राजनीतिक गतिविधिका लागि किन मंसिर रोज्छन् दलहरू ?
असार-साउनमा रोपेको मानो मुरी बनाएर भित्र्याउने किसान र विवाह बन्धनमा बाँधिने जोडीहरू मात्र होइन, यस वर्ष तीनवटा पार्टीका महाधिवेशन सम्पन्न भएर नेतृत्वहरू निर्वाचित हुने भएकाले मंसिर खास महिना बनेको छ।काठमाडौं, भदौ १० : मंसिरलाई कृषकहरूको महिनाका रूपमा चिनिन्छ। यो महिना महत्त्वपूर्ण हुनुको कारण हो- असार-साउनमा रोपिएको मानो (धान) मुरी बनाएर भित्र्याउने समय। किसानले वर्षभरि गरेको मिहिनेतको फल भित्र्याउने महिना मंसिर नै हो। त्यसैले यो महिनाभरि धान काट्न र दाहीँ गर्न व्यस्त रहन्छन् किसान।
मंसिरमै हो, चार महिना रोकिएर विवाहको लग्न सुरु हुने पनि। त्यसैले वैवाहिक जीवनमा बाँधिनेहरूका लागि पनि ‘स्विटेबल’ मानिन्छ, मंसिर। र, वैवाहिक उत्सवको महिनाका रूपमा समेत यो महिना परिचित छ। हुन त, वैशाख, जेठ, असार, माघ र फागुन पनि वैवाहिक लग्नका लागि उपयुक्त महिना मानिन्छन्। तर पनि, वर्षौँदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गराउन र मागी विवाहका लागि पनि प्रायजसोको रोजाइमा मंसिर नै पर्ने गरेको छ।
यसपटकको मंसिरको कुरा फरक छ। दुई ठूला दल कांग्रेस र एमालेले आ-आफ्ना पार्टीका सर्वोच्च निकाय महाधिवेशन सम्पन्न गर्ने समय पनि मंसिरमै जुराएका छन्। त्यसैले किसान र वैवाहिक जोडीका लागि मात्र नभई यस वर्षको मंसिर राजनीतिकर्मीका लागि पनि चटारोको महिना हुने भएको छ।
तथापि, यो संयोग मात्र हो। खासगरी, मौसमका दृष्टिकोणले पनि मंसिर राम्रो महिना मानिन्छ- गर्मी कम भइसकेको र जाडो विस्तारै पलाउँदै गर्ने भएकाले यसवर्ष राजनीतिक दलहरूको समेत रोजाइमा परेको छ, मंसिर। मुलुकमा आम निर्वाचन होस् वा राजनीतिक दलका महाधिवेशनहरू, मंसिरमै सम्पन्न भएका विगतका उदाहरण पनि छन्।
नेपालमा भएको दोस्रो संविधान सभा (०७०), संघीय संसद् र प्रदेशसभा (०७४) पनि मंसिरमै सम्पन्न भएका थिए। साथै, तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दा पनि मध्यावधि निर्वाचन २८ कात्तिक र ३ मंसिरका लागि तोकेका थिए। भलै, सर्वोच्च अदालतले उनको कदम गैरसंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्यो र ओलीको योजना तुहियो।
संयोग नै मान्नुपर्छ, देशमा सत्ताको बागडोरमा रहेको कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेले आ-आफ्ना पार्टीको महाधिवेशन पनि मंसिरमा गर्दै छन्। कांग्रेसले आफ्नो १४औँ महाधिवेशन ९-१३ मंसिरमा लागि तय गरेको छ। यसअघि दुई पटकसम्म घोषणा गरेर स्थगित भएको महाधिवेशन सम्पन्न गर्ने तिथि कांग्रेसले मंसिरलाई रोजेको छ। कानूनी व्यवस्थाका कारण पार्टी संवैधानिक जटिलतामा पर्दै गर्दा कांग्रेसले तल्लो तहका अधिवेशन सकेर मंसिरमा महाधिवेशन गर्ने निश्चित गरेको हो।
