नोम्याडल्यान्ड : आर्थिक मन्दीले बनाएका आधुनिक फिरन्तेको जीवन संघर्ष
आधुनिक फिरन्तेहरू जंगलमा बस्दैनन्। उनीहरू आ-आफ्नो भ्यानमा यत्रतत्र घुमिरहन्छन्। किनकि, उनीहरूसँग घर छैन, भ्यान मात्र छ। यस्तै फिरन्तेहरूको संघर्ष कथाको मार्मिक प्रस्तुति हो, नोम्याडल्यान्ड।काठमाडौं, कात्तिक २७ : घरको परिभाषा कसरी गर्ने? भौतिक संरचना, जहाँ एकै छतमुनि परिवार बस्छन्, त्यो पनि स्थायी रूपमा। माया, साथ र मिठो सम्बन्ध।
तर, कल्पना गरौँ खुला आकाशमुनि एउटा सानो भ्यान छ। बसाइ, सुताइ, खुवाइ सबै भ्यानभित्रै। भ्यान नै घर, भ्यान नै संसार। तपाईं कति दिन बिताउन सक्नुहुन्छ, सानो भ्यानभित्र त्यो पनि एक्लै? केवल रोमाञ्चकताका लागि केही दिन र साता त बिताउन सकिएला तर वर्षौँ त्यसरी नै कसरी बस्न सकिएला? विकसित मुलुकका आधुनिक फिरन्तेहरूले त्यही भ्यानलाई आफ्नो जीवनभरको आश्रय स्थल बनाएका छन्, सन् २०२० को ओस्कार विजेता हलिउड फिल्म ‘नोम्याडल्यान्ड’मा।
फिरन्ते शब्दले मानव सभ्यताको विकास क्रम सम्झाउँछ। अहिले पनि फिरन्ते जीवन बिताउने लाखौँ मानिस छन्, संसारभर। जंगलमै जीवन बिताउने सभ्यताहरू अमेजनको जंगलमा मात्र होइन, एसियाली मुलुकमै पनि अझै जीवित छन्। तर, आधुनिक फिरन्तेहरू जंगलमा बस्दैनन्। उनीहरू आ-आफ्नो भ्यानमा यत्रतत्र घुमिरहन्छन्। किनकि, उनीहरूसँग घर छैन, भ्यान मात्र छ। यस्तै फिरन्तेहरूको संघर्ष कथाको मार्मिक प्रस्तुति हो, नोम्याडल्यान्ड।
सन् २०२० को उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र अभिनेत्री गरी प्रमुख तीन ओस्कार अवार्ड जित्न सफल यस चलचित्रले जति प्रश्न उठाएको छ, त्यति नै जवाफ पनि दिएको छ। आधुनिक जमानाका फिरन्तेहरू भ्यानमै जीवन जिउँछन्। उनीहरूको कुनै स्थायी ठेगाना हुँदैन। उनीहरूका लागि आफ्नो भ्यान निजी सवारी मात्र होइन, एउटा संसार नै हो। जसले यात्रा मात्र गराउँदैन, आश्रय पनि दिन्छ।
पूर्वीय दर्शनले मानव जीवनका चार आश्रम वर्णन गरेको छ। तीमध्ये सबैभन्दा अन्तिम हो, वानप्रस्थान आश्रम। जसमा वृद्धवृद्धा गृहस्थी जीवन त्यागेर तीर्थाटनमा लाग्छन्। यो पनि एक प्रकारको फिरन्ते जीवन नै हो। सांसारिक माया, मोहबाट मुक्त भएर भगवानको शरणमा जाने जीवनशैली नै वानप्रस्थ आश्रम हो। भनिन्छ, आशा, आकांक्षा, माया र मोहबाट मुक्त नभएसम्म मृत्युपछि आत्माले ‘उत्तम लोक’ प्राप्त गर्दैन।
तर, ‘नोम्याडल्यान्ड’का फिरन्तेहरूले वानप्रस्थ आश्रम रोजेका होइनन्। प्राण रहेसम्म त्यसलाई धान्ने उपायको खोजी गरेका हुन्। घर छैन त के भो, सहारा दिने सन्तान छैनन् त के भो, प्राण त जसरी पनि धान्नै पर्यो। अन्नको दाना पेटसम्म पुर्याउनैपर्यो। पश्चिमा मुलुकमा जीविकोपार्जनको यही संघर्षमा रहन्छन्, वृद्धवृद्धाहरू। नेपाल, भारतजस्ता एसियाली मुलुकका ज्येष्ठ नागरिकले जसरी सन्तानको स्याहार कहाँ पाउनु पश्चिमा मुलुकका वृद्धवृद्धाले ! प्राण रहेसम्म आम्दानीको स्रोत खोज्नैपर्छ, उनीहरूले। दैनिक ज्यालादारीमा काम खोज्दै, प्राण धान्दै यत्रतत्र घुमिरहने त्यस्तै ज्येष्ठ नागरिकको कथा हो, ‘नोम्याडल्यान्ड’।
