Kathmandu Press

लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न विपक्षी दलको माग

बुटवल, वैशाख २० : लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न विपक्षी दलहरूले माग गरेका छन्। प्रदेश प्रमुख यादवले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई उनकै कार्यकक्षमा...
लुम्बिनीका प्रदेश प्रमुखलाई बर्खास्त गर्न विपक्षी दलको माग

बुटवल, वैशाख २० : लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न विपक्षी दलहरूले माग गरेका छन्। 

प्रदेश प्रमुख यादवले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई उनकै कार्यकक्षमा गएर शपथ खुवाएका थिए। अल्पमतमा रहेका नेकपा (एमाले) संसदीय दलका नेतालाई असंवैधानिक, अराजनीतिक र स्वेच्छाचारी ढंगले मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी दलले बर्खास्त गर्न माग गरेका हुन्। सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी बर्खास्त गर्न माग गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता तारा जिसीले प्रदेश प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन्। 

प्रदेश प्रमुख यादवले निरंकुश चरित्र प्रदर्शन गरेको र प्रदेशसभाको विशेष अधिकार समेत हनन् गरेको चार दलको आरोप छ। एमाले संसदीय दलको बैठकमा कीर्ते हस्ताक्षर गरिएको समेत उनीहरुले आरोप लगाएका छन्। 

एमाले संसदीय दलको आइतबारको बैठकमा दाङका अमरबहादुर डांगी र विमला खत्री वली अनुपस्थित रहेको उनीहरुको भनाइ छ। कीर्ते हस्ताक्षर गरेर बुझाएको आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको उनीहरुको आरोप छ। 

मुख्यमन्त्रीका लागि पोखरेलले ४१ जनाको हस्ताक्षर बुझाएका थिए। जसमध्ये डांगी, वली र भोजप्रसाद श्रेष्ठको हस्ताक्षर नरहेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियालो बताए। 

उनीहरुले विशेष अधिवेशन डाक्न पनि माग गरेका छन्। यस अघि षडयन्त्रपूर्वक विशेष अधिवेशन अन्त्य गरिएको उनीहरुको आरोप छ। 

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्