रोमाञ्चक खेलमा विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा
काठमाडौं, वैशाख २३ : नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको हाइस्कोरिङ खेलमा काठमाडौं रेजर्स विजयी भएको छ। रोमाञ्चक खेलमा विरानगर सिटी एफसीलाई ५–४ ले हराउँदै काठमाडौं...
काठमाडौं, वैशाख २३ : नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको हाइस्कोरिङ खेलमा काठमाडौं रेजर्स विजयी भएको छ।
रोमाञ्चक खेलमा विरानगर सिटी एफसीलाई ५–४ ले हराउँदै काठमाडौं रेजर्सले प्लेअफमा स्थान पक्का गरेको छ। काठमाडौं प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ। यसअघि नै धनगढी प्लेअफमा पुगिसेको छ।
पाँच खेलमा १० अंकसहति दोस्रो स्थानमा रहँदै काठमाडौं प्लेअफमा पुगेको हो। विराटनगरलाई प्लेफअमा पुग्न अन्तिम खेलमा अंक आवश्यक छ। विराटनगरले अन्तिम खेलमा ललितपुर सिटीसँग खेल्नेछ।
काठमाडौंको जितमा मौसुके ओलोमोउले ह्याट्रिक गरे भने स्टेफान बिनोङ र छिरिङ गुरुले एक एक गोल गरे। यस्तै, विराटनगरका पेड्रो मान्जी क्रुजले २ गोल गर्दा रञ्जित धिमाल र एडिलाजा सोमिडेले एक गोल गरे।
खेलको छैठौं मिनेटमा एडिलाजा सोमिडेको गोलमा विराटनगरले अग्रता लियो। ३४औं मिनेटम पेड्रो मान्जीले काठमाडौंको अफसाइड ट्रयाप बिट गर्दै किपर विकेश कुथुलाई समेत छललाएर गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए।
त्यसको एक मिनेट नबित्दै ओलोमोउले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काए। लगत्तै ३६औं मिनेटमा ओलोमोउले नै गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४१औं मिनेटमा स्टेफन विलोङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै काठमाडौंलाई अप्रत्यासित रुपमा ३–२ को अग्रता दिलाए।
६८औं मिनेटमा ओलोमोउले गोल गर्दै लिगको पहिलो ह्याट्रिक गरे भने टिमलाई ४–२ को अवस्थामा ल्याए। ७९औं मिनेटमा विराटनगरको कप्तान रञ्जित धिमाले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक मोडमा ल्याए।
८३औं मिनेटमा छिरिङ गुरुङले काठमाडौंका लागि पाँचौं गोल गर्दै टिमलाई जिततर्फ डोहो¥याए। तर, इन्जुरी समयको अन्तिम मिनेटमा पड्रो मान्जीले गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन्।











