दोस्रो बजारमा कम चहलपहल, कारोबार रकममा आयो गिरावट
काठमाडौं, असार ३ : शेयर कारोबार रकममा गिरावट आउने क्रम जारी छ। शेयर कारोबारमा आएको गिरावटसँगै लगानीकर्ताहरु आक्रमक रुपमा शेयर खरिद र बिक्री गर्न ....
काठमाडौं, असार ३ : शेयर कारोबार रकममा गिरावट आउने क्रम जारी छ। शेयर कारोबारमा आएको गिरावटसँगै लगानीकर्ताहरु आक्रमक रुपमा शेयर खरिद र बिक्री गर्न सकेका छैनन्। त्यसैले बजार मंगलबार स्थिर भयो।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २ दशमलव २३ को सामान्य अंकले घटेर १२५८ दशमलव ६६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १८ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२६० दशमलव ९० को विन्दुमा खुलेको थियो भने १२६३ दशमलव ५६ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२५८ दशमलव ३६ थियो। दिनभरमा ३५ करोड ९४ लाखको शेयर किनबेच भएको छ। कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ। बजारको न्यून विन्दु र बजार पनि त्यही विन्दुको वरिपरि बन्द भएकाले प्राविधिक भाषामा बजार ‘इन्ट्राडे लो’मा बन्द भएको छ। ‘इन्ट्राडे लो’ लाई त्यति सकारात्मक विन्दु मानिँदैन।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटल्सको शेयर किनबेच भएको छ। तारागाउँ रिजेन्सी होटल्सको ४ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ६ दशमलव ९४ प्रतिशतले कमाए भने समता माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ३८ प्रतिशतले गुमाए।
साधारणसभा गतिविधि
लाभांस सम्बन्धी कुनै पनि प्रस्तावबिना वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ।
बुक क्लोज गतिविधि
मल्टीपर्पस फाइनान्सले ८६५ प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ यही असार ११ गते बुक क्लोज गर्दैछ। असार १० गतेसम्म कायम शेयर धनीले सो हकप्रद शेयर खरिद गर्न सक्ने छन्।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध र टेवा क्रमशः १२६५ र १२५४ मा रहेको थियो। आज बजार यही विन्दुभित्र सीमित रहेर उतारचढाव भएकाले बजार प्रवृत्तिहीन रहेको छ। आज बजार १२५८ दशमलव ६६ विन्दुमा बन्द भएको छ।
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि प्रवृत्तिहीन रहेको बजार हाल घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारको उतारचढाव कम रहेको र परिमाणले लगानीकर्ताको सहभागिता कम रहेको संकेत गरेको छ। समग्रमा हेर्दा लगानीकर्ताहरु हाल पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ र बजार अन्योल अवस्थामा रहेको देखिन्छ।
बजार प्रवत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत हाल प्रभावकारी देखिँदैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स ३२ दशमलब ६३ अंकमा रहेको छ। यसले कारोबारको अन्तिम समयमा विक्रेता हाबी रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२७५ मा रहेको देखिन्छ। हाल बजारको सामान्य तत्कालीन टेवा १२५४ देखि १२५८ को क्षेत्रमा रहेको देखिन्छ।