बागलुङमा सबैभन्दा बढी बेरुजु ढोरपाटनमा
बलेवा, भदौ ६ : बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ। महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका...बलेवा, भदौ ६ : बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ।
महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन्।
आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदनमा बरेङमा ५.२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६÷०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो। बरेङमा रु ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा रु २७ लाख ७६ हजार बेरुजु देखिएको छ।
ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ। ताराखोलामा १.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको हो।
आव २०७६/०७७ मा ढोरपाटन नगरपालिकामा छ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ। बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ। बागलुङमा रु दुई अर्ब पाँच करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकामा रु तीन करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। काठखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ। जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु छ।
तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ। ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकामा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ। निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ। ७५ करोड ७४ लाख नौ हजार लेखा परीक्षण रकम रहेकामा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ। गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ।
रु एक अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण हुँदा रु एक करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ। बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ। त्यहाँ एक अर्ब २४ करोड ४९ लाख छ हजार लेखा परीक्षण रकम रहेकामा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो।