साताका सात समाचारः संसद् विघटनमा बहस जारी, बाढी पहिरोबाट ठूलो क्षति (भिडियाेसहित)
रसुवागढीको व्यापार कब्जा गर्ने उद्देश्यले चीनतर्फबाट पठाइएको गैरकानूनी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकृत गरेको समाचार पाठकको नजरमा पर्यो ।
काठमाडौं, असार १९ : गत साता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रिट निवेदक र सरकार पक्षका वकिलहरूका बहस चर्चामा रहे ।
यस्तै, रसुवागढीको व्यापार कब्जा गर्ने उद्देश्यले चीनतर्फबाट पठाइएको गैरकानूनी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकृत गरेको समाचार पाठकको नजरमा पर्यो ।
मनसुन सुरु हुनासाथ देशभर बाढी पहिरोले जनधनको क्षति पुर्याएका समाचारले पनि गत साता चर्चा पाए । प्रस्तुत छ, गत साताभर चर्चामा रहेका सात समाचारको सूची:
१) संसद् विघटनको रिटमा बहस जारी
यो साता प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको पक्ष विपक्षमा बहस भयो ।
रिट निवेदकतर्फबाट ३६ जना कानून व्यवशायीहरूले बहस गरेका थिए भने सरकारको तर्फबाट ११ सरकारी वकिल र २१ कानून व्यवसायी गरी ३२ जनाले बहस गरेका थिए ।
अब आइतबार सभामुखका वकिलले दुई घण्टा बहस गर्नेछन् । त्यसलगत्तै रिट निवेदकतर्फका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि एमिकस क्युरीका चार कानून व्यवसायीका लागि दुई घण्टाको समय छुट्याइएको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका पाँच दल कानूनी र राजनीतिक लडाईंमा छन् ।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
२) रसुवागढीको व्यापार कब्जा गर्ने चिनियाँ प्रस्ताव अस्वीकृत
रसुवागढीको व्यापार नै व्यापारिक समूहको कब्जामा पु¥याउने चिनियाँ प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकृत गरेको छ। १३ असारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले उक्त चिनियाँ प्रस्ताव अस्वीकृत गरेको हो।
‘रसुवा पोर्ट म्यानेजमेन्ट कमिटी’ नाममा गैरकानूनी संरचना खडा गरेर भइरहेको उक्त प्रयासमा जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीका ‘एडमिनिस्ट्रेटिभ हेड’ दा चुनले विशेष चासो दिँदै कार्यान्वयन गर्न नेपाली पक्षलाई दबाब तीव्र बनाएका थिए। नेपालतर्फका केही युवालाई प्रयोग गरेर चीनतर्फका व्यापारीले रसुवागढीको व्यापार कब्जा गर्ने प्रयास गरेका थिए।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
विपक्षी गठबन्धनअन्तर्गतका पाँच दलसम्बद्ध संयुक्त विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले यो साता काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्दै सरकारको विरोध गरेका छन्।
आक्रोशित भई सरकारको विरोधमा नाराबाजी गरिरहेका विद्यार्थीहरूले पुत्ला जलाउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। पुत्ला खोस्ने क्रममा प्रहरी र विद्यार्थीबीच केहीबेर झडप पनि भएको थियो।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
४) देशभर बाढीपहिरोले जनधनको ठूलो क्षति
अविरल वर्षासँगै आएको बाढीपहिरोले देशभर जनधनको क्षति भएको छ। झापा, मोरङ, सुनसरी, सिरहा, महोत्तरी, धनुषा, पर्सा, चितवन, तनहुँ, सिन्धुली, मनाङलगायत देशभर विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण धेरैको मृत्यु भएको छ भने कैयौं विस्थापित भएका छन्।
सबैतिर भएका भौतिक क्षतिको यकिन विवरण आइनसकेको भए पनि अर्बौँको क्षति भएको अनुमान गरिएको छ। अन्य जिल्लामा पनि केही दिनदेखि अविरल वर्षा भइरहेका कारण सतर्कता अपनाउन आग्रह गरिएको छ।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
५) आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरु
कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान असार १७ गतेदेखि सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने तालिका बनाएको छ।
यस्तै, १७ गतेबाटै आन्तरिक उडान पनि सुरु भएका छन्। वैशाख १६ मा निषेधाज्ञा लागू भएपछि वैशाख २० बाट रद्द भएका आन्तरिक उडान करिब दुई महिनापछि पुनः सञ्चालन भएको हो। दैनिक ६४ उडान हुनेगरी आन्तरिक उडान सञ्चालन गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
६) कोभिडले रोकिएका त्रिवि र लोकसेवाका परीक्षा साउनबाट
कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् । आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै साउन १५ बाट परीक्षा सञ्चालन हुने जनाएको हो ।
यस्तै, त्रिभुवन विश्वविद्यालयले पनि कोभिड महामारीका कारण स्थगित सबै परीक्षा सुरु गर्ने जनाएको छ। रोकिएका सबै परीक्षा यसै वर्ष सक्ने निर्णय गर्दै टियुले स्नातक तहका विभिन्न वर्षको परीक्षा तालिका समेत सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न गर्ने र दशैँपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी रहेको छ । दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
लाेकसेवा आयोगकाे समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
त्रिविकाे समाचार पढ्न यहाँ क्लिक गर्नुहाेस्।
७) कोभिड–१९ः परीक्षण कम भएपछि घटे संक्रमित
गत साताभन्दा यो साता कोभिड–१९ संक्रमितहरुको संख्या घटेको छ। गत साता १३ हजार दुई सय पाँच जनाको पजिटिभ रिपोर्ट आएको थियो भने पछिल्लो सात दिनमा १० हजार नौ सय एकजनामा मात्र संक्रमण देखिएको छ।
संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि कमि आएको स्वास्थ्य मन्त्रालको रिपोर्टमा उल्लेख छ। गत साता ३०० जनाको मृत्यु हुँदा यो साता दुई सय चार जनाले मात्र कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।
तर, यो साता परीक्षण गराउनेको संख्यामा पनि कमी आएको छ। गत साता लगभग ५५ हजारले कोभिड–१९ परीक्षण गरेका थिए भने यो साता ५१ हजारले मात्र परीक्षण गराएका छन्।
हाल संक्रमितको संख्या कम हुनुको कारण कम परीक्षण गरिनु पनि हो। यो साता दैनिक सात हजारको औसतमा परीक्षण भएको छ। गत महिना यो समय औसतमा दैनिक १४ हजारभन्दा बढीको परीक्षण हुने गरेको थियो।










-1789821441.jpg)
