मान्छेले किन गर्यो ईश्वरको कल्पना ?
ऋग्वेद कालमा ३३ देवताहरू जन्माइए र तिनको पूजा गर्न थालियो। ती देवताहरू थिए- आगो, वायु, इन्द्र, मरुतगण, ऋतु, सोम, बरुण, ऋजु, अश्विनीकुमार, सविता, जल, ब्रह्मणस्पति, उषा, पूषा, रुद्र, विश्वेदेव, मित्रावरुण, विष्णु, द्यावापृथिवी, अश्व, अन्न, वृहस्पति, त्वष्टा, शुक्र, गौ, भगदेवता, बादल, मंडूक, नदी, मृत्यु, विश्वकर्मा, क्षेत्रपति। ऋग्वेदकालपछि त देवताको संख्या ह्वात्तै बढ्यो।संसारका सबै धर्म ईश्वर र अलौकिक शक्तिद्वारा सृष्टि र सञ्चालन भइरहेको मान्यता अघि सार्दै आएका छन्। अलौकिक ईश्वरको कल्पना गरी उसलाई खुसी पार्ने नाममा अनेकौँ धार्मिक विधि विधानले भरिएका धार्मिक साहित्य रचिएपछि ईश्वरलाई अचूक अस्त्रका रूपमा स्वीकारेर समाजका पण्डित भनाउँदाहरू र धर्माधिकारीहरूले राजनीतिज्ञहरूसँग साँठगाँठ गरी श्रमजीवी र आमजनतालाई शारीरिक र मानसिक रूपमा शोषण गर्ने क्रम अघि बढाएको देखिन्छ। यस्ता धार्मिक साहित्यले आम मानिसमा केही गर्नमा उत्प्रेरित गर्नुको सट्टा जन्मजात गरिब, अछुत र दास मनोवृत्तिमा सीमित रही टाठाबाठाको सेवा सुश्रुषामै जिन्दगी अर्पिनुपर्ने बाध्यकारी परिस्थिति सिर्जना गरे।
धर्म र ईश्वर समाज हितका लागि हुनुपर्ने हो तर काल्पनिक ईश्वर खडा गरेर सदैव कथित ठालुवर्गले श्रमजीवी जनतालाई माखेसाङ्लोमा पार्ने काम धार्मिक साहित्यमा सामाजिक नियमसरह उल्लेख गरियो। विशेषतः हिन्दू धर्मका साहित्यमा त्यस्ता प्रसंगलाई अझ गाढा र गहिरो बनाउन खोजियो। मान्छे मान्छे बीचमा जातपात खडा गरेर जन्मजात कथित ठूलो र सानो जातमा विभाजन गरेर कथित ठूलो जातमा जन्म लिनेबित्तिकै ऊ बुद्धिमा उच्च नै हुन्छ भन्ने भ्रम छरेर अन्याय, अत्याचार, दूराचार, पापाचारलाई सदाचार, अधर्म नै धर्म, पाप नै पुण्य साबित गर्ने काम भएको छ। यसले गर्दा धार्मिक साहित्यका कारण समाजमा संस्कारगत रूपमा कुप्रथा, अन्धविश्वास, रूढीवादी, अशिक्षा र अचेतनको स्थिति खडा भएको छ। परिणामतः समाजको विकासमा झन्झन् अवरोध प्रबल बन्दै गएको छ।
जिज्ञासा मान्छेको प्राकृतिक गुण हो। मान्छे कुनै पनि रहस्यलाई उजागर गर्न तम्सन्छ। आदिम मान्छेमा पनि जिज्ञासाका अनेकौँ लहर थिए। उनीहरूले पनि सूर्य के हो ? चन्द्रमा के हो ? ताराहरू के हुन् ? पृथ्वी के हो ? आगो किन तातो छ ? हिउँ किन चिसो छ ? मान्छे, जनावर र अरू वनस्पतिहरू किन जन्मन्छन् र मर्छन् ? यो सारा संसारको सृष्टि जवाफ नपाएपछि मान्छेले यो संसारमा कुनै अदृश्य शक्ति छ होला भन्ने कल्पना गर्यो र त्यसैलाई ‘ईश्वर’ वा ‘देवता’ नाम दियो। त्यति धेरै ज्योति र शक्तिदिने सूर्य, त्यति धेरै शीतल पैदा गर्ने चन्द्रमा पनि पक्कै भगवान् नै हुनुपर्छ भन्ने अड्कल काट्यो मान्छेले। वर्षा हुनु, खोला बग्नु, धर्तीमा अन्न, अनाज फलफूल फल्नु, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि हुनुमा पनि त्यही काल्पनिक ईश्वरको हात छ भन्ने ठानेर त्यो ‘अदृश्य शक्ति’लाई पूजापाठ, जपतप पो गर्न थाल्यो मान्छेले।
