आज पनि शेयर बजारमा अन्योल, अब के होला?
काठमाडौं, असार २ : सोमबार १२ बजेर ३० मिनेटबाट बजार केही बढ्न सुरु गरेको थियो। तर, दिउँसो २ बजेबाट पुनः विक्रीकर्ता नै हाबी भएका थिए। दोस्रो बजारल....
काठमाडौं, असार २ : सोमबार १२ बजेर ३० मिनेटबाट बजार केही बढ्न सुरु गरेको थियो। तर, दिउँसो २ बजेबाट पुनः विक्रीकर्ता नै हाबी भएका थिए। दोस्रो बजारलाई कारोबार रकमले भने साथ दिएको छैन।
नेप्से परिसूचकलाई निकै असर पुर्याउने वाणिज्य बैंकहरुको उपसूचकमा भने सामान्य वृद्धि देखिएको छ। सबै उपसूचकमा वृद्धि देखिएपनि विकास बैंक, लघुवित्त र जीवन बीमा कम्पनीहरुको उपसूचकमा भने गिरावट देखिएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २ दशमलव ५३ को सामान्य अंकले वृद्धि भएर १२६० दशमलव ९० को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव २१ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५८ दशमलव २७ को विन्दुमा खुलेको थियो भने १२६४ दशमलव ९७ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२५४ दशमलव ५२ थियो। दिनभरमा ४० करोड ३५ लाखको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ३ करोड २९ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ७३ प्रतिशतले कमाए भने ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ८ प्रतिशतले गुमाए।
शेयर सूचीकरण
आज नबिल बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
मूल्य समायोजन
जनउत्थान लघुवित्तको शत प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ शेयर मूल्य समायोजन भएको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने भनिएको थियो। आज बजारले १२६५ को प्रतिरोधलाई सामना गरी बजार केही सच्चिएर १२६० दशमलव ९० विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि प्रवृत्तिहीन रहेको बजार हाल घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेपनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण सामान्य रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजार अन्योल अवस्थामा रहेको देखिन्छ।
आज बजार प्रवत्तिहीन देखिएकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत हाल प्रभावकारी देखिँदैन।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५६ दशमलव ९८ अंकमा रहेको छ। यसले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गर्नुका साथै बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२७५ मा रहेको देखिन्छ। हाल बजारको सामान्य तत्कालीन टेवा १२५४ मा रहेको देखिन्छ भने मुख्य टेवा १२५० मा रहेको देखिन्छ।