यस चलचित्रमा पनि जीवनको उत्तरार्द्धमा रहेका वृद्धवृद्धाको फिरन्ते जीवनशैलीलाई दर्साइएको छ। जो फिरन्ते जीवनशैली अपनाउन थालेका छन्। पात्र प्राय: ६० वर्ष कटिसकेका छन्। सिजनमा उनीहरू अमेजन कम्पनीमा काम गर्छन्। अमेजनमा क्याम्पर फोर्स कार्यक्रमअन्तर्गत सिजनल ज्यालादारीमा काम गर्छन्, उनीहरू। त्यसका लागि उनीहरूलाई अमेजनले फ्री पार्किङको स्थान पनि दिएको हुन्छ।
सिजन नहुँदा उनीहरू फिरन्तेजसरी हिँडिरहेका छन्। बाटो नै उनीहरूको साथी हुन्छ, रातमा कुनै स्थानमा गाडी पार्क गर्छन् र गाडीमै निदाउँछन्। चलचित्रमा वास्तविक जीवनका भ्यान फिरन्ते बब वेल्स, लिन्डा मे आदिले पनि अभिनय गरेका छन्।
चलचित्रकी प्रमुख पात्र हुन्, फर्न। उनी बसेको स्थानमा आर्थिक मन्दीका कारण कामकाज सबै बन्द हुन्छ। आश्रित बनेको कामकाज बन्द हुँदा आर्थिक संकटमा पर्छिन् उनी। सोही समयमा उनका श्रीमानको मृत्यु हुन्छ। आर्थिक र मानसिक दुवै तवरले उनी एक्लिन्छन्। तब उनले आफ्नो घर बेचेर भ्यानमा फिरन्ते जीवन जिउने निर्णय गर्छिन्। आफ्ना पुरानो सम्झनाका केही सामग्री लिई फिरन्ते जीवनमा निस्किन्छिन्, भ्यानमा।
जेसिका ब्रडरको ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वान्टी फस्ट सेन्चुरी’ पुस्तकमा आधारित छ, यो सिनेमा। सोही पुस्तकको कथा समेटेर सिनेमा निर्देशन गरेकी छन्, चिनियाँ मूलकी क्लोइ जाओले। चलचित्रकी निर्माता फ्रान्सिस म्याकडोरम्यान्ड स्वयं प्रमुख पात्र फर्नको भूमिकामा छिन्।
अंग्रेजीमा ‘नोम्याड’को अर्थ स्थायी घर नभएको फिरन्ते हो। ‘ल्यान्ड’को अर्थ जमिन हो। नोम्याडल्यान्ड अर्थात फिरन्तेहरूको जीवन भन्ने बुझिन्छ। उनीहरूको छत खुला आकाश, घर धर्ती। हुन त, मानव सभ्यताको विकास क्रम यस्तै फिरन्ते जीवनशैलीबाट अगाडि बढेको हो।
सभ्यताको विकास क्रममा मानिसहरू एक निश्चित स्थानलाई बासस्थान बनाउँदैनथे, केही अन्तरालमा स्थान परिवर्तन गर्थे। उक्त समय बासभन्दा पनि गाँस र कपास प्राथमिकतामा पर्थे। गाँस र कपासको खोजीमा उनीहरू यत्रतत्र घुमिरहन्थे। कालान्तरमा मानव सभ्यताको विकाससँगै एकै स्थानमा बसी स्थिरताको खोजी सुरु भयो। ढुंगे, कृषि हुँदै औद्योगिक युगसम्म आइपुग्दा बास अर्थात ‘घर’ एक निश्चित स्थानलाई मानी मानिसको जीवन अघि बढ्यो। त्यससँगै स्थायी बसोवास स्थल घरको अवधारणा आयो।
यद्यपि, अझै पनि फिरन्ते जाति नभएका होइनन्। नेपालका चेपाङ, राउटेदेखि कोलम्बियाको अमेजन जंगलमा पाइने नुकान-मकु, दक्षिण अफ्रिकाका बुस म्यानलगायत सभ्यता अझै पनि घना जंगलमै बस्छन्। तथापि, यस चलचित्रमा प्रस्तुत गरिएका फिरन्ते भने आधुनिक फिरन्ते हुन्। उनीहरूको घर छैन। ठाउँ-ठाउँमा पुर्याउने सवारी साधन नै उनीहरूका लागि घर हो। यसरी आधुनिक फिरन्ते जीवनशैलीको निकट रही उनीहरूले भोग्ने उतारचढाव, चुनौती र रोमाञ्चकतालाई चलचित्रमा प्रस्तुत गरिएको छ। चलचित्रको कथा सरल छ। कुनै प्रकारको क्लाइमेक्स पनि छैन। सरल कथामा बगेको चलचित्र कतिपयका लागि भने स्लो पनि लाग्न सक्छ। यद्यपि, धैर्यसाथ हेर्न सक्दा चलचित्रको सरल कथामा सरर बगिन्छ।
मध्यम वर्गमा आर्थिक मन्दीको प्रभाव
