‘कांग्रेसको माथिल्लो तहमा पाका नेता छन्, युवा आएनन् भन्नु अव्यावहारिक छ’
केन्द्रीय कार्यसमितिमा पाका नेता मात्रै भए भन्नु अलि अव्यावहारिक छ। १८ वर्षमा कांग्रेस सदस्य हुन पाउने, अनि केन्द्रीय कार्यसमितिमा २२–२५ वर्षका युवा खोजिरहेका छौँ। महाधिवेशनमार्फत कांग्रेसका सातवटा तह पार गरेर माथि आउन ३५ वर्ष लाग्छ। १८ र ३५ ले व्यक्ति ५३ वर्ष पुग्छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा स्पष्टवक्ता, निर्भीक र कानुनविद्का रूपमा चिनिन्छन्। केहीअघि पार्टीलाई समावेशी बनाउने सर्तसहित उनले दलित संघ र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। उनको सर्तलाई पार्टीले सम्बोधन पनि गरेको छ। यतिखेर कांग्रेसको १४औँ महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ। यसै सेरोफेरोमा रहेर विश्वकर्मासँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ता :
पार्टीलाई समावेशी बनाउन यहाँले दलित संघ र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो, त्यसको लगत्तै पार्टीले निर्वाचन निर्देशिका र नियमावली तत्काल सच्चायो, अब कांग्रेसको मूल नेतृत्वमा दलित लगायत समावेशी हुने अवस्था के छ ?
पार्टीलाई समावेशी बनाउने र पार्टीमार्फत बन्ने सरकारलाई समावेशी बनाउँदै मुलुकलाई समावेशी बनाउने लक्ष्य नेपाली कांग्रेस र विशेषगरी वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको हो। सोही अनुसार हामीले १३औं महाधिवेशनबाट पारित भएको विधानलाई संघीय संरचनामा लैजाने क्रममा सबै क्षेत्रबाट सहमहामन्त्री हुने व्यवस्था गर्यौँ। पार्टी समावेशी हुने गरी अन्य थुप्रै व्यवस्था गर्यौँ। तर, विधानमा भएको व्यवस्थालाई व्याख्या गर्दै लेखिने नियमावलीमा र सोही अनुसार बनाइने निर्वाचन निर्देशिकामा संविधान र विधानको भावना अनुरूप निर्वाचन नियमावली वा निर्देशिका नबनेका कारणले मैले पटक-पटक पार्टी नेतृत्वलाई सचेत गराएँ। पार्टी नेतृत्वले हुन्छ, गर्छु, गर्नुपर्छ भन्नुभयो सहमति जनाउनुभयो। सोही निर्वाचन निर्देशिका मस्यौदा गर्ने कार्यदल र निर्वाचन समितिले भने त्यो काम गरेन। यसले केही समस्या देखापर्यो र मैले सबै भ्रातृ संस्थामा बैठक बसालेँ। सबै कलस्टरका नेताहरुसँग संवाद गरे। स्वयं सभापति र पदाधिकारीसँग पनि हामीले पटक-पटक गएर पहल गर्यौँ। सबैले ‘हुन्छ’ भन्नुभयो। तर, केन्द्रीय कार्यसमितिबाट कार्यनिर्देशिका पारित गर्ने बेला त्यो उल्लेख भएन। मैले गुनासो राखेर सोही सर्त राजीनामा लेखेँ। राजीनामामा मैले उल्लेख गरेको थिएँ ‘संविधान र विधान बमोजिम निर्देशिका नभएकाले’ भनेर, मेरो राजीनामाको सर्तमा २४ घन्टाभित्रै सम्बोधन भयो।
