Kathmandu Press

बहुविभेद र हिंसामा छन् अपांगता भएका महिला

अपांगता भएका महिला यौनजन्य, शारीरिक, मानसिक, भावनात्मक, आर्थिक तथा सामाजिक-सांस्कृतिक हिंसामा पर्ने गरेका छन्। उनीहरू आफूमाथि भएको हिंसाबिरुद्ध बोल्न सक्दैनन्, आफ्नो बचाउका लागि प्रतिरोध गर्न सक्दैनन्, पीडकलाई चिन्न र प्रमाण जुटाउन सक्दैनन् भन्ने मनसायले अपांगता भएका महिलामाथि हिंसात्मक क्रियाकलाप भएको पाइन्छ।
बहुविभेद र हिंसामा छन् अपांगता भएका महिला

काठमाडौं, मंसिर १७ : १३ वर्षकी दृष्टिविहीन किशोरी होस्टेल बसेर अध्ययन गर्थिन्। उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई नेत्रहीन विद्यार्थी बस्ने काठमाडौंको एक छात्रावासमा राखिएको थियो। सोही छात्रावासमा अध्यापन गर्ने एक दृष्टिविहीन शिक्षकले उनलाई १३ वर्षको कलिलो उमेरदेखि नै यौन शोषण गरे। किशोरीलाई शिक्षकले गरेको व्यवहार के हो भन्ने जानकारी थिएन। त्यो व्यवहार गलत हो भन्ने लागे पनि उनले कसैलाई भन्न सकिनन्।

ती शिक्षकले विभिन्न लोभ र धम्की दिएर तीन वर्षसम्म यौन हिंसा गरिरहे। जब उनी १६ वर्ष पुगिन्, उनले आफ्नी साथीलाई शिक्षकले गरेको यौनहिंसाका बारेमा कुरा गरिन्। यसरी यौन हिंसाबाहिर आएपछि ती शिक्षकमाथि कारबाही भयो। 

यो त दोषीमाथि सजाय भएको समाचार हो। अपांगता भएका महिलाले समाजमा के कस्ता प्रकृतिका हिंसा भोगेका होलान् रु यसको कुनै लेखाजोखा छैन।

Hardik ivf

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा विविध अपागंता भएका महिलाको समस्या केन्द्रमा राखेर बहस हुन आवश्यक रहेको नेत्रहीन महिला संघकी अध्यक्ष सीता सुवेदी बताउँछिन्। उनका अनुसार, समग्र महिलामाथि हुने हिंसालाई नियाल्दा अपांगता भएका महिलाले अन्य महिलाभन्दा दोहोरो तरिकाले हिंसाको सिकार हुुनुुपर्ने बाध्यता छ। 

‘अपांगता भएका महिलामध्ये बौद्धिक अपांगता र दृष्टिविहीन महिलामाथि हिंसात्मक घटना बढी भएको पाइन्छ,’ सुुवेदी भन्छिन्, ‘बौद्धिक अपांगता भएका महिलाले आफूमाथि भएको घटना लामो समयसम्म सम्झन सक्दैनन्। घटनाका सम्बन्धमा खुलेर बोल्न सक्दैनन्। दृष्टिविहीन महिलाले आफूमाथि हिंसा गर्ने व्यक्ति यकिन गर्न सक्दिनन्। त्यसैले सहजै उम्कन सकिन्छ भनेर अपांगता भएका महिलामाथि पीडकले हिंसा गर्छन्।’ 

अभियन्ता निर्मला धिताल अपांगता भएका महिला बहुुविभेदमा पर्ने गरेको बताउँछिन्। समग्र रूपमा हेर्दा महिलाहरू सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका छन्। ‘त्यसमध्ये अपांगता भएका महिला यौनजन्य, शारीरिक, मानसिक, भावनात्मक, आर्थिक तथा सामाजिक–सांस्कृतिक हिंसामा पर्ने गरेका छन्,’ अपांगता क्षेत्रमा लामो समय काम गरेकी धिताल भन्छिन्, ‘उनीहरू आफूमाथि भएको हिंसाबिरुद्ध बोल्न सक्दैनन्, आफ्नो बचाउका लागि प्रतिरोध गर्न सक्दैनन्। पीडकलाई चिन्न र प्रमाण जुटाउन सक्दैनन् भन्ने मनसायले अपांगता भएका महिलामाथि हिंसात्मक क्रियाकलाप भएको पाइन्छ।’

