महिला र देवीबीचको पर्खाल
भारतमा त्यस्ता ‘ब्रोथल’ वेश्यालयहरू छन्, जहाँ महिलाहरू ठाउँठाउँबाट बेचिएर आइपुग्छन् र नारकीय जीवन बिताइरहेका छन्। भारतमा यौनकर्मी महिलाले दुर्गा पूजा धुमधाम रूपले मनाउने भन्ने समाचार पढियो।साउनदेखि हिन्दु संस्कृतिभित्र थुप्रै चाडपर्व सुरु हुन्छन्। विभिन्न नामले यी चाडपर्व मनाइन्छन्। देवीका मिथकलाई लिएर मनाइने चाडपर्वमा दशैं, स्वस्थानी पूजा आदि विशेष छन्।
प्रायः देवीका मन्दिरमा भक्तजनहरू सुख–समृद्धि, स्वास्थ्य, शान्तिका लागि गरेको भाकल अनुसार पुज्न जाने गर्छन्। धेरै मन्दिरमा महिला लाइनमा बसेर व्यग्रताका साथ आफ्नो पालो कुरिरहेका हुन्छन्। हामीमध्ये धेरैले यस्तो देखेका छौं। मन्दिरमा लाइनमा बस्दाबस्दै एक्कासि कोही महिला त्यहीँ आफूमाथि देवी चढेको भन्दै काम्न थाल्छन्। यो दृश्यले गर्दा भक्तजनहरू आफ्नो पालो काटेरै भए पनि निज कम्पन आएकी महिलालाई पहिले देवीको दर्शन गर्न पठाइदिन्छन्।
मनोवैज्ञानिक पक्षबाट हेर्दा यसरी महिला वा पुरुषलाई देवी चढ्नुका धेरै कारण हुन सक्छन्। जस्तो ः मानिसले आफ्ना भावनात्मक पक्षलाई भित्रै गुम्स्याएर राखेको छ, मन्दिर जस्तो पवित्र मानिएको ठाउँमा जाँदा ती भावना प्रस्फुटन हुन थाल्छन् र शरीरमा कम्पन सिर्जना गर्न सक्छन्। अर्कोतिर धार्मिक आस्था, देवीप्रतिको विश्वासले पनि मन्दिर परिसरमा मानिस काम्न सक्छ।
देवी दुर्गाको स्तुति एक सय आठपटक जप गर्नाले मनका काम क्रोध नाश हुन्छ भन्ने मान्यता पनि रहेछ। एक सय आठपटक श्लोक दोहो¥याउँदा त्यो कण्ठस्थ पनि हुने भयो र एक प्रकारको ध्यान जस्तो पनि हुने भयो। तर, जीवनका हरेक उतारचढावमा यो कतिको फलदायी हुन्छ भन्ने मात्र एक प्रश्न रह्यो।
जीवनमा आइपरेका अनेक दुःखकष्ट, आर्थिक व्यवहार, रोगव्याधिसँग लड््ने क्रममा महिला वा पुरुषले पनि ‘हे भगवान् यो ठीक पारिदेऊ, म यति दान गर्नेछु’ भनेर भाकल गर्ने गरेको त हिन्दु परम्परा या बौद्ध परम्परा मान्ने समुदायमा पनि प्रशस्तै छौं। तिनै भाकल संघर्षको दौरान केही पूरा हुन्छन् या केही पूरा हुनै सक्दैनन्। जे भए पनि खुसी हुँदै या विरक्तिँदै महिलाहरू मन्दिर परिसरमा आएर पूजाको लाइनमा बसेकै हुन्छन्। र कोहीलाई माता चढेको पनि भनिन्छ। जेहोस् यो किन भइरहेछ भनेर वैज्ञानिक कारण खोज्न थाल्दा आर्थिक, सामाजिक, सांस्कृतिक मनोसामाजिक मूल्य आउन सक्छन्। तर, देवी वा अलौकिक शक्ति शरीरमा आएको विश्वास गर्न पनि सकियो। कतिपय महिला त गाउँघरमा माता बनेर भक्तजन कमाएर, हात हेर्ने, झारफुक गर्ने गरेका पनि छन्। यस्ता माताहरू प्रत्येक समुदायमा कतै न कतै छन्।
एक संस्थामा काम गर्दा एउटा परिवारसँग भेट भयो। त्यो भेट जनचेतनाको सिलसिलामा भएको थियो। घरमा एक हजुरआमाले चारजना नातिनातिनाको पालनपोषण गरेर बसेकी थिइन्। बुहारी छुट्टै बस्थिन्। छोरो अरबको कुनै जेलमा थिए। परिवार दैनिक मजदुरीले पाल्नुपर्ने थियो। सबभन्दा ठूली नातिनी सारै ज्ञानी र आज्ञाकारी थिइन्। पढ्न पनि सिपालु थिइन्। ती नातिनातिना हुर्काइरहेकी हजुरआमा त्यस्तै ६० वर्ष जतिकी थिइन्। उनको पहेंलो पहिरन तथा कपाल जट्टा परेको हेरेर सोध्न करै लाग्यो– ‘तपाईं किन यस्तो भेषमा ?’
