Kathmandu Press

लेखक सुबिनको सिफारिसका नेपाली पाँच पुस्तक 

नेपाली पाँच कृति सम्झनुपर्दा उनले बिपी कोइरालाका मात्रै तीनवटा कृतिको नाम लिए । उनी जोड दिएर भन्छन्, ‘नरेन्द्रदाइ नेपाली भाषाको मात्र होइन, मैले पढेका कैयौँ महान् भनिएका अन्तर्राष्ट्रिय उपन्यासमध्येकै सर्वश्रेष्ठ उपन्यास हो ।’
लेखक सुबिनको सिफारिसका नेपाली पाँच पुस्तक 

काठमाडौं, वैशाख २४ : कोभिड–१९ को दोस्रो लहरले संक्रमित बढेसँगै यतिबेला उपत्यका लगायत प्रभावित क्षेत्रमा लकडाउन गरिएको छ । कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाउँदै घरभित्रै बसेका बेला गर्न सकिने थुप्रै काम छन्, त्यसमध्ये एक हो– अध्ययन । 

पुस्तक पढ्ने भनेर मात्र हुँदैन, पुस्तकका विभिन्न विधा छन् भने मानिसका आ–आफ्नै रुचि । कतिपयलाई सुरुवाती अवस्थामा कुन पुस्तक पढ्ने भन्ने अन्योल हुन सक्छ । यस्तो बेला युवा पुस्तामाझ चर्चित लेखक सुबिन भट्टराईको सुझाव कस्तो होला ? 

नेपाली पाँच कृति सम्झनुपर्दा उनले विश्वेश्वरप्रसाद कोइरालाका मात्रै तीनवटा कृतिको नाम लिए । कथाकी पात्र, समर लभ, मनसुन र प्रिय सुफी पुस्तकका लेखक भट्टराई निम्न पाँच नेपाली पुस्तक पढ्न सिफारिस गर्छन् । 

Hardik ivf

नरेन्द्र दाइ 

प्रसिद्ध राजनीतिज्ञ तथा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ नयाँ चिन्तन, आयाम, परम्परा र शैली दिएर अमर बनेका विश्वेश्वरप्रसाद कोइरालाका थुप्रै लोकप्रिय पुस्तक छन्, जुन अध्ययनका लागि उत्तिकै महत्वपूर्ण छन् । 

यसैमध्येको एक उत्कृष्ट कृतिका रूपमा उपन्यास ‘नरेन्द्रदाइ’ लाई लिन सकिन्छ । नरेन्द्रदाइ यौन मनोविज्ञानमा आधारित एक उत्कृष्ट कृति हो । यस उपन्यासमा एकातिर कोइरालाले गाउँको बडो सजीव चित्रण गरेका छन् जसले पाठकलाई चुर्लम्म डुबाइदिन्छ, अर्कोतिर गौरी र मुनरिया नाम गरेका पात्रको मनको भित्री तहसम्म पौडी खेलेर लेखिएका कुरा यति सटीक र तार्किक लाग्छन्, जसका कारण प्रभावित नभइरहन सकिन्न । 

भट्टराई जोड दिएर भन्छन्, ‘यो कृति नेपाली भाषाको मात्र होइन, मैले पढेका कैयौँ महान् भनिएका अन्तर्राष्ट्रिय उपन्यासमध्येकै सर्वश्रेष्ठ उपन्यास हो ।’ 

हिटलर र यहुदी

लेखक भट्टराई बिपीका पुस्तक अध्ययनबाटै आफू लेखनमा लागेको बताउँछन् । उनी अरुलाई पनि बिपीकै पुस्तक पढ्न सुझाउँछन् । त्यसैले उनको अर्को रोजाइमा बिपीकै अर्को पुस्तक छ, हिटलर र यहुदी । तानाशाह हिटलरले लाखौँ निर्दोष यहुदीहरूलाई ग्यास च्याम्बरमा थुनेर मारेको घटनामा आधारित यस उपन्यास अर्को पढ्नैपर्ने पुस्तक हो । यो दार्शनिक उपन्यास हो । 

