शेयर बजारमा केही सकारात्मक संकेत, के बजार बढ्ला?
काठमाडौं, असार ३० : बजारमा अन्तिम समयमा आएको खरिद चापले गर्दा बजार आज ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। बजारको अन्तिम र उच्च विन्....
काठमाडौं, असार ३० : बजारमा अन्तिम समयमा आएको खरिद चापले गर्दा बजार आज ‘इन्ट्राडे हाई’ मा बन्द भएको छ। बजारको अन्तिम र उच्च विन्दु एउटै भएकाले सोमबार बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको छ।
बजार वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। आज ४३ करोड ०५ लाख बराबरको शेयर किनबेच भएको छ। साउन नजिकिँदै जाँदा बजारमा लगानीकर्ता सक्रिय हुन थालेको प्रष्ट देखिन्छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५ दशमलव ०८ ले वृद्धि हुँदै १२५४ दशमलव ५६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४१ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२४९ दशमलव ४९ को विन्दुमा खुलेको थियो भने १२५४ दशमलव ५६ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२४९ दशमलव १७ थियो।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज स्वेदेशी लघुवित्तका शेयरधनीले सर्वाधिक ५ प्रतिशतले कमाए भने नविल बैंक लिमिटेडका शेयरधनीले सर्वाधिक ३ दशमलव १५ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध १२५५ र तत्कालीन टेवा १२४४ भनिएको थियो। आज बजार यी दुबै क्षेत्रभित्र उतारचढाव हुँदा नेप्से परिसूचक १२५४ दशमलव ५६ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम विगत चार कारोबार दिनदेखि प्रवृत्तिहीन रहेको बजार आज सकारात्मक हुन खोजेको देखिन्छ। अन्तिम दिनको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा क्रेता हाबी रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई हेर्दा बजारले आज १२५५ को प्रतिरोधलाई सामना गरिरहेको देखिन्छ। आज बजारमा विक्रेताभन्दा पनि क्रेता सक्रिय रहेको संकेत गरेको छ।
आज बजारको प्रवृत्ति ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा माथि रहेकाले बजार सकारात्मक देखिएको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६४ दशमलव ६० अंकमा रहेको छ। यसको प्रवृत्तिले वियरिस डाइभर्जेन्स बनाएकाले बजार केही सच्चिन सक्ने संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा बजार बढ्न सक्ने संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेपनि हाल बजार सकारात्मक क्षेत्रमा रहेको र यदि बजार १२५५ भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३७ मा रहेको देखिन्छ।