उनले भनिन्– म विगत दश वर्षदेखि यही पहिरनमा छु। मैले साक्षात शिवको दर्शन पाउने गरेकी छु।
स्वस्थानीको कथा भनिने महिनाभरि उनी मन्दिरमै बस्ने भक्तजनहरूको हात हेर्ने पनि गर्छिन्। तर हामीसँगको आठपटकको भेटमा उनले रुँदै भनिन्– मेरो जेल परेको छोरो कहिले छुट्ला ? बुहारीले छोरोलाई धोका दिएका कुरा पनि गरिरहन्थिन्। विभिन्न दातासँग अनुनय गरेर आफ्ना नातिनातिनीलाई विद्यालय पनि पठाइरहेकी थिइन्। छोरालाई अरबमा जेलको खर्च पनि पठाउने गरेकी छु भन्थिन्। यसरी ती हजुरआमाले आफ्ना पीर भुलाउन अध्यात्मलाई भ¥याङ पनि बनाएकी थिइन् र कतिपयलाई आफूमा दैवीय शक्ति छ भन्ने भ्रम पनि छरेकी थिइन्।
यसरी देवी माताहरूप्रति किन त हिन्दु संस्कृतिभित्रका समुदाय नतमस्तक छन् त ? कथा, मिथक त धेरै छन्। तीमध्ये माता दुर्गाबारे दशैं पर्वकै सेरोफेरोमा केही हिन्दीमा लेखिएका लेखहरू पढ्ने मौका मिल्यो।
देवी दुर्गासम्बन्धी केही मिथक
शुम्भ र निशुम्भ नामका असुरका सेवक रक्तबीजलाई भगवान् शिवले नै उनीहरूको तपस्याबाट प्रभावित भई वरदान दिएका थिए रे, त्यो वरदान भनेको जुन स्थानमा रक्तबीजका रगतका कण खस्दथ्यो त्यहाँ अर्को रक्तबीज उत्पत्ति हुनेछ भनेर। यो वरदान भनेको रक्तबीजलाई कसैले मार्न नसक्ने नश्वर वरदान थियो। यिनै असुरले आफ्ना दानवत्वले देवलोकलाई हाबुकाबु बनाइराखेका बेला देवताहरूको आग्रहमा दुर्गा माताले चण्डिकाको सहायता लिएर संहार गरेकी थिइन्। देवकालका महिषाशुर, धुम्र विलोचन, शुम्भ, निशुम्भ जस्ता कैयौं दैत्यको वध गरेकी थिइन् भन्ने मिथक छ।
यो कथामा रक्तबीजले आराधना गरी भगवान् शिवलाई खुसी बनाएकाले कुनै शत्रुले परास्त गर्न नसक्ने आशीर्वाद पाएको छ। यसले के देखाउँछ भने, उतिबेलैदेखि जतिसुकै खराब वा खराब उद्देश्य लिएको व्यक्ति भए पनि चाकरी गर्ने, भक्तिगान गर्ने हो भने ठूलाबडाबाट आशीर्वाद पाइरहन सकिन्छ। यो कुरा आजका नेता, कर्मचारी र कार्यकर्तामा पनि यदाकदा देखिन्छ।
देवी दुर्गा शक्तिकी प्रतीक त देखाइएको नै छ, जब देवी दुर्गाले रक्तबीजका अंगभंग हुने गरी संहार गर्थिन्, तब भुइँमा खसेको रगतको थोपाबाट अर्को रक्तबीज जन्मिहाल्थ्यो। जब दुर्गाले रक्तबीजलाई प्रहार गर्थिन् तब उसका रगत भुइँमा खस्न नदिई माता चण्डिकाले मुख आँ गरेर निलिदिने गरेर बल्ल रक्तबीजको समूल नष्ट गरेको भन्ने कहानी रहेछ। के तपाईंहरूलाई लाग्दैन कि अहिले देवीका मन्दिरमा बोका, कुखुरा, राँगा, हाँस भाकल गरेर देवीलाई रगत चढाउनु भनेको ती जनावर चाहिँ राक्षसको स्वरूप हुन् त भन्ने ? यसरी हेर्दा देवीलाई हिंस्रक मानेमा पनि देखाइएको महसुस हुन बेर लाग्दैन। जब कुनै महिला आवेगमा आइन् भने भन्ने गरिन्छ कि यसलाई देवी चढेको छ। यो त कुनै सकारात्मक कुरो भएन। फेरि जंगलको राजा मानिने सिंहलाई दुर्गाको वाहन नै मानिएको छ। देवीको निडरतालाई महिलाहरू पनि निडर हुनुपर्छ भन्ने अर्थमा सकारात्मक रूपमै लिन सकिन्छ।
