शेयर बजारमा आज पनि विक्रेता हाबी
काठमाडौं, साउन १६ : साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले घटेर बजार १२६३ दशमलव ८४ को विन्दुमा पुगेको छ। दोस्रो....
काठमाडौं, साउन १६ : साताको अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले घटेर बजार १२६३ दशमलव ८४ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १४ प्रतिशतकोे गिरावट देखिएको छ।
दोस्रो बजार १२६५ दशमलव ५७ को विन्दुमा खुलेको थियो भने १२७१ दशमलव ०४ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२६२ दशमलव ४१ थियो भने दिनभरमा ५९ करोड ५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार बजार आज पनि प्रतिरोध क्षेत्रमा रहेको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजारले प्रतिरोध क्षेत्रलाई सामना गरिरहेको देखिन्छ। आजको मैनबत्तीले सुटिङ्ग स्टार आकृति बनाएको छ, यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। परिमाणले भने आजको मैनबत्तीलाई पूर्ण रुपमा समर्थन गरेको देखिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो केही सकारात्मक देखिएको बजार आज प्रवृत्तिहीन देखिएको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ।
आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४० दशमलव ४७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक भई हालेको संकेत गरेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्ति र सूचकका आधारमा बजार अर्को कारोबार दिनको पहिलो समयमा केही सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १२६५ देखि १२६८ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२६३ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को सामान्य टेवा १२५८ मा रहेको देखिन्छ।