‘म अर्कै मान्छे हुँ’ भन्ने भावना आउन सक्ने मानसिक रोग
केही बिरामीको लक्षण यस्तो हुन्छ कि ऊ कुनै ठाउँमा जानका लागि हिँडेको छ, तर गन्तव्यमा नपुगीकन अरु नै ठाउँमा एकोहोरो गइरहेको हुन्छ। त्यो समयमा बिरामीलाई कसरी हिँडेँ, कहाँ हिँडेँ भन्ने केही होस हुँदैन। यसरी कन्भर्सन डिसअर्डरमा मानवीय व्यवहारमा धेरै लक्षण देखिन सक्ने हुन्छ।कन्भर्सन डिसअर्डरलाई ‘डिसोसिएटिभ डिसअर्डर’ पनि भनिन्छ। यसमा व्यक्तिको मनको अवस्था, सचेतना र शरीरको बीचमा समन्वय भएको हुँदैन। अर्थात्, मन, मस्तिष्क, भावना, विचार लगायत एकअर्कासँग तालमेल नहुनुलाई ‘कन्भर्सन डिसअर्डर’ भनिन्छ।
यो रोग लागेको बिरामीले छोटो समयावधिमा फरक–फरक व्यवहार देखाउँछ। सचेतनामा ‘कन्भर्सन’ (परिवर्तन वा रूपान्तरण) आउनु भनेको बिरामीले देखेको वा सुनेको कुरालाई नसम्झनु हो। यसमा बिरामीले भर्खरै भएका घटनामा पनि ‘मलाई याद छैन, थाहा पाइनँ, सुनिनँ’ भन्न सक्छन्। यस्तै, बिरामीले आफ्नै शरीर चलाउन नसक्ने पनि हुन्छन्, तर यो ‘प्यारालाइसिस’ होइन।
यस्तै कतिपयमा ‘स्प्लिट पर्सनालिटी’ अर्थात् बिरामीमा अर्कै व्यक्तित्व हाबी हुने, बिरामीको व्यक्तित्व नै फरक हुने, काँप्ने लगायत लक्षण देखिन्छन्। अन्य मानसिक रोगमा जस्तै यसमा पनि मनोवैज्ञानिक, जैविक र सामाजिक तत्त्व नै कारक हुन्छन्। तर, कन्भर्सन डिसअर्डर हुनुको मुख्य कारणमा सामाजिक तत्त्वलाई मानिएको छ।
धेरै बिरामीमा समाजका कारण तनाव सिर्जना भएर त्यसलाई व्यवस्थापन गर्न नसक्दा यो रोग लागेको पाइएको छ। यो विशेषगरी किशोरकिशोरी अवस्थामा बढी हुन्छ। तनाव धेरै हुने र त्यसलाई सामान्य ढंगबाट लिन नसक्दा वृद्धवृद्धामा पनि यो समस्या देखिन थालेको छ।
यस्तै, ‘सोसियल मेकानिजम्’ कमजोर भएका व्यक्तिमा पनि यो समस्या देखिएको छ। अर्को शब्दमा भन्नुपर्दा मानसिक हिसाबले अपरिपक्व र कुनै कुराको डिसिजन लिन नसक्दा वा समस्याको समाधान गर्न नसक्दा उत्पन्न हुने एक प्रकारको स्ट्रेसका कारण पनि ‘कन्भर्सन डिसअर्डर’ निम्त्याउँछ। यस्ता व्यक्तिहरू जैविक, सामाजिक र मानसिक हिसाबले आफ्नो समस्याको समाधान गर्न असक्षम वा असहज हुने जोखिममा रहेका हुन्छन्।
जैविक हिसाबमा सो व्यक्तिको मनोविज्ञानको विकास कसरी भएको छ ? जीवनमा कस्ता घटना भोगेको छ ? त्यसलाई कसरी व्यवस्थापन गर्दै आएको छ ? आदि कुराले पनि सो व्यक्तिमा कन्भर्सन डिसअर्डर कसरी हाबी हुन्छ भन्ने कुरा निर्भर हुन्छ।