हिटलरको कालखण्ड सकिएपछिको जर्मनीको बयान र दोस्रो विश्वयुद्धले डामेर गएका केही घाउ र दाग कोट्याउन सफल छ यस उपन्यास । भट्टराई भन्छन्, ‘क्रुज यात्राको रोमाञ्चकारी वर्णनले झ्याप्पै तानेर लैजान्छ र लेखकसँगै जर्मनीको यात्रामा पुगेर धेरै कुरा देखिन्छ, जानिन्छ ।

यो पनि कोइरालाको अर्को श्रेष्ठ उपन्यास हो ।’ पढिसकेपछि पनि तलतल नमेटिने हुँला उनलाई यो उपन्यास केही अपुरो र अधुरो लाग्छ ।

सुम्निमा 

लेखक भट्टराईको सिफारिसमा अर्को पुस्तक पनि बिपीकै छ, ‘सुम्निमा’ उपन्यास, जसलाई भट्टराईले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न रुचाउँछन् । यस उपन्यासलाई शिवदत्त र सुम्निमा नाउँ गरेका विपरीत विचार भएका व्यक्तिको भिन्नभिन्न दर्शनको गुजुल्टो भन्न रुचाउँछन् उनी । यसमा भएको भाषा र दर्शनको प्रशंसा गर्दै लेखक भट्टराई भन्छन्, ‘आख्यानमध्ये सुम्निमा दार्शनिकताको सगरमाथा हो ।

यो भन्दा माथिल्लो स्तरको भाषा र दर्शनले टम्म भरिएको, अनि झिजो नमानीकन लेखेको झैँ लाग्ने यस्तो नेपाली उपन्यास अहिलेसम्म कसैले लेख्न सकेको छैन ।’ सिक्नका लागि यो कृति लटरम्म फल लागेको बोटजस्तै भएको र हाँगो हल्लाए मात्र चाहेजति फल झर्ने र तृप्त पारिदिने उनको भनाइ छ । 

परिभाषित आँखाहरू

साहित्यकार पारिजात (विष्णुकुमारी वाइबा)को उपन्यास ‘परिभाषित आँखाहरू’लाई लेखक भट्टराई अर्को पढ्नैपर्ने पुस्तक मान्छन् । भाषा र विचार दुवैमा राम्रो पकड भएकी पारिजातको यस कृतिमा दुइवटा भिन्न कथा (पूर्वी तराई र पहाड) कुनै ठाउँ (काठमाडौं) मा गएर जोडिन्छन् । सुरु गरेदेखि छाड्नै मन नलाग्ने यो कृति पारिजातका अरु कृतिभन्दा अलिक फरक र रसिलो लाग्ने भट्टराई बताउँछन् ।

कट्टेल सरको चोटपटक

साहित्यकार ध्रुबचन्द्र गौतमका धेरै पुस्तक पठनीय छन् । त्यसमध्ये उनको उपन्यास ‘कट्टेल सरको चोटपटक’ अझै छुटाउन नहुने कृति हो । कट्टेल सरकै इर्द गिर्द घुम्ने यो कथाले उनको आर्थिक अभाव, हीनता, लाचारी, निरीहता सबै कुराको वर्णन चोटिलो ढंगले गरेको लेखक भट्टराई बताउँछन् । 

ध्रुवचन्दका कथामा पात्रको विवशतादेखि टीठ लाग्ने होइन, हाँसो उठ्ने भएकाले यो पुस्तक अझ रमाइलो पनि लाग्छ । यो गौतमको ‘अलिखित’ उपन्यासपछिको ‘उम्दा’ कृति रहेको भट्टराईको भनाइ छ । 

प्रकाशित मिति: ०८:५८ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्