Kathmandu Press

पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत

१५ घण्टा विमानस्थल सञ्चालन गर्दा प्रतिघण्टा दुईवटा उडान सम्भव हुने उनको भनाइ छ । करिब १५ लाख यात्रु आवागमनको अवस्था सिर्जना गर्न सके मात्रै विमानस्थल र वायुसेवा कम्पनीले सञ्चालनको अर्थतन्त्र (इकोनोमी अफ स्केल) प्राप्त गर्न सक्ने उनले बताए।
पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बिरेन्द्र बस्नेत

काठमाडौं, मंसिर ८ : बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा, प्रतिस्पर्धी हवाई भाडा र पर्याप्त यात्रु सुनिश्चित हुनुपर्ने बताएका छन्। 

विमानस्थल निर्माण गरेर मात्रै प्रतिफल प्राप्त नहुने भन्दै उनले त्यसलाई पर्यटन र क्षेत्रीय अर्थतन्त्रसँग जोडेर सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज ९आईआईडीएस० ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले पोखरा विमानस्थल सञ्चालनका लागि पाँचवटा अनिवार्य पूर्वसर्त पूरा गर्नुपर्ने बताए। उनका अनुसार काठमाडौंको तुलनामा सस्तो सञ्चालन लागत, पर्याप्त यात्रु, आफ्नै अन्तर्राष्ट्रिय उडान, पर्यटनसँग जोडिएको व्यावसायिक संरचना र जोखिमको साझेदारी पोखरा विमानस्थलको दिगो सञ्चालनका आधार हुन्।

उनले पोखराबाट कम्तीमा दैनिक ३० वटा उडान आवागमन सञ्चालन गर्न सक्ने अवस्था बनाउनुपर्ने बताए । १५ घण्टा विमानस्थल सञ्चालन गर्दा प्रतिघण्टा दुईवटा उडान सम्भव हुने उनको भनाइ छ । करिब १५ लाख यात्रु आवागमनको अवस्था सिर्जना गर्न सके मात्रै विमानस्थल र वायुसेवा कम्पनीले सञ्चालनको अर्थतन्त्र (इकोनोमी अफ स्केल) प्राप्त गर्न सक्ने उनले बताए।

‘इकोनोमी अफ स्केल नभई एयरलाइन्सको सञ्चालन नाफामूलक हुन सक्दैन,’ उनले भने। बस्नेतले पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालनका लागि मौसम र भिजिबिलिटीसम्बन्धी चुनौती समाधान हुने सम्भावना देखिएको बताए। 

आरएनपी–एआर प्रक्रियाबाट कम भिजिबिलिटीमा समेत विमान अवतरण गर्न सक्ने अवस्था बन्ने उनको अपेक्षा छ । यसले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना बढाउने उनले बताए।

बुद्ध एयरले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विभिन्न विमानको प्राविधिक तथा व्यावसायिक सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए। पाँच वर्षअघि गरिएको अध्ययनलाई पुनःमूल्यांकन गर्न लागिएको र एकदेखि दुई महिनाभित्र अध्ययन पूरा गर्ने उनको भनाइ छ। 

विशेषगरी फ्लाई दुबईले प्रयोग गरिरहेको बोइङ ७३७ म्याक्स ८ विमानको सञ्चालन सम्भावनालाई पनि अध्ययनमा समेटिएको उनले बताए।

बस्नेतले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपाली यात्रुको संख्यामा मात्रै भर पर्न नसकिने स्पष्ट पारे। 

नेपालको जनसंख्या र बजारको आकारका आधारमा आन्तरिक यात्रुबाट मात्रै अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन कठिन हुने उनको भनाइ छ । त्यसका लागि पर्यटनलाई मुख्य आधार बनाएर विदेशी पर्यटक आकर्षित गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, मंसिर ८, २०८३