Kathmandu Press

कालो सुनको सेतो कथा : अलैंचीको भाउ प्रतिमन ५० हजार, ११ वर्षअघिको रेकर्ड तोड्ने आशा

अलैंचीको भाउ मंगलबार प्रतिमन (४० किलो) ५० हजार रुपैयाँ पुगेको छ। उक्त मूल्य गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। गत वर्ष अलैंचीको मूल्य करिब ३० हजार रुपैयाँ प्रतिमनमा सीमित थियो।
कालो सुनको सेतो कथा : अलैंचीको भाउ प्रतिमन ५० हजार, ११ वर्षअघिको रेकर्ड तोड्ने आशा

काठमाडौं, कात्तिक २३ : अलैंचीको भाउ मंगलबार प्रतिमन (४० किलो) ५० हजार रुपैयाँ पुगेको छ। उक्त मूल्य गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। गत वर्ष अलैंचीको मूल्य करिब ३० हजार रुपैयाँ प्रतिमनमा सीमित थियो।

यस वर्ष उत्पादनमा कमी आएका कारण मूल्य बढेको अलैंची विकास केन्द्र, इलामका सूचना अधिकारी दिलबहादुर श्रेष्‍ठ बताउँछन्। उनका अनुसार गत वर्ष २८ देखि ३० हजार रुपैयाँ प्रतिमन अलैंची बिक्री भएको थियो।

गत वर्ष सुरुका दिनमा प्रतिमन ३२-३३ हजार रुपैयाँ थियो, मूल्य। विस्तारै २० देखि २५ हजार रुपैयाँ प्रतिमनमा झरेको थियो। यस वर्ष ४८ देखि  ५० हजार रुपैयाँ प्रतिमन पुगेको उनले जानकारी दिए। अलैंचीको ग्रेडिङअनुसारको मूल्य निर्धारण हुने उनले बताए।

Hardik ivf

भारतमा अलैंचीको मूल्य बढ्दा नेपालमा पनि बढ्ने गर्छ। सोही क्रममा मूल्य वृद्धि भए यस वर्ष करिब प्रतिमन एक लाखसम्म पुग्‍न सक्ने अनुमान रहेको श्रेष्‍ठले बताए।

विशेषतः इलाम, धनकुटा, खोटाङ, संखुवासभा, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा अलैंची बढी उत्पादन हुने गर्छ। पछिल्ला वर्षमा भने अलैंची खेती पूर्व मात्र नभई पश्‍चिमका जिल्लामा पनि खेती हुन थालेको छ।

नेपालमा हाल लगभग १८ हजार दुई सय ७३ हेक्टरमा अलैंची खेती हुने गरेको छ। त्यसमध्ये पनि १५ हजार हेक्टर अलैंची उत्पादनशील क्षेत्रअन्तर्गत पर्छ। गत वर्ष करिब आठ हजार मेट्रिक टन उत्पादन भएको अलैंची विकास केन्द्रले जनाएको छ। यस वर्षको कुल उत्पादनको तथ्यांक भने आउन बाँकी छ।

नेपालमा ६ प्रदेशका करिब ५२ जिल्लामा अलैंची उत्पादन हुन्छ। प्रदेश-२ मा पर्यायवरणीय प्रतिकुलताका कारण अलैंची खेती हुँदैन।

‘कालो सुन’

पहाडी भेगमा कृषकबीच लोकप्रिय नगदे बाली अलैंचीले ‘कालो सुन’को उपमा नै पाएको छ। यो मसला जातको बाली हो। यसको दाम अत्यधिक बढेपछि गाउँघरमा अलैंचीलाई ‘कालो सुन’ भन्‍न थालिएको हो।

इतिहास खोतल्दै जाँदा दार्जिलिङ, सिक्किमबाट इलाम हुँदै अलैंची नेपाल भित्रिएको पाइन्छ। अहिलेसम्म ५१ वटा जिल्लामा अलैंची खेती फैलिसकेको छ। लामो समय इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभालगायत जिल्लामा यसको खेती सीमित थियो। भाउ बढ्दै जाँदा देशभर उत्पादन पनि फैलिएको हो।

