Kathmandu Press

कोरोना नियन्त्रणमा गम्भीर हुन कांग्रेसको आग्रह

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ। सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक...
कोरोना नियन्त्रणमा गम्भीर हुन कांग्रेसको आग्रह

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका निम्ति गम्भीर भएर लाग्न माग गरेको छ। सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी बढ्दो सङ्क्रमण नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन माग गरेका छन्।

‘आइसोलेशन सेन्टर, क्वारेन्टिन र होल्डिङ सेन्टर’को निर्माणका साथै  सङ्क्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल ‘बेड’, आइसीयू  बेड, भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न विपक्षी दलले आग्रह गरेको छ।

कोरोना महामारीको मौका छोपेर बजारमा आवश्यक वस्तुको अभाव सिर्जना हुन नदिन तथा मूल्यवृद्धि रोक्न र कालोबजारी नियन्त्रणमा लाग्न सरकारलाई सुझाउँदै उक्त पार्टीले भारतसँग सिमाना जोडिएका नाकामा ‘हेल्थ डेस्क’ स्थापना, कोरोनाको ‘एन्टिजेन’ परीक्षण तथा ‘कन्टयाक्ट ट्रेसिङ’ मा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ।

‘स्थानीय तह र प्रदेशसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल बेड, आइसीयु बेड, आइसोलेशन केन्द्र, क्वारेन्टिन र  होडिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्नका साथै केन्द्र तथा प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई नन्कोभिड अस्पतालका रूपमा विकसित गरी आवश्यक बेड, आइसीयू बेड र भेन्टिलेटरको सङ्ख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना, कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिको यथोचित प्रबन्ध गर्न नेपाल सरकारसमक्ष नेपाली कांग्रेस माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

साथै उक्त दलले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन, अग्रपङ्तिमा रहेर सङ्क्रमितको उपचार र व्यवस्थापनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीसहित सबै तह र तप्काका  राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीको बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि माग गरेको छ।

निषेधाज्ञाका  कारण रोजगारी गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई दृष्टिगत गर्दै आवश्यक राहतको ‘प्याकेज’ यथाशीघ्र  ल्याउन माग गर्दै नेपाली कांग्रेसले पार्टी सम्बद्ध सबै तह र तप्काका कार्यकर्तालाई सङ्क्रमितको पहिचान, उपचार र व्यवस्थापनमा खटिन आह्वान पनि गरेको छ।
 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्