Kathmandu Press

बिहीबार रातिको बालुवाटार बैठकः २ जेठमा फर्किन ओलीको असहमति, निस्किएन निष्कर्ष

प्रधानमन्त्री ओलीसँग एमाले उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले वार्ता गरेका थिए। साढे आठ बजेदेखि सुरु भएको वार्ता सवा ११ मा सकिएको थियो।
बिहीबार रातिको बालुवाटार बैठकः २ जेठमा फर्किन ओलीको असहमति, निस्किएन निष्कर्ष

काठमाडौं, वैशाख २४ : बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको पौने तीन घण्टा लामो वार्तामा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताको प्रस्थान विन्दु २ जेठ ०७५ लाई बनाउन असहमति व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीसँग एमाले उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले वार्ता गरेका थिए। साढे आठ बजेदेखि सुरु भएको वार्ता सवा ११ मा सकिएको थियो।

त्यसक्रममा कुनै सहमति नजुटेको सचिव भट्टराईले जानकारी दिए। ‘हामीले पार्टी एकताको आधार २ जेठ ०७५ अर्थात् माओवादी केन्द्रसँग पार्टी एकता भएको भन्दा अगाडिको अवस्थालाई बनाऔँ, त्यसबाट तपाईंलाई केही घाटा छैन भन्यौँ,’ भट्टराईले काठमाडौं प्रेससँग भने, ‘तर, उहाँ त्यसमा सहमत देखिनुभएन।’

भुसाल र भट्टराईले राखेको प्रस्ताव एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीहरूलाई ब्युँताएर अगाडि बढ्ने भन्ने हो। २३ फागुन ०७७ मा सर्वोच्च अदालतले तत्कालीन नेकपाको दर्ता खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग पार्टी हुने फैसला दिएयता एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले त्यसैलाई बटमलाइन बनाउँदै आएको छ। पार्टी अध्यक्ष ओली र उनी समर्थक समूहले भने त्यसमा असहमति जनाउँदै आएको छ।

बिहीबार रातिको वार्तामा पनि भुसाल र भट्टराईले नवौँ महाधिवेशनलाई पार्टी एकताको आधार बनाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले ‘आउनूस् न, पार्टीमा आएर काम गर्नूस् न’ भन्ने आशयको जवाफ भुसाल र भट्टराईलाई दिएका थिए। आफूले गरेका सबै निर्णय स्वीकारेर पार्टीमा सक्रिय हुनुपर्ने दुवै नेतालाई बताएका थिए। ‘२ जेठमा फर्किने कुरामा उहाँको कुनै सहमति देखिएन। तर, त्यो नै अन्तिम नहुन सक्छ उहाँको कुरा पनि,’ भट्टराईले भने, ‘विभिन्न कुनाकाप्चामा वार्ताहरू भइरहेका छन्। एकताको विकल्प छैन। पार्टी एक रहने आशा अझै पनि छ।’

पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा पार्टीलाई मिलाएर लैजान भुसाल र भट्टराई दुवैले आग्रह गरेका थिए। ‘सबैलाई मिलाउनूस्, समेट्नूस्। हिजोका कुरा छाडिदिनोस्। हिजोका तीतामिठा कुरालाई कुनै बेला समीक्षा गरौँला, आत्मालोचना पनि हुन सक्छ। तपाईंबाट पनि गल्ती भएको छ, माधवकुमार नेपालबाट र हामीबाट पनि गल्ती भयो होला। अहिलेलाई पार्टी एकता जोगाउन सकियो भने भोलि फेरि वाम आन्दोलनलाई बृहत रूप दिन सकिन्छ भनेर हामीले भन्यौँ,’ भट्टराईले भने, ‘त्यसबाट उहाँलाई केही घाटा नभएको सम्झायौँ। उहाँ त्यसमा त्यति सहमत हुने कुरा देखिएन। अनि फेरि छलफल गरौँला भनेर हामी निस्कियौँ।’ ओलीले आफ्ना निर्णय मानेर आउनुपर्ने अडान नछाडेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
 

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्