शेयर बजारमा विक्रेताको चाप केही कमजोर
काठमाडौं, साउन १३ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३ दशमलव १८ ले वृद्धि भएर १२५५ दशमलव ९८ को विन्दुमा पुगेको छ।
....
काठमाडौं, साउन १३ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३ दशमलव १८ ले वृद्धि भएर १२५५ दशमलव ९८ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव २५ प्रतिशतकोे वृद्धि देखिएको छ। १२५२ दशमलव ८१ को विन्दुमा खुलेको बजारको उच्च विन्दु १२५९ दशमलव ८२ सम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२५२ दशमलव ७३ थियो। दिनभरमा ३५ करोड ८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्सको शेयर किनबेच भएको छ। युनाइटेड इन्स्योरेन्सको २ करोड ३८ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल एग्रो लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ३ दशमलव ८४ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो दिनको विश्लेषण अनुुुसार अर्को कारोबार दिनको पहिलो समयमा बजार केही अंकले बढ्न सक्ने देखिन्छ भनिएको थियो। आज त्यही अनुरुप पहिलो कारोबार समयको एक घण्टासम्म बजार बढेर १२५९ दशमलव ६८ को उच्च विन्दु बनाएपछि बजार सच्चिएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हाल मुख्य टेवा क्षेत्रतिर रहेको देखिन्छ। आजको मैनबत्तीले बजार केही बढेपनि लगानीकर्ताहरु अन्योल अवस्थामा देखिन्छ। परिमाण भने सामान्य रहेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज केही सकारात्मक देखिएको छ।
आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज पनि बजारमा विक्रेताको चाप केही कमजोर भएको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६ दशमलव ०२ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको पछिल्लो समयमा क्रेताको चाप कमजोर भएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२६० भन्दा स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १२७३ मा रहेको देखिन्छ। हालको तत्कालीन टेवा १२४० देखि १२५० को क्षेत्रमा रहेको देखिन्छ।