Kathmandu Press

संसद्मा दुई सांसदबीच दुई कुर्सी खाली राखिने

काठमाडौं, वैशाख २२ : सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ। विशेषज्ञ...
संसद्मा दुई सांसदबीच दुई कुर्सी खाली राखिने

काठमाडौं, वैशाख २२ : सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ। विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले एक र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। अघिल्लो अधिवेशनमा भने बीचमा एउटा कुर्सी खाली राखेर सदस्यलाई बस्ने व्यवस्था मिलाइएको थियो। 

सिट व्यवस्थापन गर्ने क्रममा दर्शकदीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिनेछ। अधिवेशनमा सुरक्षा मापदण्ड कसरी अपनाउने भन्ने सम्बन्धमा सचिवालयले विशेषज्ञ टोलीलाई बैठक कक्षको स्थलगत निरीक्षण गराई सावधानीका उपायबारे रायसुझाव लिएको डा. पाण्डेले बताए।

विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो।

बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको बताइएको छ।सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्यौल गरिने भएको छ। 

कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको आगामी अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि यही वैशाख २७ गते संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्। 

कोभिड–१९ संक्रमणबाट सिर्जित प्रतिकूल परिस्थितिमा मत विभाजन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा व्यवस्था र आवश्यक कर्मचारी व्यवस्थापनको पाटामा पनि सचिवालयले थप गृहकार्य गरिरहेको जनाइएको छ।

कोरोना संक्रमण भएका सदस्यलाई कसरी मतदानमा सहभागी गराउने भन्ने प्रश्नबारे पनि सरोकार पक्षसँग छलफल भइरहेको बताइएको छ। हाल नौ  सांसदलाई कोरोना संक्रमण देखिएपछि उपचारमा रहनुभएको जानकारी दिइएको छ । सचिवालयका १० कर्मचारी पनि कोभिड–१९ बाट प्रभावित रहेको बताइएको छ।

यसैबीच प्रतिनिधिसभा अधिवेशनमा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड कायम गर्ने सिलसिलामा संसद् सचिवालयले सञ्चालन गरेको पिसिआर ६०९ जनाले परीक्षण गरेको जानकारी दिइएको छ।

सभामुखसहित १२८ सांसद तथा सचिवालयका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र मर्यादापालकसमेत गरी ४८१ को स्वाब संकलन गरिएको बताइएको छ । पिसिआर परीक्षण बिहीबार पनि जारी रहने छ। (रासस)

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्