कतिपय बिरामीमा महत्त्वपूर्ण कुराहरूमा ध्यान नजाने, कसैले बोलेको वास्ता नगर्ने वा ध्यान नदिने, कान नसुनेझैँ हुने लगायत समस्या पनि आउँछन्। तर त्यो कन्भर्सन डिसअर्डर नै नभई स्ट्रेसका कारण पनि भएको हुन सक्छ।
लक्षण
कन्भर्सन डिसअर्डरका लक्षण व्यक्ति अनुसार फरक–फरक किसिमका हुन्छन्। बिरामीमा सचेतनाको कमी, मोटर बिहेभिअरमा समस्या, घटना स्मरणमा समस्या, आफूमा अरु कुनै व्यक्तिको व्यवहार र व्यक्तित्व हाबी हुने (स्प्लिट पर्सनालिटी), आफ्नो परिचय भुलेर अलग्गै पहिचानमा (आइडेन्टिटी डिसअर्डर) बाँच्ने लगायत समस्या वा लक्षण यसका बिरामीमा देखिन्छन्। यस्ता लक्षण कम्तीमा दुई सातासम्म निरन्तर रहेको हुनुपर्छ।
यसका धेरैजसो बिरामीमा देखिने सामान्य लक्षण भनेको कसैले बोलेको नसुन्ने वा कसैले बोलेको कुरा सुन्ने तर मस्तिष्कसम्म नपुग्ने हुन्छ। केही बिरामीमा आँखा नै नदेखेको जस्तो हुन सक्छ। यस्तै मोटर बिहेभिअरमा आफ्नो शरीर नै चल्न नसक्ने, हिँड्न नसक्ने, शरीरको अंगले काम गर्न नसक्ने लगायत लक्षण देखिन सक्छन्।
यसबाहेक बिरामी स्वयंले भोगेको कुनै घटना स्मरणमै नहुने वा भनौँ पूर्ण रूपमा त्यो क्षण वा घटना बिर्सने हुन्छ। साथै आफू अरु नै व्यक्ति हो भनेर दैनिक व्यवहार र परिचय नै परिवर्तन हुने हुन्छ। यसरी आफ्नो परिचय, व्यवहार र पहिचान फरक भएको बिरामी स्वयंमलाई पनि थाहा हुँदैन। आइडेन्टिटी डिसअर्डरमा बिरामीमा ‘आफ्नो शरीरमा अरु प्रवेश गरेको होइन कि आफू नै अर्को मान्छे हो, मेरो पहिचान अलग हो, म हिजोको मान्छे होइन, फरक भइसकेँ’ भन्ने भावना आउन सक्छ।
यस्तै, केही बिरामीको लक्षण यस्तो हुन्छ कि ऊ कुनै ठाउँमा जानका लागि हिँडेको छ, तर गन्तव्यमा नपुगीकन अरु नै ठाउँमा एकोहोरो गइरहेको हुन्छ। त्यो समयमा बिरामीलाई कसरी हिँडेँ, कहाँ हिँडेँ भन्ने केही होस हुँदैन। यसरी कन्भर्सन डिसअर्डरमा मानवीय व्यवहारमा धेरै लक्षण देखिन सक्ने हुन्छ।
बिरामीमा अरु रोगहरू छ वा छैन, व्यवहारमा कस्ता परिवर्तन आएका छन्, शारीरिक रोगहरूसँग यसको तालमेल मिल्छ वा मिल्दैन लगायत कुरालाई निगरानी गरेर कन्भर्सन डिसअर्डर वा डिसोसिएटिभ डिसअर्डरको पहिचान गर्न सकिन्छ।
कन्भर्सन डिसअर्डरलाई लिएर नेपाली समाजमा एक खालको अन्धविश्वास पनि स्थापित देखिन्छ। यस्ता समस्या देखिँदा परम्परा अनुसार धामी, झाँक्री कहाँ लैजाने गरेको पनि पाइएको छ। मानसिक अस्पताल, लगनखेलमा आउने कतिपय यस्ता बिरामीहरू शरीरमा दागहरू लिएर आएका हुन्छन्। जुन उनीहरूलाई धामीझाँक्रीकहाँ उपचार गराउन जाँदाको निशान हुन्थ्यो।