हुन त शास्त्रहरुमा महिलाका विद्वता, अध्ययन, काम, राजनीति आदि क्षेत्रमा उल्लेखनीय योगदानबारे केही मनग्गे लेखिएका छैनन्। जालझेलमा, राजमहलका कहानीमा, देवताको ध्यान, सेवा, पुत्र प्राप्ति आदिमा महिलाको योगदानका कथा बुनिएका छन्। तर, विरोधाभासपूर्ण कुराको कथा पनि कतै कतै पाउन सकिने रहेछ। तिनै कथामध्ये एउटा कथा यस्तो रहेछ। एक यौनकर्मी महिला माता दुर्गाको ठूलो उपासक थिइन्। समाजले यौनकर्मीलाई बहिष्करण गर्ने हुँदा यौनकर्मीले अनेक यातनाको सामना गर्नुपर्दथ्र्यो। आफ्ना भक्तलाई त्यस तिरष्कारबाट बचाउन देवी दुर्गाले स्वयं उत्पत्ति भएर आशीर्वाद दिँदै भनिछन्, ‘आँगनको माटोबाट आफ्नो (दुर्गाको) मूर्ति स्थापना गर्नू।’ सँगसँगै अर्को कहानी पनि रहेछ, कोही पुरुष कुनै कोठीको भित्र जाँदा आफ्ना पवित्रता कोठी बाहिरै छोडेर जाने हुँदा त्यो पर्खाल बाहिरको माटो पनि पवित्र हुने भन्ने पनि मान्यता रहेछ।
मान्यता र परम्परा जेसुकै भए पनि हामी एकपटक सोच्न सक्छौं कि वेश्यावृत्तिलाई यही समाजले एकदम नीच कार्य भन्ने बखान गर्छ। वैज्ञानिक पाटोबाट हेर्ने हो भने यौनकर्म सुरक्षित पेसा होइन। यसमा महिला शरीरलाई धेरै पुरुषले भोग गर्दा स्वास्थ्य, मानसिक अवस्था भावनाहरूमा त कुठाराघात भएकै हुन्छ। एकातिर यौनकर्मलाई घृणा गरिएको पनि छ। अर्कोतिर देवी दुर्गाबाटै आशीर्वाद प्राप्त भएकाले उनीहरू बसेको माटो पवित्र हुन्छ र त्यही माटोबाट देवीको प्रतिमा स्थापना गर्नुपर्ने कथन पनि कथिएको छ। भारतमा त्यस्ता ‘ब्रोथल’ वेश्यालयहरू छन्, जहाँ महिलाहरू ठाउँठाउँबाट बेचिएर आइपुग्छन् र नारकीय जीवन बिताइरहेका छन्। भारतमा यौनकर्मी महिलाले दुर्गा पूजा धुमधाम रूपले मनाउने भन्ने समाचार पढियो। सायद यो देवीबाट वरदान प्राप्त भनेर यौनकर्मी महिलाले गर्व गरेर यसलाई मनाएका होलान् कि ? हिन्दु धर्मभित्रै यसरी महिलाका जीवन, जोखिमपूर्ण यौन व्यापारलाई मिथक बनाएर निरन्तरता दिइरहेका छन्। जसमा व्यापक बहस र परिवर्तन जरुरी छ। संस्कृति र सभ्यता त मानवीय र परिष्कृत भए नै समृद्ध देखिन्छ, यसमा हामी सचेत हुनैपर्छ।
दुर्गाका शक्तिका महिमाले नारी शक्तिलाई पुजिन्छ भन्ने त गरिन्छ, हामीले यो मनन गर्नुपर्ने हुन्छ कि कतिपय पौराणिक धार्मिक ग्रन्थ पुराना समाजका विशाल कल्पनाशीलताका सिर्जना हुन्। जसले ती स्तुति, परिकल्पना गरे, आफ्ना महिलाप्रतिको अवधारणालाई एकपक्षीय रूपमा वर्णन गरेका पनि हुन सक्छन्। हैन भने त हेलेन केलरले भने जस्तै एक पिँढीका पाखण्ड अर्को पिँढीको परम्परा बन्न जानेछ। महिला शक्ति, सम्मान र समानताको पहिचान गर्न सकौं केवल देवी भगवतीको रुपमा पूजा मात्र होइन।