शेयर बजारमा आज पनि विक्रेता हाबी
काठमाडौं, साउन १२ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ दशमलव ११ अंकले घटेर नेप्से परिसूचक १२५२ दशमलव ८० को विन्दुमा पुगेको छ....
काठमाडौं, साउन १२ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ दशमलव ११ अंकले घटेर नेप्से परिसूचक १२५२ दशमलव ८० को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा १ दशमलव ३५ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२६९ दशमलव ९२ को विन्दुमा खुलेको थियो भने १२७० दशमलव ४९ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२५० दशमलव १० थियो। आज ४९ करोड २६ लाख बराबरको शेयर किनबेच भएको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, यदि बजार १२६५ भन्दा तल स्थिर रहेमा बजारको अर्को तत्कालीन सामान्य टेवा १२५६ मा रहेको देखिन्छ भनिएको थियो। आज बजार १२५६ को टेवा क्षेत्रभन्दा तल रहेको छ। नेप्से परिसूचक १२५२ दशमलव ८० अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले हाल मुख्य प्रतिरोध क्षेत्रबाट सच्चिइरहेको देखिन्छ। आजको मैनबत्तीले पनि बियरिस मारुबोजु आकृति बनाएको छ। यो मैनबत्ती र परिमाणले आज पनि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ।
अघिल्लो कारोबार दिनदेखि घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यही प्रवृत्तिमा रह्यो। आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज पनि बजारमा पूर्ण रुपले क्रेताभन्दा विक्रेता हाबी रहेको संकेत गरेको छ।
आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४२ दशमलव ०२ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र कारोबारको अन्तिम समयमा क्रेताको चाप बढिरहेको देखिएकाले अर्को कारोबार दिनको पहिलो समयमा बजार केही अंकले बढ्न सक्ने देखिन्छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजार घट्दो प्रवृत्तिमा भएकाले बजार प्रवेश गर्नु अघि अर्को बलियो सकारात्मक संकेत पर्खनु पर्ने देखिएकाले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउनु उपयुक्त देखिन्छ।