माथि उल्लेख भएजस्तै यो चलचित्र मध्यम वर्गको कथा हो। कथाको पृष्ठभूमि सन् २००७ देखि २००९ सम्म विश्वमा छाएको आर्थिक मन्दीले निम्त्याएको असरमा आधारित छ। मध्यम वर्गका व्यक्ति जसको जीविकोपार्जनको माध्यम जागिर वा कुनै व्यवसाय हुन्छ। आयस्रोत बन्द भइदिँदा दैनिक आवश्यकता तथा घरव्यवहार सम्हाल्न चुनौती सामना गर्नुपर्छ। त्यससँगै कतिपय घरविहीन बनेका छन्। घरविहीन हुनु कसैको स्वेच्छा हो त कसैको बाध्यता। कोही जीवनबाट आजित भएर फिरन्ते हुन निस्किएका छन्।
त्यसको पछिल्लो उदाहरण कोरोनाकालमा निम्तिएको आर्थिक संकट र रोजगारी गुमाएको मध्यम वर्ग पनि हो। उच्च वर्गका लागि आर्थिक संकट खासै समस्या होइन। कारण- उनीहरूले मनग्ये कमाइसकेका हुन्छन्। निम्न, निम्न मध्यम र मध्यम वर्ग भने सधैँ जोखिममै हुन्छ।
चलचित्रकी प्रमुख पात्र फर्नले श्रीमानको मृत्युपछि घर त्याग्छिन्। श्रीमानसँगको वियोग मात्र नभई एकल गर्न नसकिने आर्थिक आम्दानी उनका लागि तनावपूर्ण छ। एक्लिएको जीवन भ्यानमा बिताउनु उनको रहर नभई बाध्यता हो।
जोस्टर नामक एक जर्नलमा उल्लेख भएअनुसार भ्यानलाई नै आफ्नो घर बनाउने व्यक्तिहरू प्राय: प्राकृतिक प्रकोप र व्यक्तिगत जीवनका मा घटनाको आघातमा परेका हुन्छन्। कतिपय भने स्वेच्छाले पनि फिरन्तले जीवन बिताउन रुचाउँछन्। स्वेच्छाको फिरन्ते जीवन बिताउनेहरू निकै कम रहको जर्नलमा उल्लेख छ। उच्च वर्गका लागि ‘भ्यानिटी भ्यान’ बिलासिताको प्रतीक हुन्छ, जुन मध्यम वर्गका लागि भने सर्वस्व हुन्छ।
चलचित्रमा प्राय: वृद्धवृद्धा नै भ्यानमा घुम्ने फिरन्ते हुन्। आर्थिक मन्दीको समयमा सबैभन्दा मारमा पनि वृद्धवृद्धा नै परेका थिए। मन्दीको मारबाट तंग्रिन रोजगारदाता कम्पनीहरूलाई दक्ष र युवा जनशक्तिको आवश्यकता पर्यो अनि वृद्धवृद्धाहरू बेरोजगार बने। फेरि, पूर्वीयजस्तो पश्चिमा समाजमा सन्तानले पाल्ने व्यवस्था पनि छैन। सोही कारण सबैभन्दा बढी पिल्सिए वृद्धवृद्धा, जो जागिर र ज्यालादारीबाट जीविकोपार्जन गर्थे।
नेपालमै पनि काठमाडौं उपत्यकाबाहिरबाट आउने मध्यम वर्गसामु हरबखत मिहिनेत र परिश्रमको विकल्प हुँदैन। प्राय:को सपना हुन्छ राजधानीमा घर बनाउने। तर, घरव्यवहार, सन्तानको शिक्षादीक्षा र दैनिक आधारभूत आवश्यकता पूरा गर्दागर्दै उनीहरूले घर बनाउन सक्दैनन्। एउटाबाट अर्को डेरामा सरिरहनु पनि अप्रत्यक्ष रूपमा फिरन्ते जीवनशैली नै हो।
घर अवधारणाको विनिर्माण
यस चलचित्रको अर्को सशक्त पक्ष हो, ‘घर’ अवधारणाको विनिर्माण। विनिर्माण आफैँमा स्थापित भएको एउटा अवधारणालाई चिर्दै केलाउन सकिने सम्भावित अन्य परिभाषा हो। जसलाई हामी अंग्रेजीमा ‘डिकन्स्ट्रक्सन’ भन्छौँ। फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले उक्त अवधारणा प्रतिपादन गरेका थिए।
साँच्चै के एकै छाना र भान्सा अनि रगतको नातामा बाँधिएर बसेको केही संख्याका मानिसको समूहले घरको परिभाषा देलान्? चलचित्रमा निकै अप्रत्यक्ष रूपमा प्रश्न गरिएको छ। के घर हुनको लागि संख्या मान्य हुन्छ? एकल व्यक्तिको घर हुनसक्छ वा सक्दैन। एकल मानिस खुशी हुँदैन र?