ऋग्वेद कालमा त डरलाग्दा वस्तुको पनि पूजा गर्नुपर्छ, त्यसो भयो भने मात्र तिनीहरूबाट बच्न सकिन्छ भन्ने धारणा अघि सारियो। त्यही डरका कारण ऋग्वेदमा बिच्छी, सर्प, चट्याङ आदिको पूजा गर्नुपर्छ भनिएको छ।
ऋग्वेद कालमा ३३ देवताहरू जन्माइए र तिनको पूजा गर्न थालियो। ती देवताहरू थिए- आगो, वायु, इन्द्र, मरुतगण, ऋतु, सोम, बरुण, ऋजु, अश्विनीकुमार, सविता, जल, ब्रह्मणस्पति, उषा, पूषा, रुद्र, विश्वेदेव, मित्रावरुण, विष्णु, द्यावापृथिवी, अश्व, अन्न, वृहस्पति, त्वष्टा, शुक्र, गौ, भगदेवता, बादल, मंडूक, नदी, मृत्यु, विश्वकर्मा, क्षेत्रपति। ऋग्वेदकालपछि त देवताको संख्या ह्वात्तै बढ्यो र ३,३३३ पुर्याइयो। अहिले हिन्दूहरूको मात्र ३३ करोड देवता छन् भनिएको छ।
स्वयं ऋग्वेदमा भनिएको छ- डर हटाउन, प्रतिस्पर्धामा जित्न, स्वर्गजस्तो विशेष सुविधा सम्पन्न स्थान प्राप्त गर्न देवताको पूजा गर्न थालिएको हो। प्राचीन कालमै मान्छेसामु पृथ्वीको सुरुवात कसरी भयो र अन्त्य कसरी हुन्छ ? प्राकृत तत्व कसले जान्दछ ? केका लागि यो सृष्टि भयो ? जस्ता प्रश्नहरू खडा भए। त्यसको सही उत्तर नआएपछि मान्छेले यो पक्कै कसैले गरेको चमत्कार नै हो भन्ने ठान्यो। त्यो चमत्कारीको पूजा, प्रार्थना गर्नुपर्छ, उसलाई खुसी बनाउनुपर्छ र त्यो पक्कै ईश्वरको काम हो भन्नेमा पनि ऊ लागिपर्यो। यो जादुगरीको चमत्कारजस्तै हो। जसरी मान्छेले कनुै जादु हेर्छ, तब यस्तो विश्वास नै गर्न नसक्ने काम कसरी सम्भव भयो भन्ने आश्चर्यमा पर्छ, तर जब जादुगरीको जुक्ति थाहा पाउँछ, त्यो उसका लागि सामान्य ठहर्छ।
चमत्कारिकताको यथार्थ पहिचान नगरेपछि मान्छेले ईश्वरको कल्पना गर्यो र पुज्न थाल्यो। अज्ञानताको प्रचुरताले नै ईश्वर जन्मियो। आजसम्म कसैले न ईश्वर देखेको छ, न देखेको पुष्टि गर्न सकेको छ। गौतम बुद्धले एक ठाउँमा भनेका पनि छन्- ‘जो छँदै छैन, उसलाई कसैले कसरी देख्छ ?’
आधुनिक वैज्ञानिक अनुसन्धानले ईश्वरको अस्तित्व क्रमशः घट्दै गएको प्रमाणित हुँदैछ। मान्छेले ‘ईश्वर’ छ भनेर गरेको कल्पना प्रकृतिको यथार्थतापछि झूटो साबित हुँदैछ। मान्छे आफ्ना गल्तीहरू, डरहरू, आशाहरू र स्वार्थहरू भगवान् छ भन्ने कल्पनामा उसैमाथि बिसाउन खोज्छ। त्यो मान्छेको आत्मविश्वासको अभावले प्रकट भएको कल्पना मात्र हो।
ल्यापलेस, मिल्टन तथा न्युटन ईश्वरको कल्पना बेतुकको कुरा हो भन्छन्। उनीहरूका अनुसार दैवी वा अप्राकृतिक कारणबाट होइन, प्राकृतिक आधारबाट मात्र यो विश्व ब्रह्माण्ड चलिरहेको छ। विश्व सञ्चालनमा ईश्वरको कुनै हस्तक्षेप जरुरी छैन। विश्वका विशिष्ट घटनामा पनि ईश्वरको कुनै हात छैन। ईश्वर नै नभएपछि उसको हस्तक्षेप हुने कुरा पनि भएन।
ईश्वरको प्रश्न शुभ-अशुभसँग पनि जोडिएको छ। यदि ईश्वर ‘अशुभ’लाई टाढा हटाउन सक्छ तर हटाउँदैन र मान्छे अनेकौँ विपत्तिमा पर्छ भने ईश्वर स्वयं अनष्टिकारी हो कि होइन ? त्यसो होइन र ईश्वर अशुभ हटाउन सक्षम छ र हटाउन चाहन्छ भने संसारमा किन घरीघरी अशुभ घटना घटिरहन्छन्। यसबाट पनि ईश्वरको कुनै अस्तित्व नभएको कुरा छर्लंगिन्छ।