यो साता शेयर बजारको अवस्था र के होला ?
काठमाडौं, साउन १८ : गत साता नेप्से परिसूचक १२६९ दशमलब ९२ बिन्दुमा खुलेको थियो । १२७१ दशमलब ०४ को ‘इन्ट्राडे’ उच्च बिन्दु बनाएको थियो ....
काठमाडौं, साउन १८ : गत साता नेप्से परिसूचक १२६९ दशमलब ९२ बिन्दुमा खुलेको थियो । १२७१ दशमलब ०४ को ‘इन्ट्राडे’ उच्च बिन्दु बनाएको थियो । त्यस्तै गरि ‘इन्ट्राडे’ न्यून बिन्दु १२५० दशमलब १८ थियो भने बजार १२६३ दशमलब ८४ बिन्दुमा बन्द भएको थियो।
यो अघिल्लो साताभन्दा ६ दशमलब ०८ अंक अर्थात ० दशमलव ४८ प्रतिशतको गिरावट हो। यो साता भएको पाँच दिनको कारोबारमा २ अर्ब ८ करोड ६२ लाख बराबर रकमको शेयर कारोबार भएको छ। यो अघिल्लो साताभन्दा ५ दशमलब ४८ प्रतिशतले बृद्धि हो।
प्राविधिक बिश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत एक बर्षदेखि बजारको उतारचडाब कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो साताको विश्लेषणको निश्कर्ष अनुसार बजार हाल मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो भने यो साता बजार अझै पनि त्यहि मुख्य प्रतिरोध क्षेत्रमा र सामान्य टेवा क्षेत्र माथि रहेको देखिन्छ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, गत दुई महिनादेखि बजार कस्तो रह्यो भनि हेर्नलाई दैनिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। पांच कारोबार दिन अघि बजारले १२५०मा टेवा प्राप्त गरि बजार केहि सकारात्मक देखिए पनि हाल बजार प्रतिरोध क्षेत्रमा रहेको छ। अन्तिम दिनको मैनबत्तीले सूटिङ्ग स्टार आकृति बनाएको छ। यसले बजारको प्रवत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ।
यो साता ६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४९ दशमलब ८६ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा क्रेता र विक्रेताको चाप लगभग बराबर अवस्थामा रहेको संकेत गर्दछ । एमएसिडिको प्रवृत्तिले बजारमा विस्तारै क्रेताको चाप बढी रहेको संकेत गरेको छ।
निश्कर्ष : हालसम्म नेप्सेको प्रवृत्तिहरु र सूचकहरुले बजारमा गत १ महिनादेखि उतारचडाब कम भएको संकेत गरे पनि समग्रमा हेर्दा यदि बजार १२८५ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को तत्कालिन मुख्य प्रतिरोध १३००को क्षेत्रमा रहेको देखिन्छ। यो क्षेत्र आफैमा पनि मनोबैज्ञानिक प्रतिरोध क्षेत्र हो। त्यस्तै चित्र नं.२ मा देखिए बमोजिम एक महिनाको तल्लो प्रवृत्ति रेखा सामान्य टेवाको रुपमा रहेको देखिन्छ । यदि बजार यो टेवा क्षेत्रभन्दा तल रहेमा बजार अझ केहि सच्चिन सक्ने प्रारम्भिक संकेत गर्दछ।