सम्बोधन भइसकेपछि वडा, गाउँ, नगर, संसदीय क्षेत्र, प्रदेश क्षेत्र, जिल्ला कार्य समिति, केन्द्रीय कार्यसमिति सबै ठाउँमा दलितको न्यूनतम सहभागिता सुनिश्चित गरिएको छ। जहाँ जनसंख्या राम्रो छ, त्यहाँ जनसंख्याको अनुपातमै सहभागिता छ। जहाँ जनसंख्या १० प्रतिशतभन्दा कम छ, त्यहाँबाट न्यूनतम सहभागिता सुनिश्चित गरेका छौँ। न्यूनतम भनेको जहाँ जनसंख्या १० प्रतिशतभन्दा कम छ, त्यहाँ एक प्रतिनिधि अनिवार्य गर्ने र कार्यसमितिमा एकजना राख्ने तर जहाँ जनसंख्या १० प्रतिशतभन्दा बढी छ, त्यहाँ एक महिला, एकजना पुरुष राख्ने। जहाँ २० प्रतिशतभन्दा बढी जनसंख्या छ, त्यहाँबाट तीनजना आउँछन्। जहाँ २५ देखि ३० प्रतिशत जनसंख्या छ, त्यहाँ दुई महिला र दुई पुरुष गरेर प्रतिनिधित्व भइरहेको छ। त्यस्तै, १-२ प्रतिशत मात्र दलित समुदायको जनसंख्या भएको ठाउँमा पनि एक प्रतिनिधि आएका छन्। यसलाई राम्रै अवस्था मान्नुपर्छ।
यसपालि तल्लो तहमा युवा आएका छन्, तर माथिल्लो नेतृत्वमा सधैं पाका देखिन्छन्, के माथिल्लो तहमा पनि केही परिवर्तन आउला ?
परिवर्तन आउँछ। यसपालि मात्र होइन, नेपाली कांग्रेसको १२औं महाधिवेशनदेखि नै ४० वर्षमुनिका केन्द्रीय सदस्य छन्। त्यो बेला १५ प्रतिशत थिए। १३औँ महाधिवेशनमा ४० वर्षमुनिका केन्द्रीय सदस्य २० प्रतिशत पुगे।
कांग्रेसमा वडा कमिटीदेखि केन्द्रसम्म सातवटा तह छ– वडा कार्यसमिति, गाउँ नगरकार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय संसद् निर्वाचन क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति छन्।
यो अवस्थामा केन्द्रीय कार्यसमितिमा पाका नेता मात्रै भए भन्ने जुन कुरा छ, यसमा हाम्रो अपेक्षा अलि अव्यावहारिक देखिन्छ, कसरी भने १८ वर्षमा कांग्रेस सदस्य हुन पाउने, अनि केन्द्रीय कार्यसमितिमा २२-२५ वर्षको युवा खोजिरहेका छौँ, यो एकदमै गलत भइरहेको छ। उहाँहरू १८ वर्षमा पार्टी प्रवेश गरेर सिक्नुहुन्छ, बुझ्नुहुन्छ, जिम्मेवारी लिनुहुन्छ, अनि त्यसपछि वडा गाउँनगरमा जानुहुन्छ। पाँच–पाँच वर्षमा अधिवेशन हुँदा सातवटा तह पार गरेर माथि आउन ३५ वर्ष लाग्छ, यो पनि लगातार प्रमोसन हुँदा। अब १८ र ३५ वर्ष जोड्दा व्यक्तिको उमेर ५३ वर्ष पुग्छ। ५३-५५ वर्षमा जो कोही पनि केन्द्रीय कार्य समितिमा पुग्ने व्यवस्था नेपाली कांग्रेसमा छ। अब यसरी पुगेकामध्येबाट पदाधिकारी र सभापति छानिने हो। कांग्रेस ठूलो पार्टी भएकाले आकांक्षी धेरै हुन्छन्। पार्टी सभापति हुन अनुभवप्राप्त, जिम्मेवारी बोध भएको, राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय, स्वीकार्य व्यक्ति हुनुपर्छ। त्यसैले यसमा उमेर, भूगोल, जात, क्षेत्र खोजेर मिल्दैन। यसर्थ पाका मानिस आए भन्नु अव्यावहारिक छ।
जहाँसम्म केन्द्रीय कार्यसमितिको कुरा छ, त्यहाँ यसपालि ४० वर्षमुनिका २५ प्रतिशत आउँछन्। ४०-५० वर्षको उमेर समूहबाट २५ प्रतिशत नै आउँछन्। यसरी यसपालि ५० वर्षमुनिका ५० प्रतिशत नै केन्द्रीय कार्यसमितिमा सहभागिता रहन्छ।
अहिलेको युग विज्ञान र प्रविधिको युग हो। अहिले मानिसले छिटै सूचना, शिक्षा, ज्ञान, सीप हासिल गर्न सक्छन्। सोही अनुसार क्षमता प्रदर्शन गरेर नेतृत्वमा पुग्न सकिन्छ, अब विगतमा जस्तो उमेर पर्खिनुपर्दैन।
संघ, प्रदेश र स्थानीय तीनै तहको चुनाव महँगा बनेका छन्, दलितले पैसा खर्चेर चुनाव जित्ने लड्ने अवस्था कमै छ, यो अवस्था सुधारका लागि कांग्रेसले केही गर्दै छ कि ?
