यस्तो रह्यो यो साता शेयर बजार, अब के होला?
काठमाडौं, असार ७ : गत साता नेप्से परिसूचक १२६९ दशमलव ५६ विन्दुमा खुलेको थियो भने १२७१ दशमलव २७ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो....
काठमाडौं, असार ७ : गत साता नेप्से परिसूचक १२६९ दशमलव ५६ विन्दुमा खुलेको थियो भने १२७१ दशमलव २७ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो।
त्यस्तै, ‘इन्ट्राडे’ न्यून विन्दु १२५४ दशमलव ५२ थियो भने बजार १२६४ दशमलव ३६ विन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा ० दशमलव ४२ प्रतिशतको गिरावट हो। यो साता पाँच कारोबार दिनमा १ अर्ब ९१ करोड ५० लाख बराबर रकमको शेयर कारोबार भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत ११ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ।
अघिल्लो साताको विश्लेषणको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा १२५० देखि १२६० को क्षेत्रमा रहेको भनिएको थियो। यो साता बजारले १२५४ दशमलव ५२ मा टेवा प्राप्त गरी बजार हालसम्म सकारात्मक देखिन्छ।
चित्रमा देखिए बमोजिम यो साताको मैनबत्ती आकृतिले पनि बजारमा लगानीकर्ताहरुको सहभागिता कम र अन्योल अवस्थामा रहेको देखिन्छ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दैनिक मैनबत्ती प्रवृत्तिले गत २ सातादेखि नेप्से घट्दो प्रवृत्तिमा रहेकोमा हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ।
यो साता पनि १४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४० दशमलव ६३ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। अन्तिम दिनको मैनबत्तीलाई समग्रमा हेर्ने हो भने त्यस दिन क्रेताको चाप रहेको संकेत गरेको छ।
निष्कर्ष : हालसम्म नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको तर निश्चित रुपमा बजार सकारात्मक भइहाल्ने बलियो संकेत भने दिएको छैन। समग्रमा हेर्दा यदि बजार १२७२ भन्दा भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन मुख्य प्रतिरोध १२८० देखि १३०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन टेवा १२५० को क्षेत्रमा रहेको देखिन्छ।