शेयर बजारमा पुनः विक्रेता हाबी
काठमाडौं, भदौ ३ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ८ दशमलव ४३ अंकले घटेर १२१३ दशमलव ६३ को विन्दुमा पुगेको छ।
<....काठमाडौं, भदौ ३ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ८ दशमलव ४३ अंकले घटेर १२१३ दशमलव ६३ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ६९ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२२२ दशमलव ०७ को विन्दुमा खुलेको थियो भने १२२२ दशमलव ९१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२१२ दशमलव ०६ थियो।
आज २७ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो अघिल्लो दिनभन्दा ३० दशमलव ०५ प्रतिशतले कम हो।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२१८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन सामान्य टेवा १२१० मा रहेको देखिन्छ भनिएको थियो। आज बजारको न्यून विन्दु १२१२ दशमलव ०६ मा रहेको थियो।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने संकेत गर्दछ। तर, परिमाणले भने यो मैनबत्तीलाई समर्थन गरेको देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत २ कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्ती प्रयोग गरिएको छ। हिजो सकारात्मक हुन खोजेको बजार आज पुनः घट्दो प्रवृत्तिमा रहेको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) एकापसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलव २८ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको र अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्रमा रहे पनि घट्दो प्रवृत्तिमा रहेको बजार बढी हाल्ने संकेत गरेको देखिँदैन। माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ।
समग्रमा हेर्दा यदि बजार १२३० भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने देखिन्छ। त्यस्तै, यदि बजार १२१० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।