घरको सोही अवधारणालाई चलचित्रमा चिर्न खोजिएको छ। भ्यानमा प्रमुख पात्र फर्न विभिन्न स्थान पुग्छिन्। उनी त्यसमै रमाउन थाल्छिन्। आफ्नी बहिनीको घरमा पाहुना लाग्दा पनि उनलाई रातमा निद्रा लाग्दैन। आरामदायी खाटमा निद्रा नपर्दा उनी मध्यरातमा आफ्नो सानो कुचुक्क परेको भ्यानमा जान्छिन्, जहाँ उनका आँखा लोलाउँछन्।
चलचित्रको अर्को दृश्य अमेजन कम्पनीमा फर्नका सहकर्मी खाना खाइरहेका छन्, जहाँ एक पात्रले आफूलाई सबैभन्दा मन परेको भनाइ ट्याटुमा खोपेकी छन्- ‘होम इज जस्ट अ प्लेस अर यु क्यारी विथ इन’ अर्थात् घर एउटा निश्चित स्थान मात्र हो, खास घर त हामीभित्रै हुन्छ?
यस्तै, कुनै समय फर्नको विद्यार्थी रहेकी एक किशोरीले उनलाई सुपरमार्केटमा भेट्दा, ‘आर यू होमलेस’ भनी प्रश्न गर्छिन्। उनको जवाफ हुन्छ, ‘नो आई एम नट होमलेस, जस्ट अ हाउसलेस’ अर्थात् मेरो घर नामको भवन छैन तर घरको भावार्थ दिने सन्तुष्टी र आराम म र मेरो भ्यानको साथैमा छ।
चलचित्रमा संवादभन्दा अझ दृश्य शक्तिशाली छन्। आँधीको समयमा उनी समुद्र छेउछाउ जान्छिन्। खोलामा एक्लै निवस्त्र नुहाउँछिन्। पहाडमा घुम्छिन्। यसरी हेर्दा उनी प्रकृतिसँग समाहित भएको आभास हुन्छ। प्रकृति नै उनको घर बन्छ, जहाँ उनी निस्फिक्री रमाएकी छन्।
चलचित्रका यी दृश्य हेर्दै गर्दा लाग्छ- कतै घर नामक चारकुने भवन हामी र प्रकृतिबीच पर्खाल त बनेको छैन।
फिरन्ते जीवन हेर्दा अस्थिरता देखिएला तर स्थिरता मन नपराउने त्यस्ता फिरन्तेले अस्थिरताभन्दा पनि यसलाई गतिशीलता भन्न रुचाउँछन्। जो स्थिर छैनन् तर अस्थिर पनि होइनन्। उनीहरू त गतिशील छन्। सोही कारण यी फिरन्ते एकअर्काबाट छुट्टने क्रममा ‘गुड बाइ’ भन्दैनन्, ‘सी यू डाउन द रोड’ अर्थात् ‘कहीँ कतै कुनै सडकमा फेरि भेटौंला’ भन्छन्। कारण उनीहरूलाई थाहा छ, गतिशील हुँदै अघि बढ्दै जाँदा सडकको कुनै न कुनै मोडमा उनीहरू फेरि भेट्ने छन्।
ओस्कार विजेता यस चलचित्रले दर्शकभन्दा पनि समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ। भन्न, लेख्न बाँकी धेरै सुन्दर कुरा छुटेका होलान्। र, यो नियतवश गरियो। धैर्यसाथ आफ्नो डेड घण्टाको समय निकाल्नु भए एउटा सुन्दर र नभनिएका पक्ष चलचित्रमा पाइनेछ। ‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्’ गीतको भावजस्तै।