तथापि, केन्द्रीय महाधिवेशन मंसिरमै गर्नका लागि कुनै साइत जुराएर नतोकिएको र यो संयोग मात्र भएको कांग्रेसका एक नेताले काठमाडौं प्रेसलाई बताए। ती नेताले भने, ‘पहिला फागुनमा त्यसपछि भदौमा पनि तोकिएकै हो। त्यतिबेला महाधिवेशन हुन नसकेकाले मंसिरमा तोकिएको हो मंसिर तोक्नुको त्यस्तो खास केही कारण छैन। समय मिलाउँदै लैजादा मंसिर परेको हो।’ लगभग कांग्रेसका वडा तहका अधिवेशन सुरु भएर पालिका, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रियामा सम्पन्न हुन लगभग तीन महिना लाग्ने भएकाले मंसिर पुगेको उनको भनाइ छ।
यता, भर्खरै सत्तापक्षबाट प्रमुख प्रतिपक्षी दलमा परिणत भएको एमालेले पनि गत मंगलबार मात्र मंसिरमै केन्द्रीय महाधिवेशन तोक्नु अर्को संयोग हो। एमालेले कांग्रेससँग मात्र एक दिनको फरक १०-१३ मंसिरका लागि महाधिवेशन तोकेको छ। कांग्रेसको जस्तै संवैधानिक संकट एमालेमा पनि रहेकाले आफ्नो पार्टीको महाधिवेशन मंसिरमा तोकिएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
‘हामीले पनि आउँदो वैशाखभित्र १० औँ राष्ट्रिय महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ,’ रिजालले भने, ‘फागुन र चैतमा कानूनअनुसार स्थानीय तहहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने कानूनी जटिलता भएकोले महाधिवेशन गर्न सक्दैनौँ। पुस र माघमा जाडोका कारणले पनि त्यति उचित नदेखिएकाले मंसिरको विकल्प नदेखिएको हो। ’ यद्यपि, उक्त मितिमा ८-१० दिन तलमाथि भने हुन सक्ने रिजालको भनाइ छ।
कांग्रेस र एमालेजस्तै राप्रपाले मंसिर लाग्दै गर्दा कात्तिक अन्तिम साता पार्टी महाधिवेशनको तिथि तोकेको छ। यसअघि दुई पटकसम्म स्थगित भएको राप्रपाको एकता महाधिवेशन २७-३० कात्तिकमा लागि तोकिएको छ।
राप्रपालाई भने कांग्रेस र एमालेलाई जस्तो निर्वाचन कानूनअनुसारको जटिलता छैन। यसअघि पहिलोपटक २५-२८ वैशाख र दोस्रो पटक २२ -२५ जेठका लागि तोकिएको महाधिवेशन कोरोना महामारीका कारण स्थगित गर्नुपरेकाले कात्तिक अन्तिम साता जुराइएको राप्रपा नेता मोहन श्रेष्ठले बताए। पार्टीभित्रका प्रक्रियागत अन्योलका कारण र देशभर कोरोनाको लहर चलिरहेकाले यसअघि स्थगित गरिए पनि अब भने समयमै महाधिवेशन हुने उनको भनाइ छ।
मंसिरलाई नेपालमा अरू महिनाभन्दा विशेष मान्ने गरिएको छ। सोही कारण धेरैको रोजाइमा यो महिना पर्ने गरेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए। ‘मंसिरमा धानबाली भित्र्याउने, प्राकृतिक वातावरण सफा रहने, बाटोघाटो सुक्खा रहने, नदीनाला सफा रहने, जाडोयाम सुरु हुने भएकाले स्वास्थ्य पनि राम्रो हुने भएको कारण पनि यसलाई अन्य महिनाको तुलनामा उत्कृष्ट मानिन्छ,’ अधिकारीले भने।’ भगवान कृष्णले समेत मंसिरको गीतामा उल्लेख गरेका छन्। अधिकारीका अनुसार ‘महिना मध्येमा म मंसिर महिना हुँ’ भनेर उनले द्वापर युगको अन्त्यमा भएको जनविश्वास रहेको महाभारत युद्धअघि अर्जुनलाई बताएको गीतामा उल्लेख छ।