कांग्रेसको अबको बाटो के ?
देशको समृद्धि र विकास प्रजातान्त्रिक समाजवादले गर्छ । जुन कांग्रेसको मुख्य ध्येय हो । कांग्रेसले सोही बाटो पहिल्याएर हिँडिरहेको छ । १४औँ महाधिवेशनको एजेन्डामा राष्ट्रियता, लोकतन्त्र समाजवाद, धर्मनिरपेक्षता लगायत थुप्रै विषय छन्, जसलाई कांग्रेसले आत्मसात गरेको छ ।काठमाडाैं, मंसिर ९ : महाधिवेशन हाम्रा लागि महायज्ञजस्तै हो । हामीले गत पाँच वर्षको अवधिमा के कति काम गर्यौँ, त्यसबारे छलफल तथा विश्लेषण साबिकका महाधिवेशनमा जस्तै गर्नेछौँ । गत पाँच वर्षमा नेतृत्वमा रहेका पदाधिकारी तथा पार्टी स्वयंले गरेका कामको मूल्यांकन मन्थन गर्ने एउटा प्लेटफर्म पनि हो, महाधिवेशन।
यसका साथै आगामी पाँच वर्षका लागि पनि नेतृत्व छान्नु महाधिवेशनको अर्को महत्त्वपूर्ण प्रक्रिया हो । नेतृत्व चयनसँगै पार्टीमा आवश्यक विधानको संशोधन तथा परिमार्जनका विषय पनि उठ्नेछन् । यसै कारण पनि महाधिवेशन हाम्रा लागि ऊर्जा हो, तागत हो, जसले पार्टीलाई नयाँ दिशामा डोर्याउनेछ।
भर्खरै प्रकाशित मेरो पुस्तक ‘कांग्रेसको अबको बाटो’मा मैले आउँदो १४औँ महाधिवेशनको एजेन्डाका बारेमा उल्लेख गरेकी छु । कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो । जसकारण यो पार्टी विधि र विधानको बाटोमा हिँड्नुपर्यो र हिँडिरहेको पनि छ।
देशको समृद्धि र विकास प्रजातान्त्रिक समाजवादले गर्छ । जुन कांग्रेसको मुख्य ध्येय हो । १४औँ महाधिवेशनको एजेन्डामा राष्ट्रियता, लोकतन्त्र समाजवाद, धर्मनिरपेक्षता लगायत थुप्रै विषय छन्, जसलाई नेपाली कांग्रेसले आत्मसात गरेको छ।
पुस्तकमा मैले विधि, विधान र पद्धतिबारेका विषय उठान गरेकी छु । आगामी अधिवेशनले पार्र्टीभित्रका विधि, विधान, पद्धति, प्रणालीलाई कार्यान्वयन गर्दै लैजाउनुपर्नेमा जोड दिइएको छ । यो नै नेपाली कांग्रेसको संगठनभित्रको तागत हो, जसलाई बचाएर राख्नुपर्छ।
समावेशी
नेपाली कांग्रेसले सधैँ समावेशितामा जोड दिँदै आएको छ । त्यसो त हाम्रो विधान नै समावेशी छ । सबै वर्ग, तह र सत्ताको प्रतिनिधित्व मात्र नभई नेतृत्व पनि चाहियो भन्ने हाम्रो भनाइ हो । पार्र्टीभित्रै समावेशी लोकतन्त्रको अभ्यास हामी गरिरहेका छौं । कांग्रेस समावेशी पार्टी हुनाले यसले सबै जातजाति वर्ग, संघ-सस्थासँगको मुद्दालाई उत्तिकै प्राथमिकताका साथ लिएको छ।
कांग्रेसको अबको बाटो के हुने भन्ने सन्दर्भमा हरेक पक्षको समालोचनात्मक विश्लेषण मेरो पुस्तकमा छ । यो बाटो जानुहुन्थ्यो वा हुन्थेन, हामी कहाँ चुक्यौँ जस्ता सूक्ष्म पक्षलाई मैले पुस्तकमा विश्लेषणात्मक रूपमा उल्लेख गरेकी छु।
अहिले मूल नेतृत्वमा युवा पुस्ता अटाएन भन्ने गुनासा आइरहेका छन् । यद्यपि जिल्ला जिल्लाबाट युवा पुस्ताको सहभागिता छ नै । बाहिरी सतहमा मात्र नदेखिएको हो । कांग्रेस नेतृत्वमा सधैँ बूढापाकाको मात्र रजाइँ छ भन्ने आरोप जुन छ, यसमा सधैँका लागि पूर्णविराम लाग्नेमा म आशावादी छु । अबको समय रूपान्तरणको समय हो । हामी नयाँ पुस्तालाई फ्रन्टलाइनमा ल्याउने पक्षमा छौँं।
हाल नीतिभन्दा नेतृत्व महत्त्वपूर्ण छ । पार्र्टीका कार्यकर्ता लागिरहेका छन् । जसको नेतृत्व आउँछ, त्यस्तै अनुसार विधान तथा नीतिसभा फेरि हुनेछ।
पछिल्लो समय महिलालाई राजनीतिमा लाग्न त्यति असहज छैन, गाह्रो छ भन्ने खालका भाष्य बनेका छन् । केही असहजता, संघर्ष राजनीतिमा मात्र हरेक क्षेत्रमा हुन्छन्।
मेहनत अनि संघर्षका साथ अघि बढ्न सक्नुपर्छ । महिलालाई पूर्ण रूपमा सहज छ भन्न खोजेको भने होइन । महिलाका समस्या नभएका होइनन् । यद्यपि, उक्त समस्या समाधानका लागि महिला नेतृ आफैँ अघि सर्न सक्छन् । नेताका मुख मात्र ताक्नु राम्रो होइन । महिला आफैँ पनि नेतृत्वका लागि अघि आउन सक्नुपर्छ, अघि बढ्नुपर्छ, संघर्ष गर्नुपर्छ।
संविधानले नै महिलाको एकतिहाइ सहभागिता सुनिश्चितता गरिदिएको छ । आगामी दिनमा महिला सशक्तीकरण र महिलाका मुद्दालाई नेतृत्व तहमा प्राथमिकताका साथ सम्बोधनका लागि लैजानुपर्छ।
आशा छ, यस १४औँ महाधिवेशनले समावेशी लोकतान्त्रिक तथा सूक्ष्म रूपमा लुकेर बसेका समस्याको पहिचान गरी समाधानको बाटोतर्फ लाग्नेछ ।
(प्रबिता श्रेष्ठसँगको कुराकानीमा आधारित । डा. संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ बुधबारदेखि बजारमा आएको छ ।)