जहाँ १४ वर्षदेखि ५८ वर्षका महिलाले पढ्दैछन्
सपनाले काठमाडौंमा बसेर छोरी हुर्काउँदै थिइन् । अरु अभिभावकले आफ्ना छोराछोरीलाई सानैदेखि घरमै पढाएको देख्दा उनलाई पनि रहर हुन्थ्यो, तर उनले अक्षर चिनेकी थिइनन् । अहिले उनले स्नातक तहमा पढ्दै छन् ।५५ वर्षीया उत्तरा भट्ट कक्षा ४ मा पढ्छिन । उनलाई ‘यो बुढेसकालमा किन पढ्नुभएको ?’ भनी प्रश्न गर्नेहरूको कमी छैन ।
यसमा उत्तराको उत्तरसँगै प्रतिप्रश्न हुन्छ, ‘जुन उमेरमा भए पनि पढेपछि ज्ञान बढ्ने हो । आफूले अक्षर चिनेपछि जहाँ जाँदा पनि बोर्ड हेरेर ठाउँ जान्न सकिन्छ । सामानको खोल हेरेर के रहेछ भनी चिन्न सकिन्छ । कागजपत्र, खबर पढ्न सकिन्छ । बुढेसकालमा ज्ञान चाहिँदैन र ?’
कोरोना महामारीका कारण यतिखेर विद्यालय खुलेका छैनन् । सकेसम्म अनलाइनबाटै अध्यापन भइरहेका छन् । अहिले उत्तराले पनि अनलाइन कक्षा लिइरहेकी छन् ।
श्रीमान्, छोरा, बुहारी र दुई नातिनातिनासँग भक्तपुर नयाँ ठिमीमा बस्ने उनी अनलाइनबाट पढ्दा केही अप्ठेरो भएको बताउँछिन् । ‘आँखाले त्यति भेउ पाउँदिनँ । मोबाइलबाट अनलाइन कक्षा लिँदा अक्षर नै धमिलो देख्छु । त्यसमाथि कोरोनाले गर्दा कति समय पढ्न पाइएन,’ उनले भनिन्, ‘नपढ्ने सोच बनाइसकेकी थिएँ । तर मिसहरूले पढ्नुपर्छ भनेर हौसला दिएपछि पढ्न थालेँ ।’
बिहान ४ बजे उठेर उनी योगा गर्छिन् । अहिले उनको काम भनेकै स्वस्थ रहन योगा गर्नु, नातिनातिनी हेर्नु र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन कक्षा पढ्नु हो । उनलाई पहिलेदेखि नै पढ्ने इच्छा थियो तर आफ्नो उमेर समूहकाले पढ्ने विद्यालय नभएकाले उनी अलमलमा थिइन् ।
जब उनले भक्तपुरको गट्ठाघरस्थित ‘आस्था महिला विद्यालय’ आफूजस्तै शिक्षाबाट वञ्चित महिलाका लागि खुलेको भन्ने थाहा पाइन्, उनी भर्ना हुन पुगिन् । पढ्न जानुअघि उनले घरपरिवारका सदस्यसँग बहस गर्नुपरेको थियो । उनी हाँस्दै भन्छिन्, ‘मैले पढ्न जान्छु भनेपछि घरकाले भने– यो उमेरमा किन दुःख गर्नुहुन्छ, आरामले घरमा बस्नू । तर घरमा सबैलाई मनाएर भर्ना भएँ ।’
आस्थामा पढ्ने विद्यार्थीले सुन्तला रङको कुुर्था–सुरुवाल लगाउने नियम छ । उत्तराले पनि सुरुमा पोसाक लगाएरै विद्यालय जाने गरेकी थिइन् । तर पछि पछि उनलाई लाज लाग्न थाल्यो । किनभने उनले बाटोमा भेटिने धेरैलाई ‘कहाँ, किन गएको’ भनी वृत्तान्त बताउनुपथ्र्यो । त्यसपछि उनी सामान्य लुुगामै विद्यालय जान थालेकी थिइन्, पछिल्लो डेढ वर्ष त कोरोनाले विद्यालय नै बन्दजस्तो छ ।
उत्तराजस्तै ५८ वर्षीया कमला बास्तोला यही शैक्षिक सत्रमा कक्षा १ मा भर्ना भएकी छन् । शिक्षकहरूका अनुसार, भक्तपुर नगरकोटमा बस्ने उनले पढ्ने इच्छालाई पूरा गर्न उक्त विद्यालयमा भर्ना भएकी हुन् । मोबाइल फोन नबोक्ने हुँदा उनीसँग सम्पर्क हुन सकेन ।
सपनाको सपना
काभ्रेकी सपना भुुलुनको १५ वर्षको उमेरमा प्रेम विवाह भएको थियो । विवाहको एक वर्षमै छोरी जन्मिएपछि उनका श्रीमान् वैदेशिक रोजगारीमा लागे । सपनाले काठमाडौंमा बसेर छोरी हुर्काउँदै थिइन् । अरु अभिभावकले आफ्ना छोराछोरीलाई सानैदेखि घरमै पढाएको देख्दा उनलाई पनि रहर हुन्थ्यो, तर उनले अक्षर चिनेकी थिइनन् ।