अपागंताका क्षेत्रमा काम गर्दै आएकी शिल्पा ढुुंगेल, जो आफैँ एक दृष्टिविहीन हुन्, उनको अनुभवमा अपांगता भएका महिलाले मानसिक हिंसा बढी भोग्नुपर्छ। ‘हिंसा भन्नासाथ शारीरिक भन्ने मात्र बुुझ्नुु गलत हो,’ उनी भन्छिन्, ‘घाउचोट लागे मात्र हिंसा हुने, नभए नहुने भन्ने होइन। मानसिक रूपमा भएको हिंसा देखिँदैन, जो झनै पीडादायी छ। जो घर–परिवार, समाज सबैतिर छ।’

आफूले काम गर्ने क्रममा कतिपय क्षेत्रमा अपागंता भएका महिलालाई ‘सहभागी वा समावेशी गराउनका लागि मात्रै गराइएको’ पाएको उनको अनुभव छ। 

विभिन्न संघ–संस्थामा जागिरको आह्वान गर्दा अपागंता भएका व्यक्तिलाई समावेश गर्ने भनिए पनि पूर्ण रूपमा समावेश नगरिएको नेत्रहीन महिला संघकी अध्यक्ष सुवेदी बताउँछिन्। ‘आवेदन आह्वान गरे पनि अन्तर्वार्ताका क्रममा सक्नुहुुन्न भनी हतोत्साहित गरिन्छ,’ उनले भनिन्, ‘आह्वानका लागि आह्वान गरिन्छ, प्रोत्साहन गर्ने परिपाटी कम छ।’ अपांगता भएका महिला कमजोर हुन्छन् भन्ने मान्यता तोड्न जरुरी रहेको उनी बताउँछिन्। ‘अपागंता भएकालाई दयाको पात्र ठानिने र उसको खुुबीलाई ओझेलमा पार्ने गरिन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सक्ने र योग्यता भएकाहरूलाई अधिकारकै रूपमा अवसर दिइनुपर्छ, दयाको रूपमा होइन।’ 

परनिर्भरता 

अभियान्ता निर्मला धितालका अनुसार, अपांगता भएका महिलामाथि हिंसा हुनुको प्रमुख कारणमध्य परनिर्भरता पनि एक हो। आर्य–आर्जनको निश्चित स्रोत नहुँदा, सीपमूलक तालिम र रोजगारीको अवसर नहुँदा अधिकांश अपांगता भएका महिला हिंसाको सिकार हुन बाध्य रहेको उनी बताउँछिन्। ‘अपागंता भएका महिलाको आर्थिक सबलीकरण आवश्यक छ,’ उनी भन्छिन्, ‘आयस्रोत नभई परनिर्भर हुन पुग्दा नै विभिन्न किसिमका हिंसा सहनुपरेको हो।’ 

अर्की अभियन्ता शिल्पा ढुंगेल सीप सिकेर आफ्नो आवश्यकता परिपूर्ति गर्न सक्ने अपांगता भएका महिलाका सम्बन्धमा राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँछिन्। ‘खान–लाउन नपाइने, घरबाट निकालिनुुपर्ने, एक्लिनुपर्छ कि भन्ने डरले पनि कतिपयले परिवारले गरेको हिंसाका विरुद्ध आवाज उठाउन सक्दैनन्,’ उनले भनिन्, ‘सामाजिक प्रतिष्ठा, परिवारको इज्जत र डरका कारण पनि कतिले विविध हिंसात्मक गतिविधि सहेर बसेका छन्।’ 

हिंसा के हो ?

