मौद्रिक नीतिले बनाएन बजारलाई उत्साहित, विक्रेताको चाप
काठमाडौं, साउन ९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १४ दशमलव १५ अंकले घटेर नेप्से परिसूचक १२६९ दशमलव ९२ को विन्दुमा पुगेको ....
काठमाडौं, साउन ९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १४ दशमलव १५ अंकले घटेर नेप्से परिसूचक १२६९ दशमलव ९२ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा १ दशमलव १० प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२८४ दशमलव ०७ को विन्दुमा खुलेको थियो भने १२८४ दशमलव ४२ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२६९ दशमलव २८ थियो। आज ५५ करोड ५ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम हिजोकोभन्दा वृद्धि भएको छ। आजको न्यून तथा अन्तिम विन्दु लगभग बराबर रहेको र कारोबारमा वृद्धि देखिएकाले यसलाई सकारात्मक मानिँदैन।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनहरुको निष्कर्ष अनुसार, अब बजारले १२८० देखि १३०० को प्रतिरोध क्षेत्रहरुलाई सामना गर्नु पर्ने देखिन्छ भनिएको थियो। आज बजार यही क्षेत्रबाट केही सच्चिएको छ। नेप्से परिसूचक १२६९ दशमलव ९२ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले हाल मुख्य प्रतिरोध क्षेत्रबाट सच्चिरहेको देखिन्छ। आजको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको छ। यसले आज बजारमा विक्रेताको चाप रहेको र अर्को दिन पनि केही समयका लागि भए पनि विक्रेताको चाप हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो सकारात्मक प्रवृत्तिमा रहेको बजार आज भने घट्दो प्रवृत्तिमा रहेको छ।
आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज बजारमा पूर्ण रुपले क्रेताभन्दा विक्रेता हाबी रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २१ दशमलव ८९ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकको आधारमा यदि बजार १२८५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १३०० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२६५ भन्दा तल स्थिर रहेमा बजार अझै केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य टेवा १२५६ मा रहेको देखिन्छ।