यस्तो चाहिँ राष्ट्रिय, अन्तर्राष्ट्रिय लहर नै रहेछ। कुनै एक जनाले पैसा खर्च गरेर चुनाव लड्छ, पैसा देखेपछि महादेवको त तीन नेत्र खुल्छ भन्छन्। पहिलाको जमानामा मानिस विचारको लागि मर्न तयार हुन्थे। अहिले मानिस पैसाका लागि मर्न तयार हुन्छन्। पैसालाई मानिस चुनाव जित्ने हतियारका रूपमा प्रयोग गर्न थाले।
आजभन्दा ३०-४० वर्षअगाडि भारतको बिहारतिरको चुनाव हेर्ने हो भने बन्दुक देखाएर जित्थे। गनले चुनाव जित्थ्यो, अहिले धनले चुनाव जित्न थालेका छन्।
यसकारण पछाडि परेका मानिस नेतृत्वमा आउनका लागि निकै चुनौतीपूर्ण छ। तर, एउटा बाटो छ, लोकप्रिय हुने। चुनावमा बढी पैसा खर्च गर्ने कम लोकप्रिय छन्। त्यसैले खर्च गर्न नसक्ने बढी लोकप्रिय हुनुपर्यो। लोकप्रिय भएमा बिनापैसा चुनाव जित्न सकिन्छ, वा लोकप्रिय भएपछि खर्च अरुले हालिदिने अवस्था आउँछ।
मानिसहरू वैज्ञानिक समाजवादको कुरा गर्दै छन्, दलित लगायत उत्पीडितको हकहितका लागि कांग्रेससँग के कस्ता नीति तथा योजना छन् ?
वैज्ञानिक समाजवाद, आधुनिक समाजवाद भनेको पार्टीको नाम राखेजस्तै हो। एउटाले राजेश इन्टरप्राइजेज भनेर पसल खोल्छ। कर नतिरेर बन्द हुन्छ, फेरि उसले न्यु राजेश भनेर अर्को नाम खोेज्छ। कम्युनिस्ट पार्टीहरूमा संसारभरि नै पार्टी फुट्दाफुट्दा नाम राख्न नपाएर समाजवादभित्र पनि वैज्ञानिक समाजवाद भन्न थालिएको छ। यस्ता कुरा आफ्नै ठाउँमा छन्।
समाजवाद भनेको आर्थिक न्याय हो। आर्थिक न्यायसहितको व्यवस्था लागू गर्नका लागि हामी समाजवादी व्यवस्था मन पराएका हौँ। नेपालमा पहिलोपल्ट समाजवादी अर्थ–व्यवस्था ल्याउने नेपाली कांग्रेस नै हो, जसलाई प्रजातान्त्रिक समाजवाद भन्यौँ।
संविधानमा पनि समाजवाद उन्मुख लेखिएको छ। यो भनेको जनतालाई आर्थिक न्याय दिलाउँछौँ भनेको हो। जसको अर्थ जनतालाई शोषण गर्दैनौँ, आर्थिक अवसरबाट वञ्चित गर्दैनौँ भन्ने हो। त्यो व्यवस्था लागू गराउन हामी लागिपरिरहेका छौँ। यो जादुको छडी होइन, एकैपल्ट हुन। नीति–कार्यक्रम लागू गर्दै जाने हो। उदाहरणका लागि, बेरोजगार कतिले बाख्रापालन गर्दा वर्षको करोड कमाउन थाले, कतिले घर–जग्गा बेचेर भएको सम्पत्ति पनि सकाए। त्यसैले अभ्यास गर्ने हो
