दसैं फुर्सद बिताउन उपयोगी हुनेछन् महिला निर्देशकका यी सफल चलचित्र
दसैं शक्तिको उपासनाको पर्व हो। शक्तिको स्रोत भनेकै महिला हुन्। हलिउड, बलिउड र नेपाली चलचित्रमा योगदान दिएका केही महिला निर्देशक र लेखकहरूका सिनेमाले राम्रो छाप छाडेका छन्।काठमाडौं, असोज २८ : अक्सर कलाकारिताको क्षेत्रमा महिलाको संख्या निकै कम छ । त्यसमा पनि चलचित्र क्षेत्रमा महिला र त्यसमा पनि सफल महिला निर्देशक, लेखक निकै कम छन् ।
दसैं शक्तिको उपासना गर्ने पर्व हो । शक्तिको स्रोत भनेकै महिला हुन् । दसैंसँग सम्बन्धित कथा, जनश्रुतीमा पनि महिलालाई शक्तिको मुख्य स्रोतका रूपमा अगाडि सारिएको छ । महिलालाई नेपाली समाजले पनि शक्तिको प्रतिरूप मान्छ । समय परिवर्तन भएको छ, विश्वमा मात्र नभई नेपालमा पनि महिलाले आफ्नो क्षमता, कला र योग्यताको प्रमाण प्रस्तुत गरेका छन् । हलिउड, बलिउड र नेपाली चलचित्रमा योगदान दिएका केही महिला निर्देशक र लेखकहरूका सिनेमाका बारेमा यहाँ चर्चा गरिएको छ ।
क्याथ्रिन बिगेलो
सन् २००८ को एकेडेमी अवार्ड विजेता हुन्, हलिउड निर्देशक क्याथ्रिन बिगेलो । उनको ‘द हर्ट लकर’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म गरी ६ विधामा उपाधि जितेको थियो । सो समय टक्करमा उनकै पूर्वपति जेम्स क्यामरुनको सिनेमा ‘अवतार’ थियो । एनिमेसनकाृ उत्कृष्ट नमूना मानिने ‘अवतार’लाई टक्कर दिएको थियो, ‘द हर्ट लकर’ले । मनोनयन र उपाधिमा उनले पूर्वपतिलाई पछाडि छाडेकी थिइन् । इराक युद्धको परिवेशमा बनेको यो ‘वार–थ्रिलर’ सिनेमा हो ।
कनिका ढिलों
भारतीय लेखक तथा स्क्रिप्ट राइटर कनिका ढिल्लों भारतका सशक्त लेखकमध्येमा पर्छिन् । उनले लेखेका चलचित्र महिला पात्रमा केन्द्रित हुने गर्छन् । मुलधारका चलचित्रमा चित्रण गरिनेभन्दा फरक हुन्छन्, उनका महिला पात्र ।
मूलधारका चलचित्रमा अक्सर महिला पात्र अझ अभिनेत्रीलाई सुन्दर, लामो कपाल र ग्ल्यामरस ढंगले चिरण गर्ने गरिन्छ । तर, उनले त्यो भाष्यबाट बाहिर निस्केर महिलाको बाहिरी सौन्दर्यभन्दा पनि पात्रलाई बलियो रूपमा प्रस्तुत गर्ने गरेकी छन् ।
‘ओम शान्ति ओम’मा सहायक निर्देशक, ‘बिल्लु’मा स्क्रिप्ट सुपरभाइजर, ‘अल्वेज कभी कभी’मा अतिरिक्त स्क्रिनप्ले, ‘रा वन’मा स्क्रिनप्ले र संवाद, ‘साइज जिरो’मा स्क्रिनप्ले, ‘मन मर्जियाँ’, ‘केदारनाथ’, ‘जजमेन्टल हे क्या’, ‘गिल्टी’, ‘हसिन दिलरुबा’ र ‘रक्षा बन्धन’मा कथा स्क्रिनप्ले र संवाद उनकै हो ।
हसिन दिलरुबा : केही समयअघि मात्र नेटफ्लिक्समा रिलिज भएको ‘हसिन दिलरुबा’ले समीक्षक मात्र नभई दर्शकको पनि राम्रो साथ पायो । सस्पेन्स थ्रिलरमा बनेको उक्त चलचित्रमा उनले महिला पात्रलाई निकै सशक्त ढंगले प्रस्तुत गरेकी छन् । महिलाहरूको इच्छा, चाहना र बुहार्तनको चित्रण गरेकी छन्, यस सिनेमामा । यो सिनेमा दसैंको छुट्टिमा समय बिताउन उपयोगी हुन सक्छ ।
मन मर्जियाँ : कन्निकाकै अर्को चलचित्र हो, मन मर्जियाँ । आधुनिक युवा पुस्ताले प्रेमप्रति राख्ने धारणा र त्यसमा एक महिला पात्र कसरी प्रस्तुत भएकी छन् भन्ने कथावस्तुको सेरोफेरोमा घुमेको छ, यो चलचित्र । कनिकाले कुनै पनि चलचित्रका महिला पात्रलाई कमजोर रूपमा प्रस्तुत गरेकी छैनन् । रुमी एक आधुनिक महिला हुन्, जो आफ्नो निर्णयप्रति दृढ छिन् । तर, प्रेम र समझदारीबीच कसलाई रोज्ने भन्ने द्विविधामा उनी छिन् । चलचित्रको सबैभन्दा बलियो पक्ष यसको संवाद हो । प्रेममा लुब्ध हुने युवालाई यस चलचित्रले प्रेमसँगै आउने जिम्मेवारी बोध गराउँछ । प्रेम बुझ्नका लागि युवा पुस्ताले हेर्नुपर्ने चलचित्र हो यो ।
केदारनाथ : सन् २०१८ मा रिलिज भएको यस चलचित्रले पनि राम्रो व्यापार गरेको थियो । उक्त फिल्ममा मुख्य अभिनेत्री छन्, सारा अली खान । केदारनाथमा सन् २०१४ मा गएको महाविपत्तिको प्रसंगमा काल्पनिक प्रेम कथामा बनेको हो, उक्त चलचित्र । दुई भिन्न धर्म र जातीयताले विभाजित समाजका एक जोडीबीचको प्रेम कथा र विपत्ति यसमा देख्न सकिन्छ ।
सन्दर्भ नेपालको
नेपालको सन्दर्भमा हालसम्म सर्वाधिक चलेका चलचित्र ‘छक्का पञ्जा’ सिरिज हुन्, जसलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसरी हेर्दा उनी एक सफल निर्देशक हुन् । उनीसँगै झरना थापाले पनि ‘ए मेरो हजुर’का सिरिजहरूको निर्देशन गरेकी छन् । उनका सिनेमा पनि व्यावसायिक रूपमा सफल मानिएका छन् । रेनाशा वान्तवा राई अर्की उदीयमान महिला निर्देशक हुन् ।