गजुरबिनाका गणेशको जात्रा (फोटो फिचर)
काठमाडौंमा बुधबार गजुर नभएका गणेशको जात्रा सम्पन्न भएको छ ।
काठमाडौं, असोज २७ : काठमाडौंमा बुधबार गजुर नभएका गणेशको जात्रा सम्पन्न भएको छ ।
चार विनायकमध्येका एक अशोक विनायक (मरु गणेश)लाई गजुर नभएका गणेश भन्ने गरिन्छ ।
अशोक विनायक नामले प्रसिद्ध मरु गणेश काठमाडौंको एउटा प्रसिद्ध मन्दिर हो। मरु गणेश विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
यो गणेशको स्थापना एघारौँ–बाह्रौँ शताब्दीतिर भएको मानिन्छ । लाय्कू बहीका तान्त्रिक विद्वान् लीलाबज्र बज्राचार्यले नेसं १३९ मा गणेशको जीवन्यास गरी अशोक विनायक मन्दिर (मरु गणेश) स्थापना गर्न लगाएको जनविश्वास छ, जुन उपत्यकाका चार विनायकमध्येको एक हो ।
मरु गणेशको उत्पत्तिका बारेको किंवदन्तीअनुसार उहिले यस क्षेत्रमा एक जना सत्पात्र गृहस्थ बस्थे । उनले एक रात अशोक वृक्ष झलमल्ल उज्यालो भएको देखेछन् । त्यस रुखमा के रहेछ भनेर हेर्न जाँदा उनले गणेशलाई रूखमाथि चढ्दै गरेको देखेछन् । त्यो थाहा पाएपछि गणेश अलप भएछन् । ती गृहस्थले पछि त्यहीँ गणेशको मन्दिर बनाएर मूर्ति प्रतिष्थापन गराएछन् । यस मन्दिरमा गणेश मूर्ति सुखासनमा राखिएको छ । यसलाई अशोक विनायक पनि भनिन्छ । गणेश मन्दिर मरुसत्तलकै एक अंगका रूपमा छ ।
भाद्र शुक्ल गणेश चौथीका दिन अशोक विनायक गुठीले हरेक वर्षको मरु गणेशमा विशेष पूजा कार्यक्रम गर्दै आएको छ । यस दिन ब्रत बसी गणेशको पूजा गरे कार्य सिद्धी, मनमा शान्ति र धनधान्यले भरिपूर्ण हुने जनविश्वास छ । अन्य समुदायले गणेश चौथी मनाइने यो दिन नेवार समुदायले चथा पर्व मनाउने गर्छन् । चथामा नेवार समुदायमा उखु, अदुवा, चथाजस्ता वनस्पतिलगायत वस्तु चन्द्रमा (चथा द्यः) लाई चढाएर यो पर्व मनाउने चलन छ ।

















-(32)-1764944804.jpeg)