सबैभन्दा जेठो पार्टी नै यही हो। हामीले न्याय, समानता र स्वतन्त्रताको जगमा उभिएर जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक विभेदरहित मानव अधिकारको प्रत्याभूति गर्ने हो। त्यो प्रत्याभूति गर्नुका लागि हामीसँग पाँचवटा मुख्य पिल्लर छन्- शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र रोजगार ।
‘मर्यादित जीवनका पाँच अधिकार नेपाली कांग्रेसको सरोकार’ भनी हामीले बिपीको समाजवादी व्यवस्थाको आधुनिक व्याख्या गरेका छौँ। बिपीले त्यो बेला ‘हरेक घरमा एक दुहुनो गाई होस्, दुई बिघा खेती होस्, एक हल गोरू होस्, औषधि उपचार गर्न नजिकै अस्पताल होस्, परिवारको एउटा सदस्य रोजगार होस्’ भन्नुभएको थियो। त्यो बेला शिक्षा थिएन, त्यसैले बिपीले समाजवादको व्याख्या त्यसरी गर्नुभयो। अहिले त्यही समाजवादको व्याख्यामा हामीले ‘शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा, रोजगार’ भनेका हौँ।
तपाईंको विचारमा सैद्धान्तिक रूपमा कांग्रेस सच्चिनुपर्छ कि ?
बिग्रेकाले हो सच्चिने हो। नबिग्रिसकेकाहरू परिमार्जित हुने हो। परिमार्जन हुँदै जान्छौं। पार्टीको जीवन पनि परिवर्तनशील छ। पार्टीको सुरुवात हुँदा जे गर्छु भनिएको हुन्छ, त्यही गर्न पार्टीले कार्यक्रम बदल्छ, कहिले नीति। तर, सिद्धान्त बदल्दैन।
कांग्रेसले सिद्धान्त बदल्दैन। त्यो सिद्धान्त पूरा गर्न नीति, कार्यक्रम र रणनीति भने पटक–पटक बदल्छ। यसपटकको १४औँ महाधिवेशनमा नीति र कार्यक्रममा छलफल गर्न नभ्याउने भएकाले यस महाधिवेशनमा नेतृत्व मात्रै चयन गर्छौं। नेतृत्व चयन हुनेबित्तिकै त्यसको एक वर्षभित्र नीति महाधिवेशन गर्छौं।
यो महाधिवेशनमा दलित समुदायको प्रतिनिधित्वको अवस्था के छ ?
यसपालि अलि बढाउन खोजेका थियौँ। तर, पुनर्संरचना गरिसकेर संवैधानिक व्यवस्था अनुसार विगतको भन्दा केही प्रतिशत घट्ने अवस्था छ। संख्यामा बढ्यो तर प्रतिशतको रूपमा घट्न गएको छ। यसलाई प्राविधिक कारण भनेका छौं। महाधिवेशनमा पुगेपछि यसलाई संशोधन गर्छौं।
विगतमा कांग्रेसमा सबै तहमा दलितको ८ देखि १० प्रतिशत सहभागिता थियो। यसपटक ६ देखि ८ प्रतिशत हुँदैछ। प्राविधिक हिसाबले घट्यो। घटाउन खोजेको भने होइन।
अन्तमा, महाधिवेशन र आफ्नो उम्मेदवारीका सम्बन्धमा केही भन्नुहुन्छ कि ?
नेपाली कंग्रेसको १४औँ महाधिवेशनमा हार्दिकतासाथ, उत्सव र उत्साहका सम्पन्न गरौँ भन्ने आह्वान र अनुरोध छ। यसपालि पार्टीको अनुभवी नेतृत्वलाई विजयी गराउँ। मैले आफूलाई सहमहामन्त्रीमा उम्मेदवारी दिनेछु, मलाई सहयोग गर्न अपिल गर्छु।