विविध अपांगता भएका महिलामध्ये बौद्धिक अपांगता भएका, दृष्टिविहीन, कान सुन्न र बोल्न नसक्ने अधिकांश महिलालाई हिंसाको बारेमा जानकारी नहुने अध्यक्ष सीता सुुवेदी बताउँछिन्। ‘उनीहरूलाई आफूमाथि परिवार वा अन्य व्यक्तिले गरेको हिंसाका बारेमा सामान्य जानकारी समेत हुँदैन,’ उनी भन्छिन्, ‘जो महिला आफूलाई के भइरहेको छ भनेर बुुझ्दैनन्, उनीहरूले हिंसाको प्रतिकार कसरी गर्लान् ? हिंसाबाट कसरी बच्न सक्लान् ?’

हिंसाका बारेमा जानकारी नभएकाले पनि धेरैले हिंसा सहन बाध्य रहेको उनी बताउँछिन्। अध्यक्ष सुवेदीका अनुसार, हिंसा सहिरहेकाहरूलाई ‘घर वा आफू बसेको ठाउँमा कसैले तपाईंको कपाल भुुत्ल्याउँछन् ? कुट्छन् ? के के गर्छन् वा भन्छन् भनेर सोध्नुपर्छ’ भनेर सोध्नुपर्छ। 

कुटपिट गर्नु मात्रै होइन, परिवारले नागरिकता नबनाइदिनुु, अविवाहित अपांगता भएका महिलालाई परिवार नियोजन गराइदिनुु, घर–गाउँ समाजको कार्यक्रममा सहभागी नगराउनुु, अपांगता हुुनुु लाज र घिनको विषय हो भनी व्यवहार गर्नु पनि हिंसा भएको उनी बताउँछिन्। ‘केही गरी यौन हिंसामा परे पनि बच्चा बस्ने समस्या नहोस् भनी पाठेघर नै फालिदिने, तीनमहिने सुुई लगाइदिने, औषधि खुवाउने जस्ता अमानविय क्रियाकलाप समेत गरेको पाइयो,’ उनले भनिन्, ‘तर, यस विषयमा स्वयं हिंसामा परेका अपांगता भएका महिलालाई नै जानकारी हुँदैन।’ त्यसैले अपांगता भएका व्यक्ति, उसको परिवार र समाजलाई नै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनी बताउँछिन्। 

अभियन्ता धितालका अनुसार, अपांगता भएका महिलालाई समाज र राज्यले अनागरिकको व्यवहार गरिरहेको छ। यसलाई हटाउन ‘हिंसा भनेको के हो ? कस्तो व्यवहार विभेद हो, कसरी आफू हिंसामा परेको थाह पाउने आदिबारे बुझाउनुपर्ने बताउँछिन्। ‘सचेतनाको तालिम विद्यालय स्तरबाटै सुरु गर्नुपर्छ,’ उनी भन्छिन्, ‘सञ्चार माध्यम प्रयोग गरेर पनि यस्ता सचेतनाका कार्यक्रम ल्याउन सकिन्छ। दुुर्गम क्षेत्रका अपागंता भएका महिलालाई अहिले चलिरहेको १६ दिने अभियान के हो भन्ने थाहा छैन। त्यसैले यस्ता कार्यक्रमलाई निरन्तर रूपमा व्यापक बनाइनुपर्छ।’

पुनःस्थापना केन्द्र आवश्यक

अपागंता भएका महिलालाई हिंसा वा हिंसाको जोखिमबाट बचाउन सर्वप्रथम परिवार नै जिम्मेवार हुनुपर्ने अभियन्ता धिताल बताउँछिन्। ‘बालबालिकाको पहिलो सिकाइ भनेको परिवार हो, हिंसाका बारेमा परिवारलाई बुुझाउन सके हिंसा कम हुन्छ र अपागंता भएकाहरूले अधिकार लिने अवस्था रहन्छ,’ उनी भन्छिन्, ‘परिवारले बुुझेपछि मात्र अपागंता भएकालाई सामाजिक क्रियाकलापमा सहभागी बनाउने बाटो खुल्छ। यसमा राज्यले नै नीति–नियम तथा कार्यक्रम बनाएर सम्बोधन गर्नुपर्छ।’ 