अलैंची व्यवसायी तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, गोरखा, कास्कीलगायत जिल्लामा अलैंची खेती पछिल्ला वर्ष बढ्दो छ। ‘लमजुङको प्रयत्न पछिल्ला वर्षमा प्रशंसायोग्य छ,’ उनी भन्छन्, ‘खासगरी, प्रतिमन एक लाख मूल्य नाघेपछि पूर्वी पहाडबाट पश्‍चिमी जिल्लातिर खेती फैलिएको हो।’

उनका अनुसार देशभर प्रत्यक्ष-अप्रत्यक्ष रूपमा करिब एक लाख कृषक अलैंची खेतीमा आबद्ध रहेको अनुमान छ। झापाको बिर्तामोडलगायत बजारले अलैंचीको मूल्य निर्धारण गर्छन्। नेपाल, सिक्किम, भुटान र दार्जिलिङमा अलैंची उत्पादन हुन्छ।

यसअघि अलैंचीको मूल्य बढेर ०६७ सालमा प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो, जुन हालसम्मको उच्च मूल्य हो। यस वर्ष अलैंचीले ०६७ सालकै रेकर्ड राख्‍ने अनुमान व्यापारीहरूको छ।

२०६७ सालतिर सिक्किममा रोगकिराको प्रकोप भएपछि त्यहाँको प्रान्तीय सरकारले पुराना सबै बुट्यान नष्‍ट गरेको थियो। र, नयाँ बिरुवा रोप्‍न कृषकलाई प्रोत्साहित गरेको थियो। नेपालमा पनि त्यस वर्ष उत्पादन कम भएको थियो।

विश्‍वको ५० प्रतिशत उत्पादन नेपालमा

विश्‍वभर कुल उत्पादनको करिब ५० प्रतिशत हिस्सा नेपालको उत्पादनले ओगट्छ। भियतनाम, लाओस, नेपाल, भुटान, भारतलगायत थोरै मुलुकमा मात्र यसको उत्पादन हुन्छ।

भारतका नयाँदिल्लीको खाडीबाओली बजार, कानपुर र अमृतसरका व्यापारीको खेलमा अलैंचीको मूल्य आकाशिने र खुम्चिने गर्छ। खासगरी, अलैंचीको मूल्य अहिले कि त दिल्लीको खाडीबाओलीले निर्धारण गर्छ या बिर्तामोडका व्यवसायीको हातमा हुन्छ। अध्यक्ष नेपालका अनुसार नेपालमा अलैंचीको ‘सेन्ट्रल कलेक्सन’ बिर्तामोडमै हुन्छ। ‘प्रदेश-१ का पहाडी जिल्ला मात्र होइन, वागमती र गण्डकी प्रदेशमा उत्पादित अलैंची पनि बिर्तामोडमै आएर भण्डारण हुन्छ,’ उनी भन्छन्, ‘पछिल्ला वर्षमा जोगबनी नाका हुँदै भारत निर्यात भइरहेको छ। विगतमा काँकडभिट्टा नाकाबाट निर्यात हुन्थ्यो। तर, बिर्तामोडमै संकलन भएर रानी भन्सार हुँदै भारत निर्यात हुन्छ, अहिले।’

नेपालको अलैंचीको मुख्य बजार भारत नै हो। करिब शतप्रतिशत अलैंची भारत नै जान्छ। भारत पुगेको नेपाली अलैंची उतैको ब्रान्डमा अरू मुलुक पनि नजाने होइन। नेपालबाटै अन्य मुलुकमा पठाउने प्रयास भने सफल हुन सकेको छैन।

‘एभरेस्ट बिग कार्डामम’ नामको ट्रेडमार्क नेपाल सरकारले स्वीकृत गरेको छ। त्यो ट्रेडमार्क भारत र पाकिस्तानमा दर्ता भइसकेको छ। र, संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि दर्ता हुने क्रममा छ।

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्