दर्शनको गोलमा पोखरालाई हउँदै धनगढी प्लेअफमा
काठमाडौं, वैशाख २२ : युवा स्ट्राइकर दर्शन गुरुङले निर्णायक गोल गरेपछि पोखरा थन्डर्सलाई पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। बुधबार साँझ...
काठमाडौं, वैशाख २२ : युवा स्ट्राइकर दर्शन गुरुङले निर्णायक गोल गरेपछि पोखरा थन्डर्सलाई पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ।
बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा दर्शनको मद्दतमा धनगढीले पोखरा थन्डर्सलाई १–० ले हरायो। यो सिजनसँगै लिगको एक खेल खेल्न बाँकी रहेको अवस्थामा धनगढी प्लेअफमा पुगेको हो।
पाँच खेलमा १० अंक जोडेको धनगढी अन्तिम खेलमा पराजित भएपनि कम्तिमा चौथो हुँदै प्लेअफमा पुग्नेछ। हारपछि पोखराको प्लेअफ पुग्ने सम्भावना कठीन बनेको छ। पाँच अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको पोखराले अन्तिम खेलमा जित निकाले पनि प्लेअफ पुग्न अरुको खेलमा भरपर्नुपर्ने हुन्छ।
खेलमा सुरुआतदेखि नै पोखराले आक्रमक खेल प्रदर्शन गरेको थियो। लगातार धगनढीको पोस्टमा आक्रमण गरे पनि गोल भने गर्न सकेन।
खेलमा दबाब रहेको धनगढी पहिलो हाफको ३३औं आफ्ना प्रमुख स्ट्राइकर ओलावाले हाफिजलाई गुमाएपछि थप दबाबमा आएको थियो। उनले ह्यामिस्ट्रङका कारण खेल छाडेका थिए।
तर, हाफिजकै स्थानमा मैदानमा आएका दर्शन गुरुङले ६८औं मिनेटमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाए।