अपागंता भएका महिला तथा बालिका, जो हिंसामा छन्, उनीहरूका लागि पुनस्र्थापना केन्द्रको स्थापना गर्नुपर्ने धिताल बताउँछिन्। ‘कम्तीमा तीन वर्षसम्म पुनस्र्थापना केन्द्रमा बस्ने व्यवस्था मिलाउनुुपर्छ,’ उनी भन्छिन्, ‘त्यहाँ विभिन्न सीपमूलक तालिमको व्यवस्था हुनुपर्छ।’ 

उनका अनुसार, एकपटक हिंसामा परेका अपागंता भएका महिला तथा बालबालिका मानसिक रूपमा निकै कमजोर हुने भएकाले मानसिक रूपमा बलियो बनाउनका लागि प्रेरित गरिनुपर्छ। 

कानुनी उपचार

अपांगता भएका महिलाले आफूमाथि भएको यौनजन्य, शारीरिक र मानसिक हिंसाका बारेमा कानुनी उपचार खोज्दा सम्बन्धित निकायका व्यक्तिहरू अपांगमैत्री नभएको पाइएको अभियन्ता धिताल बताउँछिन्। अपागंता भएका महिलाले केस दर्ता गर्दा, सोउपर कानुनी कारबाहीको माग गर्दा हेप्ने, हेलाहोँचो गर्ने, अव्यावहारिक रूपमा प्रस्तुत हुने, हिंसामा परेका महिलाका कुरा नमान्ने, उल्टो गाली गर्ने गरेको उनले बताइन्।

‘अपागंमैत्री भाषाको प्रयोग नगर्ने, अपागंताका हक–अधिकारका विषयमा संवेदनशील नहुने, जो कमजोर वर्ग छ, उसैलाई उल्टै हतोत्साहित गर्ने, मुद्दा नै होइन भनी हल्का रूपमा लिने गरेको पाइयो,’ उनी भन्छिन्, ‘यो प्रवृत्तिको अन्त्य नभएसम्म अपागंता भएका महिलाले न्याय पाउन सक्दैनन्।’

अपांगता भएका व्यक्तिका मुद्दा सरकारले निःशुुल्क हेरे पनि जिम्मेवारीका साथ नहेर्ने गरेको उनी बताउँछिन्। ‘प्रमाण भए पनि सोही अनुरूप छानबिन, अनुुसन्धान हुँदैन,’ उनी भन्छिन्, ‘व्यक्ति वा संघ–संस्थाले निजी वकिल लगाउन नसके केस हा¥यो भने पनि हुन्छ।’ 

विशेषतः यौनहिंसाका बारेमा यथार्थ बोलीलाई प्रमाणको रूपमा लिनुपर्ने र व्यावहारिक रूपमा फास्ट ट्र्याकबाट मुद्दा अगाडि बढाइनुपर्ने उनी बताउँछिन्। ‘कतिपय अपागंता भएका व्यक्तिले भनेका कुरा नबुुझिने समस्या हुन्छ, त्यसैले दोभाषे अनिवार्य रूपमा उपस्थित गराउनुुपर्छ,’ उनी भन्छिन्, ‘त्यस्तै, अपांगता भएका व्यक्तिको भौतिक सुुविधाहरूमा पनि सचेत हुनुपर्छ। उनीहरूलाई अप्ठेरो पारिनुहुँदैन।’ 

राष्ट्रिय अपांग महासंघका अनुसार, अहिलेसम्म बलात्कार तथा बलात्कार प्रयास, घरेलु हिंसा तथा अवहेलना, रोजगारीमा विभेद, कुटपिट, एसिड खुवाइएको लगायतका विभिन्न एक सय १५ वटा घटना बाहिर आएका छन्।

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, मंसिर १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्