटिस उपनिवेश र स्वतन्त्रता । 

विनायक बालक हुँदा उनीहरूको गाउँ सरकार (गाउँको जमिनदार) को नियन्त्रणमा हुन्छ । १४ वर्षको अन्तरालमा जब उसले खजाना बेच्न थाल्छ, त्यतिबेला ऊ ब्रिटिस उपनिवेशको प्रभावमा हुन्छ । उपनिवेशवादको चित्रण व्यापारी राघवको अफिम व्यापारले प्रस्ट्याउँछ । राघव आफैँ पनि धन कमाउने लोभमा अफिम व्यापारमा संलग्न भएको हुन्छ । 

ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएसँगै भारतमा पुँजीवादको उदय हुन्छ । चलचित्रको कथावस्तु अघि बढ्दै जाँदा यी तीन ‘टाइम लिप’ तीन भिन्न सामाजिक अर्थ व्यवस्थाले आभास गराउँछ । 

हस्तरको कथाले हालको पुँजीवादी समाजको पनि विम्ब बोल्छ । मानिस पैसाको पछाडि कुद्न विवश छ– जागिर, पेसा वा व्यवसायका नाममा । एउटा कामदार मालिकसम्म पुगेको हुन्छ पैसा वा पेटका लागि, उता मालिक स्वयं हस्तरझैँ लालसमा फसेको छ । हस्तरसँग सुनका सिक्का छन् तर अन्न छैन, जीवन त अन्नले चल्छ । कथामा शिक्षा लुकेको छ– सुनचाँदी खान मिल्दैन, अन्न फलाउनुपर्छ, त्यसका लागि श्रम गर्नुपर्छ ।

सन् २०१८ मा बनेको चलचित्र तुम्बाडका निर्देशन राहुल अनिल बार्भे हुन्, सहायक निर्देशन आदेश प्रसाद र आनन्द गान्धी (क्रियटिभ डाइरेक्टर)ले गरेका हुन् । चलचित्र हरेक तबरले उत्कृष्ट छ । ६४ औं फिल्मफियरमा यस चलचित्र आठ विधामा मनोनयनमा परेको थियो । जसमध्ये बेस्ट सिनेमेट्रोग्राफी, बेस्ट आर्ट डाइरेक्सन र बेस्ट साउन्ड डिजाइनको उपाधि जित्न सफल भएको थियो ।
 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, मंसिर १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्