उनलाई सानैदेखि पढ्ने इच्छा थियो, तर विविध कारणले सानोमा पढ्न पाइनन् । विवाहपछि पढ्नका लागि विद्यालय जुरिरहेको थिएन ।
एक दिन उनले आफूभन्दा पाका उमेरका महिलाले आस्था महिला विद्यालयमा पढिरहेको थाहा पाइन्, त्यसपछि उनी विद्यालयमा बुझ्न पुगिन् । ‘२०६७ मा मैले छोरीलाई एलकेजीमा भर्ना गरेँ र म कक्षा १ मा भर्ना हुन गएँ । मेरो जागिर पनि थियो । त्यसैले बिहान ३ बजे उठेर बच्चाका लागि सबै मिलाएर आफू स्कुल जान्थेँ । हतारहतार स्कुलबाट फर्केर नानीलाई तयार पारी स्कुल पु¥याउँथेँ । त्यसपछि म काममा जान्थेँ,’ उनले भनिन्, ‘कामबाट फर्केर नानीको होमवर्क गराएर आफ्नो पनि गर्थें । कति दिन त २ घन्टा मात्र सुतेकी छु ।’
कक्षा १ मा भर्ना हुँदा सपना २४ वर्षमा हिँड्दै थिइन् । उनीमा पढ्ने जोस र जाँगर पनि उमेरजस्तै उत्कर्षमा थियो । ‘मेरो पढ्ने इच्छाले गर्दा पनि होला, सधैँ परीक्षामा प्रथम हुन्थेँ,’ उनले भनिन्, ‘०७३ सालमा मैले एसएलसी दिएँ । ६७.५ प्रतिशत आएको थियो । भक्तपुरको आदर्श स्कुलबाट मेजर इंग्लिसमा १२ कक्षा उत्तीर्ण भएँ । ब्याचलरमा पनि भर्ना भइसकेँ ।’
पछिल्लो दुई वर्षयता उनी ग्लोबल फाउन्डेसन नामक एनजिओमा आबद्ध भई भक्तपुरका महिलालाई प्रौढ शिक्षा दिइरहेकी छन् ।
आमाको छोरीको सँगै एसइई
जयन्ती अर्यालले यही विद्यालयबाट गत वर्ष एसईई दिइन् । रोमाञ्चक कुरा के छ भने, जयन्ती र उनकी छोरी ज्यास्मिनले एकै वर्ष एसईई दिएका हुन् । ३५ वर्षीया जयन्तीले एसईईमा बी प्लस ल्याइन् भने उनकी छोरीले ८० प्रतिशत ।
१६ वर्षको उमेरमा विवाह भएपछि उनले कक्षा ९ पढ्दापढ्दै छाड्नुपरेको थियो । घरको काम र बच्चा हुर्काउनमै व्यस्त रहेकी उनले आफ्नी फुपुुबाट धेरैअघि आस्था महिला विद्यालयको बारेमा सुनेकी थिइन् । तर, घरको जिम्मेवारीले उनलाई दबाएको थियो । घरपरिवारबाट पनि पढ्नका लागि प्रोत्साहन पाएपछि तीन वर्षअघि ३३ वर्षको उमेरमा उनी कक्षा ९ मा भर्ना भइन् ।
गृहिणी भएकाले घरको काम र पढाइलाई उनले सँगसँगै लैजानुपथ्र्यो । कारोनाका कारण अनलाइन कक्षा हुँदा उनलाई घरको काम गर्दै पढ्न सहज भयो ।
स्थापना
आस्था महिला विद्यालयको नामले जनाउँछ, यहाँ महिलाले मात्रै पढ्छन् भन्ने । त्यसो त यहाँ प्रधानाध्यापक, शिक्षक र कर्मचारी पनि महिला छन् ।
यस विद्यालय २०६५ सालको बुद्ध जयन्तीको दिन स्थापना भएको हो । सुरुमा एउटा सामाजिक संस्थाले भक्तपुरका ८० स्थानमा नौ महिने प्रौढ शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । प्रौढ शिक्षा कार्यक्रममा सहभागी महिलाले पैसा तिरेरै भए पनि थप पढ्ने इच्छा जाहेर गरे । प्रौढ शिक्षा कार्यक्रमको सफलता र महिलाको शिक्षाप्रतिको आकर्षणलाई मध्यनजर गर्दै यस विद्यालय खोलिएको हो ।
यस विद्यालयकी पूर्वअध्यक्ष तथा सल्लाहकार जुना बस्नेत भन्छिन्, ‘प्रौढ शिक्षा कार्यक्रममा म संयोजकका रूपमा कार्यरत थिएँ । त्यो कार्यक्रममा सहभागी महिलाको पढाइप्रति निकै आस्था देखियो । उनीहरूका लागि यस क्षेत्रमा एउटा खुला विद्यालयको आवश्यकता देखेर म, अनिता श्रेष्ठ र पार्वती ज्ञवाली लाग्यौँ ।’