मानसिक स्वास्थ्यका धेरै विषयलाई सामाजिक र सांस्कृतिक विश्वासले प्रभाव पारेका छन्। त्यसमध्ये पनि कन्भर्सन डिसअर्डरमा सामाजिक र सांस्कृतिक अन्धविश्वासले धेरै नै प्रभाव पारेको छ। त्यसैले बिरामी र सोको परिवारले लक्षणलाई मध्यनजर गर्न जरुरी छ। कुनै व्यक्तिको आँखा वा कानमा समस्या आयो, सम्बन्धित चिकित्सकबाट जाँच गर्दा केही समस्या देखिएन भने व्यक्ति र परिवारले डिसोसिएटिभ डिसअर्डर हुन सक्ने सम्भावनालाई ध्यान दिनुपर्छ।
उपचार
मुख्यतयः एक व्यक्ति जो जैविक र मनोवैज्ञानिक हिसाबले जोखिमपूर्ण अवस्थामा रहेको हुन्छ, त्यसलाई कन्भर्सन डिसअर्डर देखिने भएकाले सो व्यक्तिको समस्या नै सर्वप्रथम पहिचान गर्नुपर्छ।
बिरामी कुनै ठूलो घटनाबाट गुज्रेको, एकैपटक धेरै तनाव उत्पन्न भएको लगायत कुराको पहिचान गर्नुपर्छ। कहिलेकाहीँ सो व्यक्तिमा शारीरिक समस्या आएको हुनाले पनि मानसिक स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले त्यसको पहिचान गरेर शारीरिक उपचार गर्नुपर्छ। यदि यसो होइन भने मानसिक तनाव ल्याउने समस्यालाई सुरुमा समाधान गर्नेतिर हामी लाग्छौँ।
शारीरिक स्वास्थ्य मात्र नभई बिरामीमा पहिले मानसिक स्वास्थ्य (जस्तै ः डिप्रेसन, एन्जाइटी आदि) समस्या छ वा छैन भन्ने पनि महत्त्वपूर्ण हुन्छ। अन्य मानसिक समस्या छ भने सोही अनुसारको उपचार विधि अपनाउँछौँ। तर, कन्भर्सन डिसअर्डर मात्र छ, अरु केही छैन भने बिरामीलाई तनाव व्यस्थापनका औषधि दिइन्छ। यसका साथै परिवारलाई उनीसँग कसरी व्यवहार गर्ने सिकाउने, सकभर तनावको सामना गर्न नदिने लगायतका उपायहरू अपनाइ उपचार गर्ने गरेका छौँ।
यस्तै, कन्भर्सन डिसअर्डरका बिरामीलाई परिपक्वताको सीप अर्थात् आफ्नो समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सिकाउने पनि गरिन्छ। जुन मानसिक रोगको उपचारका विधिमध्येको एक मनोवैज्ञानिक परामर्श हो। यसको उपचारमा लाग्ने समयको कुरा गर्ने हो भने अन्य मानसिक रोगको समस्या भएमा सोही अनुसार र छैन भने थोरै समयका लागि मात्र औषधि दिने गरिन्छ। अन्य मानसिक रोगमा जस्तो यसमा दुई वर्ष वा जीवनभरि औषधि खानुपर्ने भन्ने हुँदैन।
(मनोविद् कार्कीसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित।)