विद्यालय खोल्नका लागि सुरुवाती चरणमा निकै कठिनाइ भोग्नुुपरेको उनी बताउँछिन् । विद्यालय सञ्चालनमा ल्याउनुु अघिसम्म कति विद्यार्थी हुन्छन् भन्ने अनुमान थिएन । त्यसैले कति महिला पढ्न इच्छुक छन् भनी थाहा पाउन जुनाहरूले पाँच सयवटा फारम बनाएर घरघरमा बाँडे । जुना भन्छिन्, ‘दुई सय ५० भन्दा बढी महिलाले पढ्ने इच्छा व्यक्त गर्नुभयो ।’
सुरुमा आफूले आफ्नो घरको कुर्सी र टेबल लगेर विद्यालय स्थापना गरेको जुना बताउँछिन् । विद्यालय सञ्चालनको सुरुवाती चरणमा कक्षा १ देखि ५ सम्मलाई अनौपचारिक शिक्षा दिइएको थियो । अहिले कक्षा ३ सम्मलाई अनौपचारिक शिक्षा दिइन्छ । त्यसपछि सरकारी मान्यता अनुसारको कक्षा चढाइन्छ । ‘सुरुमा कक्षा ५ सम्म अनापचारिक शिक्षा दियौँ । त्यसपछि कक्षा ६, ७ र ८ मा सरकारी मान्यता पायौँ,’ जुना भन्छिन्, ‘तर, जब एसएलसी दिने समय आयो, जिल्ला शिक्षा कार्यालयले अनुमति दिएन । तर खुला विद्यालयको रुपमा एसएलसी दिन पायौँ।’
यस विद्यालयको संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवाली हुन् । उनले बुटवलमा साधना महिला विद्यालय खोलेर इच्छुक महिलालाई शिक्षा दिइरहेकी थिइन् । पछि उनी, जुना बस्नेत र अनिता श्रेष्ठको सह–नेतृत्वमा आस्था महिला विद्यालय खोलिएको हो ।
सामुदायिक विद्यालय भए पनि बजेटको अभावमा सुरुदेखि नै निजी भवनमा कक्षा सञ्चालन गर्दै आएको जुना बताउँछिन् ।
खर्च
यस विद्यालयमा भर्ना शुल्कबापत १३ सय रुपैयाँ तिर्नुपर्छ । यस्तै मासिक शुल्क ३ सयदेखि ४ सय रुपैयाँ लाग्छ ।
विद्यालयको अन्य खर्चका लागि सरकारको तर्फबाट वार्षिक ७ लाख १५ हजार आउँछ भने विद्यालयमा आबद्ध ३५ जना संस्थापक सदस्यबाट वार्षिक ५ हजार उठाउने गरिएको छ । यस विद्यालयमा ७५ जना आजीवन सदस्य छन् ।
विद्यालयकी उप–प्रधानाध्यापक विणा देउजाका अनुसार, अहिले यस विद्यालयमा १ सय १० विद्यार्थी र १० शिक्षक छन् । ‘अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेको भएर नयाँ भर्नामा कम विद्यार्थी आउनुभयो,’ देउजा भन्छिन् ‘अहिले कुल विद्यार्थीमध्ये १३ जनाले यसपालि एसईई दिनेछन् ।’
उनका अनुसार अहिले यहाँ १४ वर्षदेखि ५८ वर्षसम्मका महिलाले पढिरहेका छन् । अहिलेसम्म ९औँ ब्याचले एसएलसी÷एसईई दिइसकेका छन् ।
यस विद्यालयबाटै पढेका कतिपय विद्यार्थी अहिले मेडिकल, व्यापार र विभिन्न एनजिओ तथा आइएनजिओमा आबद्ध भएका छन् भने कतिपयले आफ्नो पढाइलाई निरन्तरता दिएर उच्च शिक्षा पढिरहेका छन् ।
विणाले यहाँ नेपाली विषय पढाउँछिन् । पाका महिलाले पढाएको कुरा छिटै बुुझे पनि छिटै बिर्सने उनको उनको अनुुभव छ । ‘घरको सबै जिम्मेवारी तथा घरधन्दा सम्हाल्नुपरेकाले पनि यस्तो भएको हुनसक्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ हामीले केही समय थपेर पढाउँदा घरको काम र चिन्ता लिन थालिसकेका हुन्छन् ।’
यस विद्यालयममा विशेषतः सानोमा पढ्न नपाएका, विवाहपछि पढाइ छुटेका महिला आउने विणा बताउँछिन् । कतिपयले यस विद्यालय कक्षा १० सम्म पढेर पनि उच्च शिक्षा लिँदैनन्, कारण उनीहरूले चाहेजस्तो कलेज छैन । ‘यहाँबाट एसएलसी वा एसइई गरेका केहीले क्याम्पस पढिरहेका छन् भने केहीले यहीँ १२ सम्मको कक्षा सञ्चालन गर्न आग्रह गरिरहेका छन्,’ विणाले भनिन्, ‘१२ सम्म यहीँ पढ्न पाए अरु ठाउँमा गएर बच्चाहरूसँग पढ्नुपर्दैनथ्यो भन्ने धेरै छन् ।’